काठमाडौं/ चौधरी ग्रुपले आर्थिक वर्ष २०८०/८१ मा सरकारलाई १८ अर्ब ५२ करोड ५७ लाख रूपैयाँ कर तिरेको छ । यो सरकारको कुल राजश्वमा करिब दुई प्रतिशत (१.९६ प्रतिशत) को योगदान हो ।
चौधरी ग्रुप अन्तर्गत सञ्चालित कम्पनीहरूले सरकारी राजश्वमा गरेको यो योगदान सबैभन्दा उच्च रहेको ग्रुपका प्रवक्ता मधुसुदन पौडेलले अनुमान गर्नुभयो । आर्थिक मन्दीबाट देशको समग्र अर्थतन्त्र प्रभावित रहेको, व्यवसायिक वातावरण सुमधुर नरहेको, उत्पादन तथा निर्माण क्षेत्रको अवस्था कमजोर रहेको पृष्ठभूमिमा पनि चौधरी ग्रुपले राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान गरेको उहाँको भनाइ छ ।
आर्थिक गतिविधिमा आएको संकुचनका कारण सरकारले गत आर्थिक वर्षमा लक्ष्य अनुसार राजश्व संकलन गर्न नसकेको पृष्ठभूमिमा समेत चौधरी ग्रुपको योगदान भने गत आर्थिक वर्षको तुलनामा १५ प्रतिशतले वद्धि भएको चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले बताउनुभयो । आर्थिक वर्ष २०७९/०८० को तुलनामा चौधरी ग्रुपले पछिल्लो आर्थिक वर्षमा राजश्वमा पुर्याएको योगदान २ अर्ब ३८ करोडले बढी छ । ग्रुपले आर्थिक बर्ष २०७९/०८० मा १६ अर्ब १४ करोड रूपैयाँ कर तिरेको थियो ।
‘राष्ट्रिय अर्थतन्त्रमा देखिएको प्रतिकुल वातावरणका बीच पनि राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्याउन सकेकोमा हामीलाई खुसी लागेको छ । यसले देशको विकास निर्माण र आम नागरिकको सामाजिक सुरक्षामा सरकारी दायित्व निर्वाह गर्न सहयोग पुग्नेछ भन्ने मेरो विश्वास छ’, चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले भन्नुभयो, ‘राष्ट्रिय अर्थतन्त्रको विस्तार र देशका विकास परियोजनामा योगदान गर्न पाउँदा हामीले गौरवान्वित महशुस गरेका छौँ ।’
चौधरी ग्रुपले पाँच वर्षमा तिरेको राजश्व र त्यसको योगदान
आर्थिक वर्ष | तिरेको राजस्व (रु. लाखमा) | सरकारी राजस्वमा योगदान (प्रतिशत) |
२०७६/७७ | ९८,७२३ | १.४९ |
२०७७/७८ | १,४२,८०० | १.७३ |
२०७८/७९ | १,७७,२४५ | १.८० |
२०७९/८० | १,४६,८१६ | १.८७ |
२०८०/८१ | १,८५,२५७ | १.९६ |
ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले आफ्नो ग्रुपले स्थापित एवं नयाँ व्यवसाय बृद्धिका माध्यमद्वारा नेपालको राष्ट्रिय अर्थतन्त्रमा सन्तोषजनक योगदान गर्न सकिएको बताउनु भएको छ ।
‘हामीले प्रत्येक बर्ष राजश्वमा योगदान बढाउँदै लगेका छौँ र आगामी बर्षहरूमा पनि यो बृद्धिदर कायम राख्ने हाम्रो लक्ष्य छ’, प्रवन्ध निर्देशक चौधरीले भन्नुभयो, ‘चौधरी ग्रुपले नेपाललाई आफ्नो प्रमुख प्राथमिकतामा राखी लगानीको दायरा विस्तार गर्दै आएको छ । हामीले पूर्वाधार र नयाँ प्रविधिमा आधारित व्यवसायमा लगानी गरिरहेका छौँ । यसबाट राष्ट्रको समग्र आर्थिक विकासमा योगदान पुग्ने हाम्रो विश्वास छ ।’
नेपालमा व्यवसायिक ग्रुपहरूले सरकारको राजश्वमा गरेको योगदानलाई सरकारी तवरबाट छुट्टै गणना गर्ने र प्रोत्साहन गर्ने परिपाटी नहुदा पनि चौधरी ग्रुपले प्रत्येक बर्ष आफ्नो समूहबाट राजश्वमा गरेको योगदानलाई सार्वजनिक गर्दै आएको छ । करदाताको रुपमा व्यवसायकोमार्फत् भुक्तानी गरेको रकम व्यक्तिले तिरेको करमा गणना हुदैन ।
यसले कतिपय अवस्थामा जनमानसमा भ्रम उत्पन्न भएको पनि देखिदै आएको छ । यो दुविधालाई अन्त्य गर्न र आफुले राजश्वमा गरेको योगदानलाई आम जनमानसकावीच सार्वजनिक जानकारीमा ल्याउन जिम्मेवार व्यवसायिक ग्रुपका हैसियतमा चौधरी ग्रुपले प्रत्येक बर्ष पारदर्शिताका साथ यो विवरण प्रकाशित गर्ने पौडेलले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस