२८ जेठ २०८२ बुधबार | 11 Jun 2025 Wed

एनपिएल : क्वालिफायर र एलिमिनेटरको खेल बुधबारदेखि



  • आफ्नै खबर
  • २ पुष २०८१ मंगलबार (६ महिना अघि)
  • पाठक संख्या ८६
  • काठमाडौँ/  नेपाल प्रिमियर लिग (एनपिएल) को लिग चरणका खेलहरु सकिएसँगै प्लेअफको रौनकता बुधबारदेखि सुरु हुँदै छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार हुने पहिलो खेलमा एलिमिनेटरमा स्थान बनाएका एवं लिगको तेस्रो टोली चितवन राइनोज र चौथो टोली कर्णाली याक्सबिच प्रतिस्पर्धा हुनेछ । 

    यस्तै दिउँसो हुने पहिलो क्वालिफायर (दोस्रो खेल) मा लिगको शीर्षस्थानमा रहेको सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानको जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हुनेछ । जारी प्रतियोगितामा सुदूरपश्चिम बलियो देखिएको छ । लिग चरणको सातमध्ये एउटा खेलमा मात्र पराजय भोगेको सुदूरपश्चिको ब्याटिङ र बलिङ लयमा छ ।

    यता लिगको सुरुवाती खेलहरुमा चमत्कारपूर्ण प्रदर्शन गरेको जनकपुरको प्रदर्शन पनि क्वालिफायरमा बलियो हुने अपेक्षा गरिएको छ । जनकपुरले लिगको सात खेलमा पाँच जित र दुई हारको नतिजा आत्मसाथ गरेको थियो । 

    सुदुरपश्चिम र जनकपुरबिचको पहिलो क्वालिफायर खेलको विजेता सोझै फाइनलमा पुग्ने हुनाले बुधबारको खेल निकै महत्वपूर्ण हुनेछ । यस्तै एलिमिनेटर खेलमा चितवन र कर्णालीबिचको खेलमा पराजित टोली बाहिरिनेछ । 

    विजेता टोलीले भने पहिलो क्वालिफायरमा पराजित टोलीसँग फाइनल पुग्नका लागि फेरि प्रतिस्पर्धाको अवसर पाउनेछ । क्वालिफायरको पराजित टोली र एलिमिनेटरको विजेताबिच फाइनलमा पुग्न बिहीबार प्रतिस्पर्धा हुनेछ ।

    फाइनल खेल शनिबार हुनेछ । उद्घाटन देखिनै हजारौँ नेपाली क्रिकेट दर्शकको साथ पाएको एनपिएलको प्लेअफ चरणका खेलमा दर्शकको चाप झनै बढ्ने देखिएको छ । त्यसैले एनपिएलको प्लेअफ खेलको रौनकता थप चुलिने अपेक्षा गरिएको छ । 

    नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली खेलकुदमै ठूलो आर्थिक लगानीमा आयोजना गरेको एनपिएल सर्वाधिक पुरस्कार राशी रहेको प्रतियोगिता पनि हो । विभिन्न देशका ४० भन्दाबढी चर्चित खेलाडीको आगमनले थप चर्चा पाएको एनपिएलको विजेता टोलीले एक करोड ११ लाख रुपियाँ पुरस्कार पाउनेछ । 

    यस्तै उपविजेतालाई ५० लाख, तेस्रो हुने टोलीलाई ३० लाख र चौथोलाई २० लाख रुपियाँ पुरस्कार दिने निर्णय यसअघिनै गरेको छ । एनपिएलको उत्कृष्ट खेलाडीले करिव ६२ लाख रुपियाँको ‘आमोडा एन्ड जेईको’ कम्पनीको कार पुरस्कार पाउनेछ ।