२२ असोज २०८२ बुधबार | 08 Oct 2025 Wed

मकवानपुरगढीले कृषकलाई अनुदान दिने



  • आफ्नै खबर
  • १५ मंसिर २०८१ शनिबार (१० महिना अघि)
  • पाठक संख्या १५७
  • मकवानपुर/  मकवानपुरगढी गाउँपालिकाले बाँझो जग्गाको उपयोग गरी कृषिमा आत्मनिर्भर बनाउने योजना अघि बढाएको छ । गाउँपालिकाले चालु आर्थिक बर्ष २०८१/८२ को स्वीकृत कार्यक्रम अनुसार कृषियोग्य जग्गाको उपयोगिता बढाउने र कृषकलाई कृषिमा आत्मनिर्भर बनाउने योजना अघि बढाएको हो । 

    गाउँसभाबाट स्वीकृत कार्यक्रम अनुसार चालु आवदेखि बाँझो जग्गा भाडामा लिएर खेती गर्ने कृषकलाई गाउँपालिकाले अनुदान दिईने गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले जानकारी दिनुभयो । उहाँका अनुसार जमिन भाडामा लिई खेती गर्ने कृषकलाई गाउँपालिकाले भाडा वापतको रकम अनुदान दिनेछ । 

    ‘‘आन्तरिक कृषि विकास कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि २०८१ बनाइसकेका छौं’, गाउँपालिका अध्यक्ष स्याङ्तानले भन्नुभयो, ‘सोही कार्यविधि बमोजिम जग्गा भाडामा लिई खेती गर्ने कृषक, कृषक समुह, सहकारी समिति, कृषि फर्महरुलाई भाडा वापतको रकम गाउँपालिकाले उपलब्ध गराउँछ ।’ 

    जग्गा भाडामा लिए वापत गाउँपालिकाले प्रति रोपनी दुई हजार रुपैयाँका दरले अनुदान उपलब्ध गराउने कार्यविधिमा तय गरिएको अध्यक्ष स्याङ्तानको भनाई छ । 

    विपन्न, सीमान्तकृत, दलित, जनजाती तथा बेरोजगारको सूचीमा रहेकालाई बिशेष प्राथमिकता दिएर अघि बढाएको उक्त कार्यक्रम अन्तर्गत कृषकलाई भाडा वापतको रकम उपलब्ध गराउन पालिकाले चालु आव २०८१/८२ मा ६ लाख रुपैयाँ बजेट बिनियोजन गरेको उहाँले बताउनुभयो ।

    –रासस