रामेछाप/ रामेछापमा यस वर्ष जुनारको उत्पादन बढेको छ । यस वर्ष उपयुक्त हावापानी तथा किसानले नियमिति प्राविधिकको परामर्शमा औषधोपचार तथा भिटामिनको प्रयोग गर्न पाएपछि जिल्लामा जुनार उत्पादन बढेको हो ।
रामेछाप नगरपालिका–६ ओख्रेनीका हिमाल तामाङले पन्ध्र रोपनीमा व्यावसायिकरुपमा जुनारखेती गर्नुभएको छ । गत वर्षको तुलानमा ५० प्रतिशत बढी उत्पादन भएको उहाँले बताउनुभयो । अघिल्लो वर्ष दुई लाख ५० हजार रुपैयाँको जुनार बिक्री भएकोमा यस वर्ष तीन लाख ५० हजार रुपैयाँबराबरको जुनार बिक्री गर्ने योजना रहेको उहाँको भनाइ छ ।
रामेछाप–६ का टेकबहादुर तामाङले पनि सात रोपनी जग्गामा जुनारखेती गर्नुभएको छ । गत वर्षको तुलनामा ४० प्रतिशत उत्पादन बढेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘गत वर्ष मैले जुनार बिक्री गरेर ७० हजार रुपैयाँमात्र लिन सकेको थिएँ, यस वर्ष एक लाख रुपैयाँसम्मको बिक्री हुने अनुमान छ ।’
सुकाजोरका किसान रामकुमार कार्की, ओखे्रनीकै युगराज पाख्रिन, शेरबहादुर तामाङलगायत किसानले जुनार उत्पादन गरेपछि उनीहरूको आम्दानी पनि बढेको छ । रामेछाप नगरपालिकाको हिमगङ्गा, सुकाजोर, ओख्रेनी र मन्थली नगरपालिकाको वडा नं १३ र १४ फुलासीमा जुनार उत्पादन गत वर्षको तुलनामा बढेको किसानले बताएका छन् ।
जुनार जोन सञ्चालन समन्वय समितिका अध्यक्ष गुञ्जबहादुर कार्कीका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले मन्थली र रामेछाप नगरपालिकामा जुनार जोनका रूपमा काम गरिरहेको छ ।
परियोजनाले विभिन्न अनुदान, प्राविधिक सहयोग, कीटनासक औषधि र भिटामिन, यान्त्रिकीकरणजस्ता सामग्रीसमेत किसानलाई वितरण गरेको छ । परियोजना कार्यालयकी प्राविधिक भवानी बस्नेतले मन्थली र रामेछाप नगरपालिका क्षेत्रभित्र लागू भएको जुनार जोन क्षेत्रमा गत वर्ष पाँच सय २० हेक्टरमा सुन्तला जातका फलफूल उत्पादन भइरहेको छ ।
त्यसमध्ये जुनार चार सय २२.५, सुन्तला ७८ र कागती २०.८ हेक्टरमा खेती गरिएको थियो । यहाँ चार हजार तीन सय ८० मेट्रिक टन जुनार फलफूल उत्पादन भई रु १९ करोड ९३ लाख ९५ हजारबराबरको बिक्री भएको प्राविधिक बस्नेतले बताउनुभयो ।
यस वर्ष चार सय ३७ हेक्टरमा जुनार, ८१ हेक्टरमा सुन्तला तथा २२ हेक्टरमा कागतीखेती गरिएकामा चार हजार चार सय एक मेट्रिक टन उत्पादन हुँदा २२ करोड ६८ हजार रुपैयाँबराबरको बिक्री हुने अपेक्षा गरिएको छ । जुनार उत्पादन बढेपछि यहाँका किसान हर्षित छन् । उनीहरूले बगैँचाबाट नै जुनार दानाको साइजअनुसार प्रतिकिलो ६० देखि ७५ रुपैयाँसम्ममा बिक्री गर्ने गरेका छन् ।
–रासस
प्रतिक्रिया दिनुहोस