बर्दिया/ बर्दियाको राजापुर नगरपालिका–५, जयपुरकी सुष्मा चौधरीकी सासूआमा भगवती थारू सिकलसेल एनिमियाबाट पीडित हुनुहुन्छ । उमेरसँगै थपिएको रोगबाट ग्रस्त सासूआमाका आफ्नै व्यथा छन्, त्योभन्दा बढी पीडा सुष्मालाई छ ।
उपचारका लागि आर्थिक चाँजोपाँजो मिलाउने, अस्पताल पुर्याउनेदेखि रोगले थलिनुभएकी सासूआमाको जीवनमा प्राण भर्ने जिम्मेवारी बुहारी सुष्माकै काँधमा छ । अरू चाँजोपाँचो त जेनतेन भइरहेकै हुन्छ तर महिनाको दुई पटकसम्म रगत चढाउनुपर्ने भए पनि नजिकै ‘ब्लड बैङ्क’ नभएको पीडा अझ बढी छ ।
सुष्मा भन्नुहुन्छ, ‘घर नजिकै ब्लड बैङ्क छैन । रगतकै लागि ७३ किलोमिटर टाढा रहेको बाँकेको नेपालगञ्जसम्म पुग्नुपर्दा निकै सास्ती खेप्नुपर्यो । बर्दियाबाट भेरी अस्पताल जानुको विकल्प नै थिएन । त्यति टाढा गएर पनि एकै दिनमा रगत चढाउन पाइँदैन थियो । त्यहाँ जानै समस्या, गए पनि अधिकांश दिनमा रक्त अभावले पालो कुरेर उतै चार/पाँच दिनसम्म बस्नुपर्दाको सास्ती भनिसाध्य छैन ।’
उहाँले घण्टौँ लगाएर अस्पताल पुगे पनि रगत अभावमा अस्पतालको शय्यामा कुर्नुपर्दाको सास्ती र बसाइँ लम्बिँदा हुने खर्चको तनावले थप पीडा दिने गरेको सुनाउनुभयो । यसरी उपचारका क्रममा कैयौँ दिन अस्पतालमा भोकै बस्नुपरेका दिन अहिले पनि सुष्माको मानसपटलमा ताजै छ ।
उहाँले भन्नुभयो, ‘त्यति टाढा पुगेर पनि रगत पाइन्छ भन्ने निश्चित हुँदैनथ्यो । कति पटक चार दिनसम्म पालो कुर्दा भोकभोकै बस्नुपरेको थियो । अहिले त्यो पीडा सम्झिन पनि चाहन्न ।’
राजापुर क्षेत्रमा रगत नपाइने र चाहिएको बेला रक्त समूह नमिल्ने भएकाले सुष्मालाई दुःख भोगेर भए पनि नेपालगञ्ज जानैपर्ने बाध्यता थियो । पछिल्लो चार महिनादेखि भने यो बाध्यता हट्दै गएको छ ।
राजापुर नगरपालिकाले राजापुर बजारमै रक्त सङ्कलन तथा भण्डारण केन्द्र (ब्लड बैङ्क) स्थापना गरेपछि सुष्मालाई ठूलो राहत भएको छ । नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र, राजापुरमा ब्लड बैङ्क स्थापना गरेको हो ।
सुष्मा र उहाँकी सासूआमा भागिरथी त प्रतिनिधिपात्र मात्रै हुन् । नगर स्वास्थ्य शाखाले दिएको जानकारीअनुसार राजापुरमा भागिरथी जस्तै दुई सय २४ जना सिकलसेल एनिमियाका बिरामी रहेको तथ्याङ्क छ । यी सबैजसो बिरामी र तिनका परिवारको समस्या उस्तै थियो । स्थानीयस्तरमै रक्त सङ्कलन केन्द्र स्थापना भएपछि यी सबैलाई ठूलो राहत भइरहेको छ ।
बिरामी राजीव चौधरीका बुबाले भन्नुभयो, ‘मेरो छोरा दुई वर्षको हुँदादेखि उसमा सिकलसेल एनिमिया देखिएको थियो, जसकारण बेलाबेलामा रगत चढाउनु पर्छ । अहिले छोरो १० वर्षको भयो, आठ वर्षसम्म नेपालगञ्ज गएर रगत चढाइयो । अहिले नगरमै ब्लड बैङ्क सञ्चालनमा आएपछि घर आँगनमै सेवा लिएको अनुभव गरेको छु । यसले वर्षौंदेखि पीडा भुलाएको छ ।’
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढाले रक्त सङ्कलन केन्द्र स्थापना भएपछि धेरै नागरिक लाभान्वित भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नजिकै रक्त सङ्कलन तथा भण्डारण केन्द्र नहुँदा दीर्घरोगीले त समस्या भोग्नु परेकै थियो, आकस्मिक घटना हुँदा अकालमै ज्यान गुमाउनुपर्ने अवस्था थियो । नगरले यो समस्या समाधानका लागि केन्द्र स्थापना गरेको हो ।’
राजापुर नगरपालिकाले एकजना ‘ल्याब असिस्टेन्ट’ को दरबन्दी राखेर आठ लाख रुपैयाँको लागतमा ब्लड बैङ्क स्थापना गरेको हो । प्राथमिक स्वास्थ्य केन्द्र राजापुरको भवनबाट ब्लड बैङ्कको सञ्चालन भइरहेको छ ।
गत साउन १ गतेदेखि सञ्चालनमा आएको यस केन्द्रबाट हालसम्म ५५ जनाले सुविधा लिइसकेका छन् । जसमा ९५ प्रतिशत सिकलसेलका बिरामी तथा बाँकी पाँच प्रतिशत गर्भवती र अन्यले सेवा लिएका ल्याब असिस्टेन्ट महेश चौधरीले जानकारी दिनुभयो ।
सिकलसेल एनिमिया प्रायः थारू समुदायका नागरिकमा देखिने रोग हो । भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीले भन्नुहुन्छ, ‘सिकलसेल एनिमिया एक गम्भीर अनुवांशिक रक्तरोग हो । यस रोगमा रातो रक्त कोष हँसिया (सिकल) आकारमा बदलिने हुँदा शरीरमा अक्सिजनको आपूर्ति कम हुन्छ, जसले रक्तअल्पता, असह्य पीडा र शरीरका अङ्गहरूमा अक्सिजन नपुग्ने समस्या निम्त्याउँछ । थारू समुदायको विशिष्ट जैविक बनावट र परम्परागत वैवाहिक अभ्यासहरूले यो रोग सर्दै हुँदै आएको छ ।’
राजापुर नगरपालिकामा ६९ हजार आठ सय ७३ जनसङ्ख्या रहेको छ । कुल जनसङ्ख्यामध्ये करिब ८१ प्रतिशत थारू समुदायको रहेको छ । थारू बाहुल्य क्षेत्र भएकाले सिकलसेलको जोखिम पनि सोहीअनुसार रहेको अनुमान छ ।
अब गाउँमै रक्त सङ्कलन केन्द्र स्थापना भएपछि धेरैलाई सहज भए पनि चाहिएको समयमा रक्त समूह मिल्ने रगत व्यवस्थापन भने चुनौतीपूर्ण रहेको ल्याब असिस्टेन्ट चौधरीले बताउनुभयो । यस्तो अवस्थामा टीकापुर, मधुवन र भेरी अस्पतालबाट रगतको जोहो गर्नुपरिरहेको उहाँले जानकारी दिनुभयो ।
‘नगरपालिका आफैँले वर्षमा तीनपटक, गैरसरकारी संस्था युनिक नेपालले तीनपटक र विभिन्न सङ्घसंस्थाले आयोजनाले गर्ने रक्तदान शिविरबाट रगत सङ्कलन भइरहेको छ तर भण्डारण क्षमता कम भएकाले कहिलेकाहीँ छिमेकी अस्पतालहरूबाट रगतको जोहो गर्नुपर्छ’, ल्याब असिस्टेन्ट चौधरीले भन्नुभयो, ‘थारू समुदायको ठूलो बस्ती रहेकाले सिकलसेलको जोखिम र आकस्मिक रूपमा चाहिने रगतका लागि यस केन्द्रको स्तरोन्नति आवश्यक छ । भर्खरै सञ्चालनमा आएकाले नगरपालिकाले समस्या र आवश्यकता हेरेर त्यो काम गर्ने नै छ ।’
नगरप्रमुख दीपेश थारूले ब्लड बैङ्कको सेवालाई थप प्रभावकारी बनाउँदै लैजाने विषयमा आफूहरू सचेत रहेको बताउनुभयो । स्थानीय नागरिकको माग र आवश्यकताअनुसार सेवा विस्तार गरिने उहाँको भनाइ छ ।
नगरप्रमख थारूले भन्नुभयो ‘नगरपालिकामा १५ शय्या अस्पताल सञ्चालन हुँदैछ, काम अगाडि बढिरहेको छ । त्यहाँ पनि ब्लड बैङ्क रहनेछ । ब्लड बैङ्क सेवालाई अझ प्रभावकारी बनाउने र रगतको भण्डारण बढाउन नियमित रूपमा रक्तदान कार्यक्रम गरेर सेवा विस्तार गर्ने योजनामै छौँे ।’ यस सेवाबाट नगर क्षेत्रका मात्रै होइन छिमेकी गेरुवा गाउँपालिका र ठाकुरबाबा नगरपालिका क्षेत्रका नागरिक पनि लाभान्वित हुन थालेका छन् ।
–रासस
प्रतिक्रिया दिनुहोस