१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

फोक्सिङटारमा बगेको पुलको ठाउँमा पुरानै ‘बेलिब्रिज’ हालिने



  • आफ्नै खबर
  • १३ मंसिर २०८१ बिहिबार (३ दिन अघि)
  • पाठक संख्या ४८
  • खोटाङ/  दिक्तेल–गाईघाट खण्डको फोक्सिङटारस्थित सुनकोसी नदीमा अस्थायी बेलिब्रिज जडान गर्न तयारी सुरु गरिएको छ । 

    खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने सुनकोसी नदीस्थित फोक्सिङटारको मोटरेबल पक्की पुल गत असोज १२ गते आएको बाढीले बगाएपछि अस्थायी बेलिब्रिज जडान गर्न तयारी सुरु गरिएको हो । 

    त्यहाँ करिब ५० मिटर लामो अस्थायी बेलिब्रिज जडान गर्नेगरी ठेक्का आह्वान गरिएको सगरमाथा लोकमार्ग (गाईघाट–दिक्तेल) सडक आयोजना कार्यालय उदयपुरका आयोजना प्रमुख पशुपति ज्ञवालीले जानकारी दिनुभयो । 

    उहाँका अनुसार मङ्सिर १८ गतेसम्म ठेकेदार कम्पनीले दरखास्त हाल्न पाउनेगरी समयसीमा निर्धारण गरी सूचना प्रकाशन गरिएको छ । अहिले अस्थायी बेलिब्रिज जडान गरेर सञ्चालनमा ल्याउने र बर्षाद्मा वा पक्की पुल निर्माण गरेपछि पुनः खोलेर राख्नेगरी ठेक्का आह्वान गरिएको गाईघाट–दिक्तेल सडक कार्यालयले जनाएको छ ।

    फोक्सिङटारमा २०७९ सालमा एक सय २० मिटर लामो ‘आर्क’ डिजाइनको मोटरेबल पक्की पुल बनेपछि लामो समयदेखि बर्सेनि अस्थायी बेलिब्रिज जडान गरेर यातायात सञ्चालन गर्ने र झिकेर राख्नुपर्ने बाध्यता अन्त्य भएको थियो । दुई वर्ष नबित्दै बाढीले उक्त पुल बगाएपछि जिल्लावासीका लागि पुनःअस्थायी बेलिब्रिजको भर पर्नुपर्ने बाध्यता दोहोरिएको हो । 

    पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा रहेको सुनकोसीस्थित फोक्सिङटारमा २०७९ सालमा खोलेर राखिएका सामानलाई पुनः राख्ने तयारी गरिएको आयोजना प्रमुख ज्ञवालीले बताउनुभयो । उक्त स्थानमा हिउँदमा राख्ने र वर्षा लाग्ने वित्तिकै झिक्ने गरी अस्थायी बेलिब्रिज जडान गरेर सञ्चालन गर्ने गरिएको थियो । 

    –रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?