स्याङ्जा/ सुन्तला ग्रेडिङका लागि प्रविधिको प्रयोगले सहज भएको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकस्थित त्रिपुत्र बागवानी फार्मले सुन्तलाको ग्रेडिङ थालेसँगै सहज भएको हो ।
सुन्तलाको ग्रेडिङ मेसिन जडान गरी काम सुरु भएसँगै सहज भएको बागवानी सञ्चालक एवं अगुवा किसान फणिनारायण अर्यालले बताउनुभयो । पोष्ट हार्भेष्ट निर्देशनालय काठमाडौँ र बागवानी फार्मबीच सम्झौता भएर ८५ प्रतिशत अनुदानमा ५६ लाख लागतमा भारतबाट मेसिन ल्याई जडान गरिएको हो ।
‘निर्देशनालयको ८५ प्रतिशत अनुदान र फार्मको १५ प्रतिशत लागत साझेदारीमा सुन्तलाका क्षेत्रमा ग्रेडिङ प्रविधि नेपालमा पहिलोपटक भित्रिएको हो’, उहाँले भन्नुभयो, ‘मेसिन जडान भएसँगै सुन्तलाको ग्रेडिङ तथा सफा गर्न सहज भएको छ ।’
प्रतिघण्टा पाँच टनसम्म सुन्तला ग्रेडिङ गर्ने क्षमताको मेसिनले फोहरमैला, कालो टीका सफा गर्ने सञ्चालक अर्यालले बताउनुभयो । उहाँले बगैँचामा उत्पादन भएका सुन्तला तथा अन्य किसानबाट खरिद गरेका सुन्तला मेसिनमार्फत ग्रेडिङ गरी बजार पठाउँदै आउनुभएको छ ।
‘मेसिनबाट विभिन्न आठवटा आकारमा सुन्तलाको वर्गीकरण गर्दै आएका छौँ’, उहाँले भन्नुभयो, ‘मान्छे लगाएर काम गर्दा झण्झटिलो, धेरै कामदार लाग्ने, दाग लाग्ने, थिच्चिनेजस्ता समस्या हुन्थ्यो, मेसिनको प्रयोगले सहज भएको छ ।’
आठवटा आकारमा सुन्तला ग्रेडिङ गरेर छुट्याइए पनि बजार मागका आधारमा चारवटा आकारमा पठाउने गरिएको उहाँले बताउनुभयो । साना सुन्तलाको प्रतिकेजी न्यूनतम २५ रुपैइाँ देखि ठूला सुन्तलाका मूल्य ९० रुपैयाँमा अहिले फार्मबाट बिक्री हुने गरेको छ ।
फार्मले सुन्तलाको बजारीकरणका लागि भाटभटेनी सुपर मार्केटका सञ्चालकसँग सम्झौता गरेको छ । उक्त कम्पनीसँग गत वर्षदेखि ५० टन सुन्तला उपलब्ध गराउनेगरी सम्झौता भएको उहाँले बताउनुभयो ।
–रासस
प्रतिक्रिया दिनुहोस