बागमती/ हेटौँडा उपमहानगरपालिका–१५ स्थित चुरियामाई सुरुङमार्ग सर्वसाधारणको अवलोकनका लागि खुला गर्ने तयारी सुरु भएको छ । बागमती प्रदेश सरकारको चार करोड ५७ लाख रुपैयाँको लागतमा पुनःनिर्माण भएपछि सर्वसाधारणको अवलोकनका लागि खुला गर्न लागिएको हो ।
प्रदेश सरकारअन्तर्गतको प्रदेश यातायात पूर्वाधार निर्देशनालयले पुनःनिर्माण गरिएको उक्त सुरुङमार्ग आज औपचारिक रुपमा हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गर्न लागेको छ
हस्तान्तरण लगत्तै सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिने उपमहानगरका प्रमुख मिनाकुमारी लामाले जानकारी दिनुभयो । सुरुङमार्ग व्यवस्थापन तथा सञ्चालन गर्ने सहमति भइसकेकाले सर्वसाधारणको अवलोकनका लागि खुला गर्न लागिएको प्रमुख लामाले बताउनुभयो ।
सुरुङमार्ग अवलोकनका लागि आउने नेपालीलाई प्रतिव्यक्ति ५०, विदेशीलाई प्रतिव्यक्ति एक सय २०, विद्यार्थीलाई प्रतिव्यक्ति २० रुपैयाँ शुल्क लिने तथा पाँच वर्षमुनीका बालबालिका, जेष्ठनागरिक र आपाङता भएका व्यक्तिलाई निःशुल्क गरिने प्रमुख लामाको भनाइ छ ।
पुनःनिर्माण गरिएको उक्त सुरुङमार्गलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजनाका साथ अवलोकन गर्न आउनेहरुका लागि खुला गर्न लागिएको प्रमुख लामाले बताउनुभयो ।
मधेस प्रदेशको बारा र बागमती प्रदेशको मकवानपुरलाई जोड्ने उक्त सुरुङमार्ग १९७४ सालमा तत्कालिन प्रधानमन्त्री चन्द्रशमशेरको पालामा निर्माण गरिएको थियो । उक्त सुरुङमार्गबाट २०२० सालसम्म सवारी साधनहरु सञ्चालन हुँदै आएको थियो ।
जिर्ण भएको उक्त सुरुङमार्गको गत २०७९ साल वैशाख १९ गते जिर्णाेद्वार सम्पन्न गर्ने गरी काम सुरु भएको थियो । सुरुङमार्ग पुनःनिर्माण भएपनि त्यसको सञ्चालन कसले गर्ने भने अन्यौलताका कारण लामो समयदेखि बन्द थियो ।
उपमहानगरले सुरुङमार्ग सञ्चालन गर्ने सहमति भएपछि हस्तान्तरण गरी सञ्चालनमा ल्याउन लागिएको प्रदेश यातायात पूर्वाधार निर्देशनालयका निर्देशक पुष्पकरराज पोखरेलले जानकारी दिनुभयो ।
कुल एक सय ९८ मिटर लम्बाईको उक्त सुरुङमार्ग पुनःनिर्माण पश्चात दुई सय २५ मिटरलामो भएको जनाएको छ ।
–रासस
प्रतिक्रिया दिनुहोस