२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

हेटौंडा सिमेन्टले पुस पहिलो सातादेखि उत्पादन सुरु गर्ने



  • आफ्नै खबर
  •     (५ महिना अघि)
  • पाठक संख्या ७०
  • मकवानपुर/  हेटौंडा सिमेन्ट उद्योग व्यवस्थापनले आगामी पुसको पहिलो साताबाट पुनः सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको छ । उद्योग व्यवस्थापनले मङ्सिरमै सिमेन्ट उत्पादन सुरु गर्ने बताएपनि उद्योगको बिभिन्न उपकरणहरु मर्मतको काम नसकिदाँ अझै उत्पादन अझै सुरु हुन नसकेको हो । 

    ‘उद्योगको क्लिंकर मेसिन लगायतका उपकरणहरुको मर्मत कार्य अझै भईरहेकै छ’ उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले भन्नुभयो, ‘हामीले तिहारसम्ममा मर्मत सकिन्छ र त्यस लग्तै पुनः सिमेन्ट उत्पादको कार्य सुरु गर्ने अनुमान गरेका थियौ ।’

    तर अझै उपकरण मर्मतको काम नसकिएकाले उद्योग सुचारु हुन केही दिन लाग्न सक्ने उहाँको भनाई छ । उपकरणहरुको मर्मत कार्य सम्पन्न हुने बितिकै यही पुस महिनाको पहिलो साताबाट सिमेन्ट उत्पादन सुरु गर्ने गरी तयारी भईरहेको उहाँले बताउनुभयो । उद्योग व्यवस्थापनले यही असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो । 

    उद्योगको उपकरण बनाउन भारतबाट श्रमिक ल्याउनुपर्ने भएकाले मर्मत सम्भारमा समय लागेको बताउनुहुँदै अध्यक्ष भण्डारीले मर्मत सम्भारको काम तीब्र रुपमा भइरहेकाले छिटै सकिने र त्यस लग्तैबाट उत्पादन सुरु गर्ने तयारी भएको बताउनुभयो ।  

    ‘हामीसँग कच्चा पदार्थको कुनै अभाव छैन’, अध्यक्ष भण्डारीले भन्नुभयो, ‘उद्योगलाई चाहिने करिब चार सय मेट्रिक टन कोइला मौज्दात छ ।’ थप कोइला खरिदको प्रक्रिया अघि बढी सकेकोले कोइलाको समस्या नभएको उहाँको भनाई छ । 

    आर्थिक अभावका कारण यसअघि दुई महिना उक्त उद्योग बन्द भएको थियो । यही भदौ महिनाको तेश्रो साताबाट सिमेन्ट उत्पादन सुरु गरेको उद्योगले यसअबधीमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेको अध्यक्ष भण्डारीले बताउनुभयो । २०३३ सालमा हेटौंडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले  २०४३ सालदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो ।

    –रासस