२१ असार २०८२ शनिबार | 05 Jul 2025 Sat

सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको व्यवसायीक उत्पादन सुरु



  • आफ्नै खबर
  • १९ मंसिर २०८१ बुधबार (७ महिना अघि)
  • पाठक संख्या १२६
  • ताप्लेजुङ/  स्नो रिभर्स लिमिटेडले निर्माण गरेको १३.५ मेगावाट क्षमताको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनामा औपचारिक रूपमा विद्युत् उत्पादन सुरु भएको छ । 

    सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनस्थित आयोजनाको उत्पादन पाँचथरको हिलिहाङ गाउँपालिकामा रहेको नेपाल विद्युत् प्राधिकरणको एक सय ३२ केभिए क्षमताको अमरपुर सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।

    आयोजनाको उत्पादन परीक्षण एक सातासम्म सञ्चालन गरी सफल भएपछि विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाले जानकारी दिनुभयो । याम्फुदिनस्थित विद्युत् गृहबाट ३१ किलोमिटर दूरीमा रहेको अमरपुर सबस्टेसनसम्मको विद्युत् प्रसारण प्रणाली निर्माण सम्पन्न गरिएको छ । 

    २०७९ मङ्सिर अन्तिम सातादेखि सुरु भएको आयोजनाको निर्माण दुई अर्ब ६३ करोड २९ लाख रुपैयाँको लागतमा छोटो अवधिमै सम्पन्न भएको हो । सुपर काबेली ‘ए’ आयोजनाको निर्माण सम्पन्न भएसँगै ताप्लेजुङमा उत्पादन भइरहेको जलविद्युत् आयोजनाको संख्या आठ पुगेको छ ।  

    ताप्लेजुङमा हालसम्मका सबैभन्दा ठूला आयोजनामध्ये ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजना प्रमुख हो । त्यसलाई सानिमा हाइड्रो कम्पनीले निर्माण गरेको हो । त्यस्तै, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीद्वारा सञ्चालित २५ मेगावाट क्षमताको काबेली ‘बी–१’ र १० मेगावाट क्षमताको काबेली ‘बी–१’ क्यासकेट आयोजना पनि यस क्षेत्रका महत्त्वपूर्ण आयोजना हुन् ।  

    इँवाखोला जलविद्युत् आयोजनामा ९.९ मेगावाट र माथिल्लो इवाखोला आयोजनामा ९.७ मेगावाट क्षमताको विद्युत् उत्पादन भइरहेको छ । यी आयोजना ताप्लेजुङ र पाँचथरको सिमानामा बग्ने इन्द्रावती खोलाबाट सञ्चालित छन् । 

    पाथीभरा याङ्वरक गाउँपालिकास्थित फावाखोलामा युनिटेक हाइड्रोपावर कम्पनीद्वारा सञ्चालित ५.८ मेगावाट र सिवानी हाइड्रोपावर कम्पनीद्वारा सञ्चालित पाँच मेगावाट क्षमताका आयोजनाबाट विद्युत् उत्पादन हुँदै आएको छ । 

    ताप्लेजुङमा हाल डेढ दर्जनभन्दा बढी जलविद्युत् आयोजना निर्माणाधीन छन् । यी आयोजना सम्पन्न भएपछि जिल्लामा विद्युत् उत्पादन थप विस्तार हुने अपेक्षा गरिएको छ ।