२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

चार महिनामा भित्रियो सवा पाँच खर्ब विप्रेषण



  • आफ्नै खबर
  • २८ मंसिर २०८१ शुक्रबार (५ महिना अघि)
  • पाठक संख्या ६३
  • काठमाडौं/  चालु आर्थिक वर्षको पहिलो चार महिनामा पाँच खर्ब २१ अर्ब ६३ करोड रुपैयाँबराबरको विप्रेषण मुलुक भित्रिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार,  समीक्षा अवधिमा विप्रेषण आप्रवाहमा ९.१ प्रतिशतले वृद्धि भएको हो । 

    अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह तीन अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह तीन अर्ब ६० करोड रहेको थियो । 

    समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) पाँच खर्ब ६८ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय पाँच खर्ब २१ अर्ब ४३ करोड रुपैयाँ रहेको थियो ।

    वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ) लिने नेपालीको सङ्ख्या चार महिनामा एक लाख ४७ हजार चार सय ७८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ९४ हजार एक सय पाँच रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः एक लाख ३७ हजार चार सय ७५ र ६८ हजार आठ सय ४१ रहेको थियो ।

    –रासस