२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

खानेपानी विस्तारका लागि एक सय नौ योजना



  • आफ्नै खबर
  •     (५ महिना अघि)
  • पाठक संख्या ८३
  • पर्वत/  नागरिकलाई स्वच्छ खानेपानीको सुविधा उपलब्ध गराउने उद्देश्यले पर्वतमा चालु आर्थिक वर्षमा एक सय नौ वटा योजना सञ्चालन हुने भएका छन् । जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकामा सङ्घीय र गण्डकी प्रदेश सरकारका गरी एक सय नौ योजना सञ्चालन हुने भएका हुन् । 

    सङ्घीय सरकारअन्तर्गत ३४ र गण्डकी प्रदेशअन्तर्गत ७५ वटा योजनामा बजेट विनियोजन भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङले जनाएको छ । 

    गण्डकी प्रदेशअन्तर्गत कुश्मा नगरपालिकामा २६, फलेबास नगरपालिकामा १९, जलजला गाउँपालिकामा १०, पैँयु गाउँपालिकामा नौ, मोदी गाउँपालिकामा चार, महाशिला गाउँपालिकामा चार र विहादी गाउँपालिकामा तीन वटा योजनामा बजेट विनियोजन भएको कार्यालय प्रमुख किरण पौडेलले जानकारी दिनुभयो । 

    उहाँका अनुसार सङ्घीय सरकारअन्तर्गत फलेबास नगरपालिकामा पाँच, कुश्मामा दुई, माशिलामा तीन, मोदीमा दुई, जलजला र पैँयुमा तीन वटा योजना रहेका छन् । यसबाहेक सङ्घीय शसर्त अनुदानबाट १६ योजना सञ्चालन हुने उहाँले बताउनुभयो । 

    चालु आर्थिक वर्ष २०८१/८२ मा ७५ योजनाका लागि गण्डकी प्रदेश सरकारबाट ११ करोड ४० लाख रुपैयाँ र १८ योजनाका लागि सङ्घीय सरकारबाट एक करोड ५९ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । 

    यसैगरी सङ्घीय शसर्त अनुदानअन्तर्गत १६ योजना पुनःस्थापना गर्न ९८ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । योसहित चालु आर्थिक वर्षमा १३ करोड ९७ लाख रुपैयाँ बजेट प्राप्त भएको कार्यालय प्रमुख पौडेलले जानकारी दिनुभयो ।  

    कार्यालयका अनुसार योजनाको लागतअनुसार बजेट विनियोजन नहुँदा यस वर्ष अधिकांश योजना पूर्ण रूपमा सम्पन्न नहुने भएका छन् । बजेट अद्यावधिक गरी केही थप भएमा निर्माणाधीन अवस्थामा रहेका १२ योजना चालु आवमा सम्पन्न हुने कार्यालय प्रमुख पौडेलले बताउनुभयो । 

    गत आवभन्दा ६ करोड रुपैयाँ बजेट घटेर आएकाले पनि सबै योजना निर्धारित समयमा सम्पन्न हुन नसक्ने उहाँको भनाइ छ । कार्यालय प्रमुख पौडेलले भन्नुभयो, ‘योजना बढी छन्, बजेट सीमित छ । त्यसैले अन्तिम चरणमा रहेका योजनालाई पूर्णता दिनेगरी काम गरिरहेका छौँ ।’ 

    प्रत्येक योजनामा न्यूनतम पाँच लाख रुपैयाँदेखि बढीमा ६४ लाख रुपैयाँसम्म बजेट विनियोजन भएको छ । जिल्लाका सबै परिवारमा खानेपानीको पहुँच पुर्याउने सरकारको योजनाअनुसार चालु आवमा बजेट विनियोजन भएका सबै योजना कार्यान्वयनमा गइसकेका कार्यालयले जानकारी दिएको छ । 

    पर्वतमा अन्य संस्थागतबाहेक खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमार्फत हालसम्म १६ हजारभन्दा बढी परिवारमा ‘एक घर, एक धारा’ विस्तार गरिएको छ । चालु आवमा सञ्चालित योजनाहरूले पूर्णता पाएमा दुई हजारभन्दा बढी घरमा ‘एक घर एक धारा’ विस्तार गर्न सकिने कार्यालयले जनाएको छ ।

    जिल्लाको सदरमुकाम कुश्माबजार, फलेबास, वारीबेनी, पातीचौर, डिमुवा, कार्किनेटा, हुवास, त्रिवेणीलगायत बजार क्षेत्रमा व्यवस्थित रूपमा खानेपानीको वितरण भए पनि केही ग्रामीण बस्ती भने असुरक्षित पानी उपभोग गर्न बाध्य छन् । एकीकृत रूपमा योजना सङ्कलन नगरी माथिल्लो निकायबाट बजेट विनियोजन हुँदा कार्यान्वयमा समस्या पर्ने गरेको प्रमुख पौडेलले बताउनुभयो । 

    पर्वत र बागलुङ गरी दुई जिल्ला कार्यक्षेत्र रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमा जनशक्तिको अभाव रहेको कार्यालय प्रमुख पौडेलले जानकारी दिनुभयो । चार प्राविधिकको दरबन्दी रहेको कार्यालयमा एक जनाको मात्र पदपूर्ति हुँदा समयमा योजनाको सर्भेक्षण, लगत अनुमान तयार तथा योजना कार्यान्वयन र फछ्र्योटमा समस्या पर्दै आएको उहाँले गुनासो गर्नुभयो ।

    –रासस