१० मंसिर २०८२ बुधबार | 26 Nov 2025 Wed

रसुवागढी जलविद्युत्को विद्युत् उत्पादन सुरु



  • आफ्नै खबर
  • ८ पुष २०८१ सोमबार (११ महिना अघि)
  • पाठक संख्या १३४
  • रसुवा/  उत्तरी रसुवाको टिमुरेस्थित रसुवागढी हाइड्रो पावरले  परीक्षण उत्पादन सफल भएको छ  । गोसाइँकुण्ड गाउँपालिका वडा नं १ र २ को  तातोपानीस्थित भोटेकोसीको तटीय क्षेत्रमा भूमिगत संरचनाबाट उक्त विद्युत् गृह निर्माण गरिएको  छ । 

    विद्युत् गृहमा जडित ३३/३३ मेगावाट क्षमताको तीनवटा मेसिनबाट विद्युत् उत्पादनहुने जनाइएको छ । हाल चिसोयामका कारण खोलामा पानीको बहाव घटेपछि पहिलो परीक्षणबाट ५२ मेगावाट विद्युत् उत्पादन गरिएको आयोजना प्रमुख सत्यराम ज्याख्वाले जानकारी दिनुभयो । तीनवटै युनिट चालु गराईसकिएको र वर्षायाममा भने क्षमताअनुसार विद्युत् उत्पादन हुने उहाँले बताउनुभयो । 

    उक्त आयोजना कूल लागत १८ अर्ब ६९ करोड २० लाख रुपैयाँको रहेको बताइएको छ । सन् २०१४ देखि पूर्णरूपमा निर्माण सुरू भए पनि विगतमा भएको पेट्रोलियम पदार्थको अभाव, २०७२ को विनाशकारी भूकम्प, भोटेकोशीमा बर्साद्को समयमा आइरहने बाढी, वर्षायाममा राजमार्ग अवरूद्ध हुँदा सामान ढुवानीमा परेको असरले निर्माण सम्पन्न गर्न केही समय ढिलाइ भएको बताइएको छ ।

    रसुवागढी जलविद्युत्ले वार्षिकरूपमा ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत् उत्पादन गरेर तीन अर्ब २५ करोड रुपैयाँ आय गर्ने आयोजनाले गर्ने छ । रसुवागढीमुनि भोटेकोशीमा बाँध निर्माण गरेर चार हजार एक सय ८५ मिटर सुरूङको सहायताले टिमुरे गाउँको दुहार तातोपानीपारिको पहराभित्र निर्माण गरिएको विद्युत् गृहमा तीनवटा टर्वाइन जडान भएको र जडित सबै उपकरण चालु भइसकेको प्राविधिकले बताएका छन् ।  

    चिलिमे जलविद्युत् कम्पनीको भगेनी संस्था रसुवागढी जलविद्युत् कम्पनीमार्फत उक्त आयोजना निर्माण भएको हो । यहाँको चिलिमे जलविद्युत् केन्द्रलाई धितो बन्धक राखी कर्मचारी सञ्चय कोषको ऋण, नेपाल विद्युत् प्राधिकरण र स्थानीय निकाय समेतको शेयर लगानीमा उक्त आयोजना निर्माण सम्पन्न भएको हो ।

    –रासस