२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

दूध बेचेरै वर्षको ३० लाख



  • आफ्नै खबर
  •     (५ महिना अघि)
  • पाठक संख्या ७१
  • बागलुङ/  बागलुङ नगरपालिका–१४ नेपानेका ४५ वर्षीय कुमार बस्नेतले व्यावसायिक रूपमा गाईभैँसी पाल्न थाल्नुभएको १२ वर्ष पुगेको छ । अहिले उहाँले दूध बिक्री गरेर वार्षिक ३० लाख रुपैयाँ आम्दानी गर्दै आउनुभएको छ । 

    दैनिक एक सय लिटरभन्दा बढी दूध उत्पादन गरेर अगुवा कृषकका रूपमा बस्नेत चिनिनुहुन्छ । २०६९ सालमा तीन वटा भैँसीबाट ‘बस्नेत पशुपालन फार्म’ सञ्चालन गर्नुभएका उहाँको फार्ममा अहिले विभिन्न प्रजातिका ११ वटा भैँसी र नौ वटा गाई छन् । 

    ६ वर्ष साउदी अरब र ११ महिना सिङ्गापुर बसरे फर्किनुभएका बस्नेतले तीन वर्ष बागलुङ बजारमा व्यवसाय सञ्चालन गर्नुभएको थियो । व्यापारमा मुनाफा नभएपछि पसल बेचेर पुनःविदेश जाने सोचमा जापान जाने योजना बनाउनुभएको थियो ।

    जापान जाने योजनाले पूर्णता नपाएपछि बेचिसकेको पसल पुनः गर्नुभन्दा व्यावसायिक रूपमा गाईभैँसी पाल्ने योजना बनाएर गाउँ फर्किएपछि उहाँलाई कहिल्यै पछुताउनु परेको छैन । बस्नेतलाई उहाँकी श्रीमती अप्सराको दरिलो साथ छ । बीस वटा गाईभैँसी, उनीहरूको हेरचाह र सम्पूर्ण व्यवस्थापनको काम बस्नेत दम्पतीले मिलेर गर्ने गर्नुभएको छ । 

    दैनिक एक सयदेखि एक सय २० लिटरसम्म दूध उत्पादन गर्दै आउनुभएका बस्नेतले मासिक दुई लाख ५० हजारभन्दा बढी आम्दानी हुने गरेको बताउनुभयो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङको सहयोगमा पोखरा गएर एक हप्ताको तालिमसमेत लिनुभएका उहाँले बिक्री भएर बाँकी रहेको दूधबाट खुवा र पनिर बनाएर बच्ने गरेको जानकारी दिनुभयो । 

    बस्नेतले उत्पादन गरेको दूध नजिकैको नारायणस्थान बजारमा बेच्ने गरेको बताउँदै बजारीकरणको समस्या नरहेको उल्लेख गर्नुभयो । चैत–वैशाखमा एक सय २० लिटरभन्दा बढी र असार साउनमा ७० लिटरसम्म दूध गाउँमा बिक्री हुने गरेको उहाँको भनाइ छ । गाउँमा बिक्री भएर रहेको दूध कहिले स्थानीय डेरीलाई बेच्ने, कहिले पर्वतको कुश्मा बजार र बागलुङ बजारमा पठाउने गरेको उहाँले जानकारी दिनुभयो । 

    दूध बिक्री नहुँदा, बर्खाको समयमा सडकका कारण ढुवानीमा समस्या हुँदा, पहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा सयौँ लिटर दूध बिग्रिएर जाने गरेको भए पनि पछिल्लो समय प्राक्टिकल एक्सन नेपालको सहयोगमा डिसिआर डिसी बागलुङले अनुदानमा प्रदान गरेको ‘डिप फ्रिज’ले राहत पुगेको बस्नेतले बताउनुभयो । बैंकबाट कृषि कर्जा लिएको भन्दै जानकारी नभई घटबढ हुने व्यजदरले भने सास्ती दिएको उहाँको भनाइ छ । 

    भेटेरिनरी अस्पताल, पशुपालक कृषकसँग काम गर्दै आउनुभएका सामुदायिक स्रोत विकास केन्द्र (डिसिआरडिसी) र साना किसान सहकारी सङ्घसंस्थाबाट प्राप्त प्रोत्साहनले पशुपालनमा लाग्न सहज वातावरण बनाएको बस्नेतले प्रतिक्रिया दिनुभयो । गाईभैँसीलाई खुवाउने घाँस उत्पादन गर्न फार्मको वरिपरी ४० रोपनी जमिन भाडामा लिएर एक सय ५० केजी सुडान छरेको उहाँको भनाइ छ । 

    भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङबाट प्राविधिक सहयोग, औषधि उपचार र खोपसँगै अनुदान पाएको बताउँदै बस्नेतले लम्पीस्किन रोगले भने तीन वटा गाई र एउटा भैँसी मरेको जानकारी दिनुभयो । उहाँका अनुसार व्यवसाय विस्तारका क्रममा फार्ममा ३० लाख रुपैयाँभन्दा बढी लगानी पुगिसकेको छ ।

    भारतको विहारबाट एक लाख ३० हजार रुपैयाँ तिरेर भैँसी ल्याएको जनाउँदै बस्नेतले ती भैँसीले एक छाकमा १० लिटरभन्दा बढी दूध दिने उल्लेख गर्नुभयो । समग्रमा वार्षिक रूपमा ३० लाख रुपैयाँभन्दा बढी आम्दानी हुने बताउँदै उहाँले स्थानीय सरकारले बजार व्यवस्थापनमा सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

    –रासस