दाङ/ घोराही उपमहानगरपालिका–१८ घोरदौरामा जीपलाइन सञ्चालन गरिँदै छ । घोराही–१८ रझेनाका सुभास गौतमले घोरदौरा जीपलाइन एण्ड एडभेन्चर रिसोर्टमा जीपलाइन परीक्षण गर्न सुरु गरिएको बताउनुभयो । घोरदौरा आफैँमा पर्यटकीयस्थल भएकाले यसको थप प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले जीपलाइन सुरुआत गरिएको उहाँको भनाइ छ ।
सञ्चालक गौतमले भन्नुभयो, ‘अहिले काम अन्तिम चरणमा पुगेको छ, अबको एक महिनापछि पूर्ण रूपमा सञ्चालन गर्ने तयारीमा छौँ ।’ साढे सात सय मिटर लामो जीपलाइन साहसिक र रोमाञ्चक हुने उहाँले बताउनुभयो ।
छिट्टै सञ्चालनमा आउन लागेकोे जीपलाइनसँगै स्काई साइक्लिङ पनि हुनेछ । स्काई साइक्लिङ भने एक सय ५५ मिटर लामो रहने छ । घोरदौरा जीपलाइन एण्ड एडभेन्चर रिसोर्टमा जीपलाइन र स्काई साइक्लिङको काम केही बाँकी रहेका कारण प्राविधिकको टोलीले काम गरिरहेको उहाँ बताउनुहुन्छ । हालसम्म एक करोड रुपैयाँभन्दा बढी लगानी लागेको र अझै काम भइरहेकाले लगानी बढ्ने गौतमको भनाइ छ ।
घोरदौरामा जीपलाइन र स्काई साइक्लिङ सञ्चालनमा ल्याउनुको मुख्य उद्देश्य यहाँको पर्यटन प्रवर्द्धन गर्नु हो । जीपलाइनका लागि एक हजार आठ सय ५० रुपैयाँ शुल्क निर्धारण गरिएको र साइक्लिङको भने काम भइरहेकाले अझै शुल्क निर्धारण नभएको सञ्चालक गौतमले बताउनुभयो ।
–रासस
प्रतिक्रिया दिनुहोस