समाजसेवीका रूपमा गाउँमा घुम्न गएका एक जना भलाद्मी बटुवा उनकै सामानको भारी बोकेको भरियासँग साथसाथै हिँडिरहेका थिए । भरियाको मैलो र चिथरा लवाई, रगत सुकेको पहेँलो अनुहार देखेर ती भलाद्मीले भने– हेर दाइ, यस्तो मैलो र फोहर लुगा लाउने गरे रोग लाग्छ । अलि सफा लाउने र तागतिलो खाने गर्नुपर्छ । बुझ्यौं ?
भलाद्मीको कुरा सुनेर भरियाले आफ्नै वाध्यता र गुनासो सुनाए– के गर्नु हजुर ! रातो दिन भारी बोक्दा त खान पुग्दैन । आफू एक ज्यान भैदियाभे’ पनि एउटा कुरा । घरमा तीन वर्षको टुहुरी छोरी छ । अनि के लाउने, के खाने र कसरी तागतिलो खाएर सफा बस्ने हजूर !
भरियाको कुरा सुनेर फेरि भलाद्मीले भने– त्यसो भनेर काँ’ हुन्छ र, ज्यान नै रहेन भने कताको जहान !! भलाद्मी थप्छन् – अब त सरकारले सबैलाई उचित ज्याला पाउने कानुन पास गरिसक्या छ । त्यही कुरा बुझाउन भनेर त हामी गाउँगाउँ घुम्दै छौं नि । आफूले काम गरे अनुसारको ज्याला पाएपछि त पुगिहाल्छ नि ! भरियाले प्रतिवाद गरेन । लुरुलुरु पछि लाग्यो ।
कुरै कुरामा भलाद्मीको पुग्नु पर्ने ठाउँ आइसकेछ । भलाद्मी भरियालाई भारी बिसाउन लाउँछन् ।
गोजीबाट दुई रुपियाँ झिकेर दिन्छन्– लौ लाउ.. तिम्रो ज्याला !
हातको रुपियाँ हेर्दै भरिया भन्छ– हजुर, यति लामो बाटो । यत्रा भारी ! यो त साह्रै थारै भयो । अरुले पन्ध्र रुपियाँ कममा बोक्दैनन्, यो त भएन हजुर...!
समाजसेवी राता राता आँखा पार्दै भन्छन्– तिमी भरियाहरू यस्तै बदमास हुन्छौै भन्ने सुन्या थिएँ, होे रहेछ ! नयाँ मान्छेलाई ठग्न खुबै सिपालु हुन्छौं तिमीहरू । यहाँको रेट यति नै हो भन्ने मलाई थाहा छैन भन्ने ठानेको ? लिने भए लिऊ, नभए पुलिसको जिम्मा लाउँला । हामी समाजसेवीलाई समेत ठग्ने आँट !
भरिया अवाक रह्यो ।
रचना मिति: २०३९ कार्तिक २१
प्रतिक्रिया दिनुहोस