२४ बैशाख २०८२ बुधबार | 07 May 2025 Wed

व्यवसायीलाई पर्यटन बोर्डले सिकायो चिनियाँ भाषा 



  • आफ्नै खबर
  • २ पुष २०८१ मंगलबार (५ महिना अघि)
  • पाठक संख्या ७१
  • काठमाडौं/  नेपाली पर्यटन व्यवसायीहरूको लागि ६ महिने चिनियाँ भाषा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्को संयुक्त आयोजनामा सम्पन्न यो तालिम कार्यक्रम नेपालका पर्यटन व्यवसायीहरूलाई चिनियाँ पर्यटकहरूसँग अझ प्रभावकारी रूपमा जोड्न र सेवा दिन सक्षम बनाउने उद्देश्यले सञ्चालन गरिएको हो । 

    कार्यक्रमको समापन समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रामकृष्ण लामिछाने, नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिकमत सिंह ऐर, चिनियाँ दूतावासका मिशन उपप्रमुख वाङ सिन र नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष डा. हरिशचन्द्र शाह लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

    यस वर्षको कार्यक्रममा जम्मा एक सय जना भर्ना भएकामा ४० जनाले चिनियाँ भाषा मापदण्ड अनुसारको दक्षता हासिल गर्दै प्रमाणपत्र प्राप्त गर्न सफल भएका छन् । प्रशिक्षित सहभागीहरू अब नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरूको बढ्दो चापलाई सम्बोधन गर्न सक्षम भएको बोर्डले जनाएको छ । 

    नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले भाषा दक्षताको महत्वलाई जोड दिंदै भाषा पर्यटन व्यवसायमा प्रभावकारी सेवा र अतिथ्यको आधार भएको बताउनुभयो । यसखाले कार्यक्रमहरूले नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय तहमा प्रतिस्पर्धी बनाउन योगदान पुर्याउने उहाँको भनाइ थियो । 

    चिनियाँ नियोग उपप्रमुख सिनले नेपाल र चीनबीचको गहिरो सांस्कृतिक, सामाजिक तथा आर्थिक सम्बन्धलाई अझ सुदृढ बनाउने यस्ता कार्यक्रमको प्रशंसा गर्नुभयो । नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष डा. हरिशचन्द्र शाहले कार्यक्रम सफल बनाउन योगदान गर्ने सबै प्रशिक्षार्थी, प्रशिक्षक र सहकार्य संस्थाहरूलाई धन्यवाद दिनुभयो ।

    नेपाल पर्यटन बोर्डले पर्यटन व्यवसायीहरूलाई विभिन्न विषयमा नियमित रूपमा प्रशिक्षण कार्यक्रम गर्दै आएको जनाएको छ । जसमा भाषा सीप, डिजिटल प्रवर्द्धन, प्रकृतिमा आधारित पर्यटन र आतिथ्य व्यवस्थापन प्रमुख रहेको जनाइएको छ ।