२८ जेठ २०८२ बुधबार | 11 Jun 2025 Wed

चितवन राइनोजलाई हराएपछि कर्णाली याक्स एनपिएलको क्वालिफायरमा



  • आफ्नै खबर
  • ३ पुष २०८१ बुधबार (६ महिना अघि)
  • पाठक संख्या ११३
  • काठमाडौं/  नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटर खेलमा कर्णाली याक्स चितवन राइनोजलाई २१ रनले पराजित गर्दै प्रतियोगिताको दोस्रो क्वालिफायरमा पुगेको छ । 

    यस जितसँगै कर्णाली याक्सले फाइनल प्रवेशका लागि आजै हुने पहिलो क्वालिफायरको पराजित टोलीसँग बिहीबार खेल्नेछ । पहिलो क्वालिफायर खेल आज दिउँसो १ बजेदेखि सुरु भएको छ । जसमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिडिरहेका छन् । यस खेलको विजेता टोली भने प्रतियोगिताको फाइनमा पुग्नेछ । 

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज कर्णाली याक्सले दिएको एक सय ७६ रनको विजयी लक्ष्य पछ्याएको चितवन राइनोज निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ५४ रनमा समेटियो । चितवनका लागि रवि बोपाराले सर्वाधिक ५३ रनको योगदान दिए । उनले ३४ बल खेल्दै तीन चौका र चार छक्काको सहयोगमा ५३ रन बनाएका हुन ।

    त्यसैगरी कप्तान कुशल मल्लले २१ रन बनाए भने विपिन रावलले १८ रन जोडे । लुक बेनकिस्टेनले १६ रन बनाए भने शरद भेषवाकरले १० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । बलिङतर्फ कर्णाली याक्सका जिसन मोक्सुदले तीन विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले समान दुई/दुई विकेट लिए । त्यस्तै विपिन शर्माले एक विकेट झारे । 

    त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय ७५ रनको योगफल बनाएको थियो । कर्णालीका लागि जयकिसन कोल्सावालाले सर्वाधिक ५३ रनको योगदान दिए । उनले ३९ बलमा ६ चौका र दुई छक्काको सहयोगमा ५३ रन बनाएका हुन् । 

    त्यसैगरी विल बसिस्टोले ५२ रन बनाउँदा चाडविक वाल्टनले अविजित ४६ रन जोडे । त्यस्तै जिसन मक्सुदले १४ रन बनाए । चितवनका लागि सोहिल तन्वीरले दुई विकेट लिए भने शरद भेषवाकर, कुशल मल्ल र रवि बोपाराले समान एक÷एक विकेट लिए । यसअघि भएको लिग चरणको खेलमा पनि कर्णाली याक्सले चितवन राइनोजलाई पराजित गरेको थियो ।