३१ असार २०८२ मंगलबार | 15 Jul 2025 Tue

लिट्मस इन्डस्ट्रीजले सुरु गर्यो एक्सएलपिई कभर्ड कन्डक्टर उत्पादन



  • आफ्नै खबर
  • २८ मंसिर २०८१ शुक्रबार (७ महिना अघि)
  • पाठक संख्या १३८
  • काठमाडौं/  नेपालको केबल, तार, तथा कन्डक्टर उत्पादक लिट्मस इन्डस्ट्रीजले नेपालमै पहिलो पटक मिडियम भोल्टेज एक्सएलपिई कभर्ड कन्डक्टर उत्पादन सुरु गरेको छ । वार्षिक २० हजार किलोमिटर उत्पादन क्षमता भएको र एक ऐतिहासिक उपलब्धि हासिल गरेको कम्पनीले जनाएको छ ।

    यस प्रविधिले आयातमा निर्भरता कम गर्दै, ऊर्जा आत्मनिर्भरता प्रवर्द्धन गर्ने र उच्च कार्यक्षमताका भरपर्दा पावर ट्रान्समिसन संरचनाहरूको मागलाई सम्बोधन गर्ने लक्ष्य राखेको कम्पनीको भनाइ छ ।

    जर्मन प्रविधिको प्रयोगमा आधारित निर्माण प्रक्रियामा उत्कृष्ट इन्सुलेशनका लागि ट्रिपल–लेयर एक्स्ट्रसन, उच्च–गुणस्तरको क्रस–लिङ्किङका लागि डीप–वाटर क्युरिङ, र स्पार्क परीक्षण तथा एन्टि–ट्ररयाकिङ परीक्षणजस्ता उत्कृष्ट गुणस्तर परीक्षणहरू समावेश रहेको जनाइएको छ । यसले यी कन्डक्टरहरूलाई नेपालको विविध र चुनौतीपूर्ण भूभागहरूमा पनि प्रभावकारी प्रदर्शन र दीर्घकालीन संरचना सुनिश्चित गर्न पनि सक्षम बनाउने कम्पनीको दावी छ । 

    ११ केभीदेखि ३३ केभी क्षमताका यी कन्डक्टरहरू विशेष गरी जंगल क्षेत्रमा आगलागीको जोखिम घटाउने उद्देश्यले निर्माण गरिएका छन् । वातावरणीय अनुकूलताको लागि तयार पारिएका यी कन्डक्टरहरू टिकाउ र भरपर्दा छन्, जसले मर्मत खर्च कम गर्नुका साथै निरन्तर ऊर्जा आपूर्ति सुनिश्चित गर्दछ । यी उत्कृष्ट कन्डक्टरहरूले घरेलु पूर्वाधार तथा सीमा–पार बिजुली निर्यातलाई समेत प्रभावकारी बनाउने अपेक्षा गरिएको कम्पनीको भनाइ छ ।

    यो कन्डक्टरको उत्पादनमा अग्रणी भूमिका निर्वाह गरेर, लिट्मस इन्डस्ट्रीजले नेपालको ऊर्जा पूर्वाधारलाई सुदृढ बनाउँदै देशलाई क्षेत्रीय ऊर्जा नवप्रवर्तनमा अग्रणी स्थानमा स्थापित गरेको उल्लेख गरेको छ ।