१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पर्वतमा पाँच पुल बन्दै



  • आफ्नै खबर
  • १३ मंसिर २०८१ बिहिबार (३ दिन अघि)
  • पाठक संख्या ४१
  • बागलुङ/  मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पर्वतमा एकै पटक पाँच वटा पुल निर्माण सुरु गरिएको छ । बागलुङको काठेखोलामा एउटा र पर्वतमा चार वटा पुल निर्माण थालिएको हो ।

    मध्यपहाडी लोकमार्ग कार्यालय पर्वतका अनुसार काठेखोला, पर्वतको डिमुवा सुन्दरेखोलामा पुल निर्माण सुरु भइसकेको छभने मोदीखोलामा दुई वटा पुलको काम यही मङ्सिरभित्र सुरु हुने भएको छ ।

    पातीखोलामा पुल निर्माणका लागि सर्वेक्षण भइरहेको लोकमार्ग कार्यालय पर्वतकी सव–इन्जिनियर अस्मिता भट्टराइले जानकारी दिनुभयो । काठेखोला, पातीखोला र मोदीखोलामा पुल बनेर यातायात सञ्चालन गरिए पनि लोकमार्ग फराकिलो बनाएपछि पुललाई थप चौडा बनाइने उहाँको भनाइ छ । उहाँका अनुसार काठेखोला, डिमुवा सुन्दरेखोला र मोदीखोलामा एक/एक र पातीखोला दुई वटा पुल निर्माण गर्न लागिएको हो ।

    सव–इन्जिनियर भट्टराईले भन्नुभयो, ‘सुन्दरे खोलामा अहिलेसम्म पुल बनेकै थिएन, यहाँ आवश्यक देखिएको हुँदा पहिलो पटक पुल बनाउने भएका हौँ, अन्य ठाउँमा वर्षौँ अगाडि पुल बनेका थिए, ती पुल साँघुरो र जीर्ण बन्दै गएको हुँदा त्यस स्थानमा दोहोरो गाडी ओहोरदोहोर गर्न सक्ने गरी पुल निर्माण थालिएको हो ।’

    पाँच वटै पुल निर्माणको जिम्मा लुम्बिनी÷प्राकृतिक जेभीले पाएको छ । डिजाइन गरेर काम सुरु भएको पुलको निर्माण आगामी दुई वर्षमा सम्पन्न गर्ने सम्झौता भएको आयोजना कार्यालयले जनाएको छ । ४४ करोड १५ लाख ३५ हजार रुपैयाँमा ती पाँच पुल निर्माण हुने छन् ।

    –रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?