२८ जेठ २०८२ बुधबार | 11 Jun 2025 Wed

एनपिएलका आठ मार्की खेलाडीलाई प्रधानमन्त्री ओलीको सम्बोधन



  • आफ्नै खबर
  • १० मंसिर २०८१ सोमबार (७ महिना अघि)
  • पाठक संख्या १४७
  • काठमाडौं/  प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपाल प्रिमियर लिग (एनपिएल)को ट्रफी सार्वजनिक गर्नुभयो । उहाँले सुन्धारास्थित धरहरा परिसरमा ट्रफी सार्वजनिक गर्नुभएको हो ।

    उक्त अवसरमा प्रधानमन्त्री ओलीले गौरवशाली धरहराको काखमा एनपिएलको ट्रफी सार्वजनिक कार्यक्रमले खेलकुदमा नयाँ जाँगर पैदा गरेको जिकिर गर्नुभयो । उहाँले आजको दिन नेपाली खेलकुद क्षेत्रका लागि विशेष महत्वको दिन रहेको उल्लेख गर्नुभयो । 

    पहिलो संस्करणको एनपिएल यहीँ मङ्सिर १५ गतेदेखि सुरु हुँदैछ । प्रतियोगिताका खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछन् ।

    प्रधानमन्त्रीले कसलाई के भन्नुयो ?

    आसिफ शेख
    ‘जनकपुर बोल्ट्सका मार्की खेलाडी आसिफ शेखले स्पोर्टम्यानसिप देखाउँदै आयरल्यान्डका खेलाडीलाई रन आउट नगरेको त्यो भाइरल श्रव्यदृश्य मैले पनि हेरेको थिएँ । जनकपुर झैँ शान्त स्वभाव कायम रहोस् । आसिफ शेखलाई क्याप्टेन कूल, शान्त भनेर उपनाम दिएपनि हुन्छ जस्तो लाग्छ ।’

    करण केसी
    ‘काठमाडौँ गुर्खाजका कप्तान करण केसीलाई भ्यालेन्टाइन बोय भनेर सम्बोधन गर्ने कुरा थाहा पाएको थिएँ, उहाँले भन्नुभयो, ‘उहाँले राजधानीको नाम राख्ने आशा लिएको छु ।’ 

    कुशल भुर्तेल
    ‘पोखरा एभेन्जर्सका मार्की खेलाडी कुशल भुर्तेल बलर हुन् कि ब्याटर छुट्याउनै गाह्रो हुने उहाँको कौशल छ । विश्वले नै छुट्याउन सकिरहेको छैन् जस्तो लाग्छ । मैले मात्रै होइन ।’, कुशलको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यसपटक ९९ रनमा आउट हुन नपरोस् । शतक हान्नु भन्ने मेरो शुभकामना छ ।’

    कुशल मल्ल
    ‘हाम्रो साथीहरुले चितवन राइनोज भन्नुभएको छ, मैले चितवन गैँडाज भन्छु’, उहाँले भन्नुभयो, ‘चितवन राइनोज अर्थात् गँैडाजका कप्तान कुशल मल्ल हेर्दा अल्लि सानो÷सानो लाग्ने । ज्यानमा ताकत बोकेर छक्का हान्ने शैली साह्रै मनपर्छ ।’ 

    रोहितकुमार पौडेल
    ‘लुम्बिनी लायन्सका रोहित पौडेलको नाम सुन्यो कि मलाई गर्व लाग्छ । रोहितको कप्तानीले लुम्बिनीको भावना मैदानमा देख्नेछ । जसले जिते पनि रोहितलाई फाइदा छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘आखिर देशले जित्छ र नेपाली क्रिकेटका कप्तान भएको नाताले उहाँले जितेकै हुनेछन् ।’ 

    सन्दीप लामिछाने
    ‘विराटनगर किङ्सका सन्दीप लामिछाने त हाम्रो क्रिकेटको ब्रान्ड एम्बासडर जस्तै हुनुभयो । बीबीएलदेखि आइपीएलसम्म सन्दीपको बलले धेरै ब्याट्सम्यानलाई नाच्न बाध्य पारेको छ’, उहाँले भन्नुभयो, ‘त्यसैले त मैले भनेको थिएँ, नेपालीले चान्स पायो भने गर्छ ।’

    सोमपाल कामी
    ‘कर्णाली याक्सका सोमपाल कामीका ती योर्करलाई कसले भुल्न सक्छ र ? सोमपालले कर्णालीको चिसो पानीको ताकत मैदानमा देखाउनेछन्’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘नेपाललाई अर्को टी–ट्वान्टी विश्वकप खेल्ने तयारीमा राम्ररी जुट्न मेरो सल्लाह छ ।’

    दीपेन्द्रसिंह ऐरी
    ‘अन्तिममा हिरोको पालो आउँछ, मेरो फेभरेट नै जस्तो भनौँ । नेपाली क्रिकेटका बाघ दीपेन्द्रसिंह ऐरीको ६ छक्काको कीर्तिमान मलाई स्मरण छ’, उहाँले भन्नुभयो, ‘एनपीएलमा यस्ता थुप्रै कीर्तिमान बनुन् । सुदूरपश्चिम रोयल्सलाई पनि विशेष शुभकामना छ ।’