३१ असार २०८२ मंगलबार | 15 Jul 2025 Tue

झापामा फल्यो नौ सय ३७ मेट्रिक टन कोदो



  • आफ्नै खबर
  • २८ मंसिर २०८१ शुक्रबार (७ महिना अघि)
  • पाठक संख्या ७९
  • झापा/  जिल्लामा यसवर्ष नौ सय ३७.६७ मेट्रिक टन कोदो उत्पादन भएको छ । सात सय २६.८८ हेक्टर क्षेत्रफलमा उक्त परिणाममा कोदो उत्पादन भएको हो । 

    कृषि ज्ञान केन्द्र झापा सूचना अधिकारी चेतराज भण्डारीले यस वर्ष प्रति हेक्टर १.२९ मेट्रिक टनका दरले कोदो उत्पादन भएको बताउनुभयो । उहाँका अनुसार अधिंकाश स्थानीय तहले कोदो उत्पादनका लागि अनुदान दिएका छन् । 

    भद्रपुर नगरपालिकाले परम्परागत बाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत यसवर्ष कोदो खेतीका लागि दुई सय ५१ कठ्ठा क्षेत्रफलमा प्रति कठ्ठा १ हजार रुपैयाँका दरले प्रोत्साहनस्वरुप किसानलाई अनुदान दिएको नगरपालिकाको कृषि शाखाका अधिकृत सुमन विमलीले बताउनुभयो ।

    कोदो जस्ता बालीले हाम्रो परम्परा, संस्कार र पहिचान संरक्षण हुनाका साथै किसानको आयआर्जनमा सहयोग पुग्ने भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलले बताउनुभयो । 

    रैथाने बाली प्रवर्द्धन कार्यक्रमले कृषिमा विविधता ल्याउने मात्र नभइ स्थानीय समुदायको जीवनस्तर सुधार गर्न योगदान पु¥याउने उहाँको भनाइ छ । नगरपालिकाले आगामी वर्षमा कोदो खेतीको क्षेत्रफल विस्तार गर्दै प्रविधि हस्तान्तरण र उत्पादन वृद्धि गर्ने लक्ष्य लिएको छ ।

    –रासस