सुनसरी/ जाडो याम सुरु भएसँगै यहाँका केही महिलाले भक्का बिक्री सुरु गरेका छन् । जाडोमा भक्का बढी बिक्री हुने भएकाले घरखर्च जुटाउन सजिलो भएको उनीहरुको भनाइ छ ।
धरान उपमहानगर–१० का दिया राजधामी हरेक दिन विहान र बेलुका भक्का बिक्रीका लागि घर नजिकैको गल्लीमा पुग्नुहुन्छ । उहाँले भक्का बेच्न सुरु गर्नुभएको चार वर्ष भयो । कात्तिकदेखि फागुनसम्म भक्का बिक्री गर्ने गरेको र यसैबाट घरखर्च जुटाउने गरेको उहाँले सुनाउनुभयो ।
उहाँले भक्का प्रतिगोटा २० रुपैयाँका दरले बिक्री गर्नुहुन्छ । उहाँले भन्नुभयो, ‘भक्का बिक्रीबाट दैनिक तीन हजार पाँचसय रुपैयाँसम्म आम्दानी हुन्छ, मेहनतअनुसारको कमाइ छ, घर खर्चमा सहयोग पुगेको छ ।’
उहाँले हरेक दिन करिब सात केजी चामलको पिठोको भक्का बिक्री गर्दै आउनुभएको छ । उहाँका अनुसार स्थानीयहरु मर्निङ वाकदेखि नै भक्का खान झुम्मिन्छन् ।
धरान उपमहानगर–१७ का जितेन्द्र राईले आफू मर्निङ वाकमा जाँदा धेरै जसो भक्का खाने गरेको सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘भक्का पानीको बाफबाट कुनै रसायन प्रयोग नगरी बनाइएको हुन्छ, जुन स्वास्थ्यका लागि पनि राम्रो पनि हुन्छ, विहानको खाजाका लागि यो निकै राम्रो छ ।’
धरान उपमहानगर–१३ की विनिता राजधामीले पनि विगत आठ वर्षदेखि भक्का बेच्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जाडो सुरु भएपछि भक्कासँगै आलुचप पनि बिक्री गर्छु, धरान–१३ को जिरोप्वाइन्टदेखि पश्चिमतर्फको गल्लीमा दिउँसो ३ बजेदेखि राति ८ बजेसम्म भक्का बिक्री गर्ने दैनिकी जस्तै बनेको छ ।’
चामललाई केही समय पानीमा भिजाएर त्यसलाई पिसेर पिठो बनाएपछि भक्का बनाउनका लागि तयार हुन्छ । भक्का विशेष गरी दाउराको प्रयोग गरेर आगोमा बनाइने हुँदा दाउरा धेरै खपत हुन्छ ।
अहिलो एक भारी दाउराकै दुई सय रुपैयाँ पर्ने गरेको उहाँको भनाइ छ । एक भारी दाउराले १० दिन पुग्छ । सुरुका वर्षमा भक्का प्रतिगोटा ५ रुपैयाँमा बिक्री भए पनि अहिले प्रतिगोटा मूल्य २० रुपैयाँ पुगेको उहाँले सुनाउनुभयो ।
उहाँका अनुसार दैनिक औसतमा चार हजार रुपैयाँको भक्का र आलुचप बिक्री भइरहेको छ । जाडोमा अन्यत्र काम खोज्दै जानुभन्दा भक्का र आलुचप बिक्री गर्न सजिलो भएको उहाँको भनाइ छ ।
धरान उपमहानगर–१५ का सिमा राजधामीले भक्का बेचेर राम्रो आम्दानी हुने गरेको सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘जाडो याममा भक्काको व्यापार आम्दानीको राम्रो स्रोत बनेको छ, भक्का बेचेरै घरखर्च जुटिरहेको छ ।’ उहाँका अनुसार दैनिक पाँच केजी चामलको भक्का बिक्री भइरहेको छ ।
–रासस
प्रतिक्रिया दिनुहोस