काठमाडौं/ नेपालको ऊर्जा क्षेत्रको विकासमा (एसियाली विकास बैंक) एडीबी र नेपाल सरकारबीच सहकार्यको ५ दशक पुगेको अवसरमा फोटो प्रदर्शनी आयोजना भएको छ । बबरमहलको नेपाल आर्ट काउन्सिलमा सुरु भएको सप्ताहव्यापी फोटो प्रदर्शनी फोटो पत्रकार क्लब, नेपालको सहकार्यमा भएको हो ।
प्रदर्शनीको ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ, ऊर्जा सचिव सुरेश आचार्य, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, एडीबी नेपालका निर्देशक आर्नोड कोस्वा, नर्वेली राजदूतावासकी मिसन उपप्रमुख क्रिस्टिन हेग स्टोरहोल्टले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
प्रदर्शनी मंसिर १८ देखि २४ गतेसम्म चल्ने छ । फोटो प्रदर्शनीमा नेपाल सरकार र एडीबीबीच ५० वर्षमा भएको सहकार्यमा नेपालको ऊर्जा क्षेत्रमा भएका विकासहरूलाई दृश्यमार्फत प्रस्तुत गरिएको आयोजकले जनाएको छ ।
उद्घाटन पछि ऊर्जा राज्यमन्त्री तामाङले नेपालको ऊर्जा क्षेत्रको विकासमा सहयोग पुर्याएकोमा एडीबीलाई धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो, ‘धेरै सकारात्मक कामहरू भर्खरै सम्पन्न भएका छन् । नेपालको ऊर्जा क्षेत्रको विकासमा एडीबीले पु¥याएको सहयोगमा धन्यवाद दिन चाहन्छु ।’
त्यस्तै, एडीबी नेपालका निर्देशक कोस्वाले नेपाल सरकारसँगको सहकार्यमा नेपालमा ऊर्जा उत्पादन, प्रसारण तथा वितरण लाइन एवं सुदृढीकरणमा निरन्तर साथ रहने बताउनुभयो । न्यून विद्युतीकरण भएको नेपाल अहिले ऊर्जा निर्यात गर्ने मुलुकका रूपमा समेत पुगेको उहाँको भनाइ थियो ।
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले एडीबीको सहयोगमा नेपालमा ठूला जलाशययुक्त जलविद्युत् आयोजनाहरू निर्माण भइरहेको बताउनुभयो । नेपालको ऊर्जा क्षेत्रमा सहयोग पुर्याएकोमा एडीबीलाई धन्यवाद दिँदै उहाँले आगामी दिनमा पनि सहयोगमा निरन्तरता हुने आशा व्यक्त गर्नुभयो ।
फोटो प्रदर्शनी उत्पादन, प्रसारण, वितरण र ‘बियोन्ड द मिटर’ गरी ४ भागमा विभाजन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस