१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

कृषि जग्गाको आधा भाडा पालिकाले तिरिदिने



  • आफ्नै खबर
  • ६ मंसिर २०८१ बिहिबार (१ हप्ता अघि)
  • पाठक संख्या ४१
  • गुल्मी/  गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले जग्गा भाडामा लिएर कृषि गर्ने किसानलाई जग्गाको भाडाबापतको रकम तिरिदिने भएको छ । 

    चालु आर्थिक वर्ष २०८१/८२ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार गाउँपालिकाले भाडामा लिने जग्गाको ५० प्रतिशत अनुदान दिने निर्णय गरेको हो । जग्गाबापतको अनुदान प्राप्त गर्नका लागि किसानले कृषि फर्म दर्ता गरी कम्तीमा पनि १५ रोपनी जग्गा लिएको हुनुपर्ने, भाडामा लिएको जग्गाको कम्तीमा ८० प्रतिशत जग्गामा खेती गरेको हुनुपर्ने छ । 

    त्यस्तै, एक वर्षे वा सोभन्दा कम अवधिको बाली लगाउने भए कम्तीमा पाँच वर्ष र बहुवर्षीय खेतीका लागि कम्तीमा १५ वर्षका लागि जग्गा लिएको हुनुपर्ने मापदण्ड गाउँपालिको बनाएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताउनुभयो । 

    अनुदान लिन चाहने किसानले भाडामा अनुदान उपलब्ध गराउनेसम्बन्धी कार्यविधि २०८० को परिच्छेद २ को दफा ५ बमोजिम व्यक्तिगत निवेदन, जग्गाधनी दर्ता प्रमाणपुर्जा, नागरिकताको प्रतिलिपि तथा भाडा सम्झौताको प्रतिलिपि, फर्म दर्ता र कर चुक्ता प्रमाणपत्रसहित पालिकामा आवेदन दिन सकिने उहाँले बताउनुभयो । 

    गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले पालिकालाई कृषिबाटै आत्मनिर्भर बनाउने उद्देश्यले जग्गाको भाडाबापतको अनुदान दिने निर्णय गरिएको बताउनुभयो । अध्यक्ष ज्ञवालीले भन्नुभयो, ‘कृषिबाट रोजगारी सिर्जना गर्ने उद्देश्य छ ।’ अहिले रुरुक्षेत्रका कृषिजन्य सामग्री पाल्पामा बिक्री हुँदै आएका छन् ।

    –रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?