२६ जेठ २०८२ सोमबार | 09 Jun 2025 Mon

असल सम्पत्ति

शनिवार साहित्य



  • आफ्नै खबर
  • १३ पुष २०८१ शनिबार (५ महिना अघि)
  • पाठक संख्या १७९
  •  कर्कश आइमाईका वाचाल शब्दहरूले निथ्रुक्क भिजेको ऊ तर्कहीन हुँदै गइरहेको थियो । अहिले पनि ऊ निरीह, मौन र उदास थियो । एकान्तको खोजिका लागि ऊ घरमाथि कौसीतिर लुरुलुरु उक्लियो । जति जति ऊ ती भर्याङ्गका खुट्किलाहरू उक्लदैँ जान्थ्यो त्यति नै आत्मग्लानीले उसलाई तलतल घिसारी रहेको थियो ।

    पवित्रा अधिकारी

    कुनैबेला शहरको नामी व्यापारी ऊ अहिले वर्चस्वहीन अवस्थाबाट गुज्रिरहेको थियो । उसले कमाएका प्रशस्त सम्पत्तिहरू अझै पनि यथावत नै थिए । बाहिरबाट हेर्दा ऊ निकै वैभवशाली र सुखी देखिन्थ्यो तर उसको जीवनभित्र आन्तरिक पिरलोको बुट्यान काँडासहितको आङ भएर ऊभित्र हुर्किएको पनि वर्षौं बितिसकेको थियो ।

    सधैंझैँ आज पनि ऊ त्यही कौसीमा गएर उभियो । जहाँ बेलाबखत गइरहन्थ्यो ।

    कौसीमा एकोहोरो हुँदै टहलिइरहेको उसलाई यतिबेला न त्यो महलको वास्ता थियो न करेसाबारीभन्दा परपरसम्म फैलिएको हरियाली बगैंचाको ।

    चिसो हावाको बहाव बढ्दै थियो तर पनि उसलाई तल ओर्लन मन लागेन । ऊ कौसीको एउटा कुइनेटोमा गएर उभियो । उसको भद्र अनुहारमा गहिरो उदासी व्याप्त थियो । एकतमास टोलाइरहको त्यो पुरुषहृदय अब भित्रभित्रै आफ्नोपनका लागि न्यास्रिँदै गएको थियो । उसलाई त्यो आफ्नो घर कुनै यातना गृहजस्तै लाग्न थालेको थियो । उसका आँखा रसाइरहेका थिए ।

    प्रौढारम्भ पिउँदै  गरेको त्यो पुरुषको गलाबाट हिक्क–हिक्कको आवाज बढ्दै थियो । लाग्थ्यो ऊभित्रको जागृत कोमल बालकको अनायास रोदन थियो त्यो । उसले आफ्नो त्यो रोदनलाई रोक्ने प्रयास ग¥यो तर सकेन । उसको परेलाभरि आँसुका थोपा टलपलाइरहेका थिए । उसले लामो श्वास फे¥यो र हत्केलाले पटक–पटक आँसु पुछ्न थाल्यो ।

    यसै क्रममा ऊ अनायासै झस्कियो । मानौं कसैले उसलाई हेरिरहेको थियो । उसले पर आकाशबाट एउटा सुनौलो आइमाई आशीर्वाद दिइरहेझैँ लाग्यो । ऊ कुदेर कौसीको पल्लो छेउमा पुग्यो । अनि आफ्नो दुवै हात उठाउँदै त्यो हत्केलालाई छुने प्रयास गर्यो तर केही क्षणमा नै त्यो आशीर्वाद हत्केला लुत्रुक्क झर्यो र खुम्चँदै क्षितिजको टाकुराबाट फुत्त हरायो ।

    त्यो डुब्दै गरेको घामको एउटा लामो धर्सो थियो जुन आकाशको किनाराबाट उठेको थियो । त्यो छायाँमा उसले आत्मिक आशीर्वादको महसुस गर्यो । ऊ द्रवित हुँदै गयो र त्यो अमूर्त भावसित पटक–पटक क्षमा याचना गर्दै रह्यो ।

     साँझ छिप्पिँदै जाँदा पनि ऊ निकैबेरसम्म एकान्तमा नै बसिरह्यो ।  त्यो रातको उसको निदाउने प्रयास पनि निरर्थक रह्यो ।

    बिहानी सूर्योदय हुनुअघि नै ऊ घरबाट निक्लियो । पिठ्युँमा झोला बोकेर हिँड्दै गरेको उसलाई फेरि त्यही कटुवचनले घोच्या । के–के सम्पत्ति लुकाएर राखेकी छिन् तिम्री आमाले सबै ल्याउनु नि । रित्तै आउने होइन !

    अव्यक्त ऊ पछाडि नफर्कि हिँड्यो । दुष्ट श्रीमती ढोकामा उभिएर फत्फताइरहेकी थिई । उसलाई सघाइरहेकी उसकी आमाको बोलीमा पनि उस्तै दुष्टता भरिएको थियो । लाग्थ्यो ती दुई दुष्ट आइमाईहरू सदियौंदखि संघारमा उभिएर पुरुषजातिको खेदो खन्दै थिए ।

    ऊ त्यही पुरुष थियो जसले आफ्नी श्रमतीको खुसीका लागि गाउँ छाडेर आएको थियो । सुरु सुरुमा ससुरालीमय घर निकै रमाइलो लाग्यो किनकि श्रीमती खुसी भइदिँदा लोने मान्छेको संसारै उज्यालो हुन्छ ।

     तन र धनले प्रशस्त रिझाउन सकुन्जेल श्रीमती, श्रीमतीको भूमिका निभाएझैँ गर्थी । ऊ फुर्की फुर्की दुःख गथ्र्यो र संग्रहित सम्पत्ति जति सबै श्रीमतीको नाममा थुपार्दै जान्थ्यो । ससुरालीतिरको आर्थिक भारलाई पनि उसले सजिलै उठाइ दिएको थियो ।

     तर जब ऊ प्रौढतातिर ढल्कियो, चुलिँदै गएको उसको कमाइ खस्कन थाल्यो । क्रमशः उसले श्रीमती र सासुआमाको दुष्ट्याँईको चरमताको बोध गर्न थाल्यो । ससुराली नजिकै भएको हुँदा सासुआमाले पनि छोरीको घरमा गतिलै डेरा जमाइसकेकी थिइन् ।

    जिद्दी श्रीमती र हेपाहा सासुआमाको व्यवहारले ऊ आजित भयो । केही प्रतिक्रिया गर्न खोजे ती दुई आइमाईका कटुताले फेरि पनि ऊ क्षतविक्षत हुन्थ्यो ।

    मावलीमय भएर हुर्किएका बच्चाहरू पनि आमाकै पछि लाग्थ्यो । घरमा चाडपर्व हुँदा सधैं ससुरालीतिरकै पाहुनाहरूको भीड लाग्थ्यो । आफ्नो घरतिरका त देख्न पनि प्रायः असम्भव नै हुन्थ्यो किनकि श्रीमती चाहन्नथी । त्यतिबेला उसलाई सम्बन्धहरूको भीडमा पनि अपनत्व हराएको महसुस हुन्थ्यो ।

     मन मारेर जीवन भोग्ने कलामा पारङ्गतझैँ देखिने त्यो पुरुष त्यतिबेला झन् दुःखी हुन्थ्यो जब हृदयको आँखाले आफ्नो अतीतलाई टुलुटुलु हेथ्र्यो ।

    आफ्नो छुट्टै सुखी गृहस्थीको आशालतामा फैलिँदै वर्षौ पहिले गाउँमा आमालाई एक्लै छाडेर ऊ शहर पसेको थियो । आफ्नी प्रेमिकाको लागि, श्रीमतीका लागि, जीवनसंगिनीका लागि । तर ऊ त मात्र सुख सुविधा र आफ्नो मनोमानी इच्छापूर्तिका लागि जन्मिएकी जिद्दी आइमाई थिई । उसलाई परिवार, कर्तव्य र धर्मको कुनै मतलब नै थिएन । आज ऊ स्वयम्मा नै प्रश्न गर्दै थियो । उसले कुन पर्दापछाडि आफ्नो विवेक गुमाएको थियो ? प्रेम र यौवनले अन्धो बनाएको जीवनको कुनै एक समय ! ऊ अत्यन्त मार्मिक भयो ।

    श्रीमतीसितको प्रेमालापको हृदयकुसुम सुक्दै गएपछि वर्षौं बिर्सिएर पनि उसले आज आफ्नी आमालाई सम्झिँदै थियो ।

    अहिले ऊ आफ्नो दुर्गम गाउँमा पुगिसकेको थियो । उसले परबाट नै आफ्नो घर देख्यो । उसका आँखा रसाउन थाले । उसको त्यो घर धुरीको एक छेउबाट मलिनु सूर्यले उसलाई नै चिहाइरहेको थियो । पुनः उसले महसुस ग¥यो तिनै घामका धर्साहरू फेरि आर्शिवादको हत्केलाझैँ बनेर उठे । ऊ भावुक भयो । अब मातृत्व बोधरूपी त्यो आकृति सिर्फ घाम भएर चारैतिर फैलियो ।

    हिँड्दै गर्दा उसले आफ्नो जुत्ता खोल्यो र खाली खुट्टाले त्यो गोरेटोलाई टेक्यो । गोरेटोको परिचित स्पर्शले हो वा पैतालाका आँतले उसले असीम तृप्ति महसुस ग¥यो । माथि आकाशतिर मुन्टो फर्कायो र लामो श्वास फे¥यो ।

     ऊ त्यही गोरेटो हुँदै सुस्तरी घरको आँगनको डिलमा पुगेर टक्क अडियो ।  तर घर आँगन सबैले विस्मयका साथ सोधे, किन आइस् ?

    अव्यक्त ऊ मौन रह्यो ।

    उसले चारैतिर हेर्यो । बच्चामा पिङ खेल्दा मच्चिएको अम्बाको रुखले उसको स्वागतमा कुनै पातसमेत हल्लाएन । लुकामारी खेल्दा लुकेको तल्लोबारीको बाँसको झाङ्गले पनि उसलाई नदेखेझैँ गरी उधोमुन्टो लगाएर उभिरह्यो । आँगनको डिलमुनिबाट बगेको कुलोले पनि उसको कुनै वास्तै नगरी लुसुलुसु बगिरह्यो ।

    लिपपोत गरेको तुलसीको मोठमा आमाले दियो घुमाउँदा ऊ रमाएर घण्ट बजाउँथ्यो तर आज त्यहाँ शुन्यतामात्र व्याप्त थियो । आधाआधी भत्किएको त्यो तुलसीको मोठले पनि उसलाई अनास्थाले हेर्दै थियो ।

    ऊ गोठमा गएर उभियो त्यहाँ गाईको किलो रित्तै थियो । जसका साना बाच्छा बाच्छीसँग ऊ खुब रमाएर खेल्ने गथ्र्यो । ऊ भावुक हुँदै गयो । उसले फेरिफेरि पनि वरपरका वनपाखालाई हे¥यो । तर कसैले पनि उसका लागि आत्मीय हाँसो हाँसेनन् आज । ती सबै मिलेर उसको बाल्यकाललाई हुर्काएका थिए । आजको सक्षम मान्छे बन्न सारथीका रूपमा काम गरेका थिए । स्वार्थी मान्छे सारथी बदल्दै हिँड्छ, साँगुरिएको बहानामा रथ पल्टाएर हिँड्छ तर जब एकदिन जीवनमा ठक्कर खाएर फर्कन्छ न त्यहाँ रथ आफ्नो हुन्छ न सारथी । 

    केहीबेर घर बाहिर अल्मलिएपछि कुनै अपराधीझैँ दैलो उघारेर ऊ आफ्नै घरभित्र पस्यो । अलिनो हाँसो हाँस्यो त्यो शून्य घरले । सबैभन्दा पहिला उसले देख्यो आमाको थोत्रो चोलो, मजेत्रो, धोती र पटुकी भित्ताको डोरीमा झुण्डिरहेको थियो ।

    घरका भित्तामा लिउनका पत्रहरू पटपट फुटेर झरेका थिए । लिस्नुमुनि बाख्राका सुकेका बड्कौलाहरू छरिएको थियो ।

    हरचिजसित ऊ नितान्त परिचित थियो । लाग्थ्यो ती सबै चिजहरूले पनि उसलाई नै हेरिरहेका  थिए । बेचैन ऊ निकै भोकाएको थियो । अनायाश उसले चुल्होमाथिको तखातामा हे¥यो जहाँ बाल्यकालमा आमाले खाजा राखिदिएकी हुन्थिन् । आज आमाविहीन त्यो तखाता पनि रित्तै थियो ।

      उसलाई भित्रभित्रै असह्य छट्पटी भयो । आफ्नो मुख तालु सुकेजस्तै भयो । ऊ मूलथाममा अडेसा लाग्दै धुलाम्मे भुइँमा थुचुक्क बस्यो । रित्तो गाग्री नजिकै एउटा लोटा ढलिरहेको थियो । ऊ झन्झन् व्यथित हुँदै गयो र आफ्नो मुन्टो माथितिर फर्कायो ।

    वर्षौं अघिदेखिको धुवाँको कालो दलानभरि पोतिएको थियो । त्यो कालाम्य दलान पनि लाग्थ्यो उसित ठुस्किएको थियो । अँगेनुबाट उडेको धुवाँले उसको बाल्यकालको हर कथालाई देखेको थियो । एक्ली आमाको तातो आँसुका कयौं थोपालाई स्पर्श गरेको थियो । बुढेसकालमा असहाय भई तड्पितड्पि मरेकी बुढी आमाको पीडालाई पनि देखेको थियो । सानो गृहस्थीभित्र जेजति जीवनका पलहरू घटित भए सायद त्यो सबैको साक्षी थियो ।

    उसले अब आँखा भुइँतिर झुकायो सायद ऊ स्वयमसित पनि लज्जित भइरहेको थियो ।

    ढोकाको कुनामा कोदालोसँगै सानो कुटो पनि थियो जुन कुटो लिएर ऊ आमासँगै बारीमा जान्थ्यो । जमिन खोस्रँदै जीवनमा फल्ने फुल्ने ठूला ठूला सपनाहरू देख्थ्यो । त्यहाँ उसका कयौं प्रियतम वस्तुहरू वरिपरि थिए । तर उसले कुनै पनि चिजहरूलाई सहजै स्पर्श गर्न सकेन । लाग्थ्यो ती सबै चिजहरू उसको अतीतको समाधि बनेर बसेका थिए ।

    ऊ निकैबेर पछि त्यहाँबाट उठ्न खोज्यो । उसले फेरि आँखा चारैतिर घुमायो । भित्तामा झुण्डिएको आमाको पटुकाको फेरले सन्दुकलाई छोइरहेको थियो । जुन सन्दुकमा खिया लागेका पुरानो ताल्चा झुण्डिएको थियो ।

    उसले चुल्होको गाला नजिकै सिलौटाबाट छुट्टिएर भुइँमा लडिरहेको सानो लौरो उठाएर सन्दुकको ताल्चा तोड्दै त्यो सन्दुक खोल्यो । उसले त्यहाँ धेरै दिनदेखि हराएको अपनत्व भेटेझैँ महसुस ग¥यो । आमाको त्यस सन्दुक खोलेर हेर्दा देख्यो –

    आफ्ना साना साना लुगा, टुटेफुटेका खेलौना, कलम समाउन सिक्दा जथाभावी कोरेका अमूर्त चित्रहरू, विजोडी साना जुत्ता, आमाको धोतीको टालो, थाङ्ना,सानो खुत्रुक्के । ऊ साह्रै मार्मिक भयो । उसले आफ्नो बालापन भेट्यो । सानो विजोडी जुत्ता उठाएर आफ्नो पैतालामा नाप्यो अनि आफ्नो साना लुगा शरीरमा । धुलाम्य खुत्रुक्के उठायो र सम्झ्यो यो भरी पैसा भएपछि म आमालाई सुखले पाल्छु ल । सहस्र श्रृंगार पुछिएकी उदास मुहारमा आफ्नो बालकको तोतेबोली सुनेर ममतामयी आमा मुस्कुराएकी थिइन् ।

    उसको हातबाट एकाएक त्यो खुत्रुक्के भुइँमा झ¥यो र फुट्यो । फुटेका खुत्रुक्केको छरपस्ट चोइटाहरू पनि लाग्यो ती माटो नभएर वाचापत्रहरू थिए जुन च्यातिएर छरपस्ट भए ।

    खुत्रुक्के फुट्दा झरेका ती धुलाम्य दुईचार सिक्का पैसा अलिपरसम्म गुड्दै गए । अनि रोकिएर थुचुक्क भुइँमा पल्टिइँदै एकतमास उसलाई नै हेरिरहे ।

    धनी र सुखी बन्न हिँडेको ऊ, आज उसले जीवनमा ठूलो सम्पत्ति भेट्यो । शाश्वत प्रेम भेट्यो । टुटेफुटेका खेलौनासँग खेल्यो जुन खेलौनाको रहर पुर्याउन एकल आमाले मेला र पर्म धाएकी थिइन् । ऊ भावविह्वल हुँदै गयो र सन्दुकबाट मुरली झिक्यो अनि बजाउन थाल्यो । जुन धुनमा मिसिएर निक्लँदै फैलियो – आमा, आमा, आ . . . आ . . . !

    मुरलीबाट तपतप आँसु चुहिएर थाङ्ना भिज्दै थियो ।