सप्तरी/ बोदेबरसाइन नगरपालिका–५ मा १५ शय्याको अस्पताल निर्माण हुने भएको छ । शत्रुघ्न हस्पिटल नजिकै रहेको सार्वजनिक जग्गामा १५ शय्याको आधारभूत अस्पताल निर्माण थालनी गर्न भवन शिलान्यास गरिएको हो ।
१३ कठ्ठा क्षेत्रफलमा १९ करोड ६२ लाख रुपैयाँ लागतमा अस्पताल निर्माण हुन लागेको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक राजनारायण ठाकुरले जानकारी दिनुभयो । उहाँका अनुसार नगरप्रमुख आतेशकुमार सिंहले भवन शिलान्यास गर्नुभएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर पाँच, १० र १५ शय्यासम्मको अस्पताल नभएका स्थानीय तहमा भवन बनाउने योजना बनाए अनुसार बोदेबरसाइनमा निर्माण प्रक्रिया अघि बढेको संयोजक ठाकुरले बताउनुभयो । अस्पताल सञ्चालनमा आएपछि सामान्य बिरामी हुँदा पनि पालिकाबाहिर पठाउनुपर्ने बाध्यता अन्त्य हुने उहाँको भनाइ छ ।
२०८४ साल मङ्सिरसम्ममा सम्पन्न गर्नेगरी भवन निर्माणको जिम्मा काभ्रेको न्यू ड्रागन निर्माण सेवा प्रालिलाई दिइएको नगर कार्यालयले जनाएको छ ।
तीन वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नीति योजना महाशाखाले सहमति दिएपछि सोही अनुसार कार्य भइरहेको नगरपालिकाका इञ्जिनीयर दिनेश ठाकुरले जानकारी दिनुभयो ।
–रासस
प्रतिक्रिया दिनुहोस