२४ बैशाख २०८२ बुधबार | 07 May 2025 Wed

भैँसीपालनमा रमाउँदै इन्जिनियर घोरासैनी



  • मणिराज गौतम
  • ११ पुष २०८१ बिहिबार (४ महिना अघि)
  • पाठक संख्या १११
  • मकवानपुर/  हेटौँडा–६ निवासी कृष्णप्रसाद घोरासैनी खाडी मुलुकबाट फर्किएर चार वर्षदेखि भैँसीपालन पेशामा रमाउँदै आउनुभएको छ । युवा पुस्तालाई चुनौती दिँदै उहाँ भैँसीपालनमा सक्रिय हुनुहुन्छ । 

    घोरासैनीको दैनिकी झिसमिसे बिहान उठेदेखि साँझसम्म गोठमै बित्ने गर्दछ । उमेरले ५० वर्ष टेक्न लागेका उहाँ अहिले पनि भैँसी गोठमा हुने सबै कार्यमा सक्रिय हुनुहुन्छ । बिहानको गोठधन्दा सकेर दूधको क्यान बोक्दै स्थानीय खुवा बजार चुच्चेखोलामा भेटिनुभएका घोरासैनी कृषि पशुपालन पेशाबाट सन्तुष्ट देखिनुहुन्छ ।

    यस पेशालाई हेर्ने दृष्टिकोण सकारात्मक नपाए पनि विदेशमा पसिना बगाउनुभन्दा स्वदेशमै केही गरौं भन्ने उद्देश्यले पशुपालनमा लागेको उहाँले सुनाउनुभयो । शुरुमा नेपाल आए पनि के काम गर्ने भनेर अलमल परेका उहाँ साथीभाइ आफन्तसँगको सल्लाहमा नमुना कार्य गर्ने भन्दै यस पेशामा आकर्षित भएको बताउनुहुन्छ । 

    सत्र वर्षको वैदेशिक रोजगारीपछि हेटौँडामा पुर्खौली १५ कठ्ठा जमिनमा फार्म निर्माण गरी पशुपालनमा सक्रिय रहनुभएका घोरासैनी कृषिमा देखिएको सम्भावनालाई चरितार्थ गर्ने सोचमा हुनुहुन्छ । 

    उहाँ २०५९ सालपछि साउदी अरब, युएई, कतारलगायतका देशहरुमा रोजगारीको सिलसिलामा पुग्नुभएको थियो । लामो समय विदेश बस्दा सन्तुष्टि नमिलेपछि २०७७ सालमा उहाँ स्वदेशमै कृषि तथा पशुपालन क्षेत्रमा केही गर्ने सोच बोकेर फर्कनुभयो । 

    औद्योगिक वातावरण स्वास्थ्य र सुरक्षा विषयमा स्नातक तहमा इन्जिनियरिङ अध्ययन गर्नुभएका घोरासैनीले नेपालमा तत्कालीन जिल्ला विकास समिति मकवानपुर, रुकुमलगायतका जिल्लामा तथा चमेलिया–दार्चुला सडक खण्डको गुणस्तर निर्धारक भएर पाँच वर्ष काम गर्नुभएको थियो । 

    तत्कालीन समयमा मुलुकमा जारी सशस्त्र युद्धका कारण काम गर्ने अवस्था नभएपछि उहाँले विदेश जानुको विकल्प देख्नु भएन । उहाँले भन्नुभयो, ‘त्यसबेलाको कुरा गर्दा पनि आँशु आउछ, स्वेदेशमै केही गर्छु भनेर सरकारी सेवा गरेको थिएँ तर काम गर्ने वातावरण नबनेपछि बाध्य भएर विदेसिनुपर्यो ।’

    अध्ययनमा लगानी गरेअनुसारको कमाई पनि नेपालमा देखिएन, अनि देशको अवस्था पनि राम्रो नभएको र ज्यान जोगाउनै भए पनि वैदेशिक यात्रामा लाग्नु बाध्यता बनेको उहाँ सुनाउनुहन्छ । सत्र वर्ष विदेश बस्दा पैसा कमाए पनि देशप्रतिको मोहले उहाँलाई छाडेन । 

    स्वदेशमै केही गरौं भन्ने उद्देश्यले गाउँ फर्कनुभएका उहाँले अन्ततः पशुपालन व्यवसाय रोज्न पुग्नुभयो । उहाँले २०७७ सालदेखि गाई तथा भैँसीपालनलाई पेशागत रुपमा थालनी गर्नुभयो । यससँगै माछापालन पनि गर्नुभयो ।

    हेटौँडा–१७ गैरीगाउँमा पुर्खौली जमिनमा १३ वटा गाई र सात वटा भैँसीपालनबाट यस पेशालाई शुरु गर्नुभएको उहाँले उतिबेला सोचेजस्तो आम्दानी पाउनुभएन । ठूलो लगानीमा होमिएका उहाँले सरकारीस्तरबाट पनि खासै सहयोग नपाएको गुनासो गर्नुभयो । 

    युवालाई नेपालमै स्वरोजगारमूलक नीति ल्याउन राज्यले काम गर्न खोज्ने युवालाई झन्झटिलो प्रक्रियामा गाँजेपछि घोरासैनीको मनमा चिसो पस्यो । त्यतिबेला देशमा गाईपालनको पेशामा धेरै जनाको आकर्षण बढे पनि गाईबाट उत्पादित दूध बिक्री सुस्न भएकोले लगभग एक वर्ष उहाँले घाटामै फार्म सञ्चालन गर्नुभयो । 

    स्थानीय खुवा बजारमा भैँसीको दूध आवश्यक देखेपछि आफू भैँसीपालनतर्फ आकर्षित भएको उहाँले बताउनुभयो । दूध बिक्रीमा कुनै समस्या नभएका उहाँको भनाइ छ ।  

    ‘उद्यम गरौँ, उद्यमी बनौँ’ भन्ने सोचका साथ करिब डेढ करोड रुपैयाँको लगानीबाट उहाँँले जैमिनी एग्रोफार्म कम्पनी प्रालिमार्फत पशुपालन हात हाल्नुभएको हो । स्थानीय बजारमा गुणस्तरीय दूधको आपूर्ति गर्ने सोच बोकेर रोजगार तथा स्वरोजगार, उद्यमशीलताको नमूना बन्ने र कृषिमा देखिएको सम्भावनालाई युवा पुस्तामाझ आकर्षित गर्ने उद्देश्यले पेशामा होमिएको उहाँको भनाइ छ । 

    बजारको माग धान्न अब भैँसीको संख्यालाई सयको हाराहारीमा पु¥याउने उहाँको सोच छ । भैँसीको संख्या बढाएर अझ फार्मलाई बृहत बनाउने सोच रहे पनि लगानीको अभावमा व्यवसाय विस्तार गर्न नसकेको उहाँको भनाइ छ । अनेक कागजी झन्झटका कारण सरकारी अनुदान नलिए पनि सहुलियत कर्जामा उहाँले यस पेशालाई निरन्तरता दिँदै आउनुभएको छ ।  

    खुवाका लागि ‘हव’ बन्दै  गएको हेटौँडा–६ चुच्चेखोला घोरासैनीको फार्मबाट उत्पादित दूध आपूर्ति हुने मुख्य स्थान होे । शुरुमा भैँसीभन्दा गाईको संख्या बढी भएकाले गाईको दूध खुवा उत्पादनमा उति बिक्री नभएपछि उहाँले भैँसीको संख्यालाई बढाउँदै लैजानुभयो । 

    घोरासैनीको फार्मबाट हाल ४५ वटा भैँसीबाट दैनिक दुई सय ५० लिटर दूध उत्पादन हुने गर्दछ । उहाँले उत्पादित दूध स्थानीय खुवा बजारमा खपत भइरहेको बताउनुभयो । चार वर्षको अनुभवमा घोरासैनीले यस पेशाप्रति आफू सन्तुष्ट रहेको बताउनुभयो । 

    दूध विक्रीबाट मासिक आठ लाख ५० हजार रुपैयाँ आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ । पशु आहार, कर्मचारी व्यवस्थापनमा मासिक सात लाख खर्च हुने गरेको उहाँको भनाइ छ । उहाँको फर्ममा अन्य पाँच जनाले रोजगारी पनि पाएका छन् । 

    गाउँमा युवाहरुको विदेश मोहका कारण कामदारको अभावले निकै समस्या परेको उहाँ सुनाउनुहुन्छ । बजारमा सन्तुलित पशुआहार अभाव, अस्वाभाविक मूल्य वृद्धिले पनि व्यवसायबाट सोचेअनुसार प्रतिफल लिन नसकिएको उहाँ बताउनुहुन्छ । 

    घोरासैनीले १० कठ्ठा जग्गामा माछापोखरी बनाएर माछापालन व्यवसायलाई पनि सँगै लैजानुभएको छ । उहाँले तीन लाख रुपैयाँ खर्चेर पोखरी निर्माण गरी त्यसमा विभिन्न प्रजातिका एक हजार माछाका भुरा हाल्नुभएको छ । पोखरीमा रउ, कमनकार्प, बिग्रेड, ग्रासकार्पलगायतका प्रजातिका माछा रहेका छन् । 

    माछापालनबाट पनि वार्षिक एक लाख रुपैयाँ कमाई गर्ने गरेको बताउनुभयो । नेपालमा जे काम गरे पनि राम्रै आम्दानी गर्न सकिन्छ तर त्यसमा अनुसन्धान, मेहनत, बजार अध्ययन हुनुपर्छ, अरुको लैलै देखासिकीमा लागेर काम गर्दा सफलता पाउन गार्हो हुने उहाँको ठम्याइ छ । 

    कति छन् मकवानपुरमा पशु ?
    जिल्लामा एक लाख पन्ध्र हजार तीन सय ३८ भैँसीको संख्या रहेको पशुसेवा कार्यालय मकवानपुरका प्रमुख डा. ब्रजकिशोर ठाकुरले बताउनुभयो । उहाँका अनुसार ४६ हजार सात सय ३४ स्थानीय जातका भैँसी, ४९ हजार आठ सय ८३ वटा वर्णशङ्कर र १८ हजार सात सय २१ वटा उन्नत जातका भैँसीको तथ्याङ्क रहेको छ ।

    साथै, जिल्लामा स्थानीय जातका ४२ हजार दुई सय ८३, वर्णशङ्कर ५५ हजार एक सय ६७ र उन्नत जातका १३ हजार दुई सय ५५ गरी एक लाख नौ हजार सात सय पाँच वटा गाई रहेको बताइएको छ । 

    पशुपन्छी तथा मत्स्य उत्पादन कार्यालयको २०७९/८० को तथ्याङ्कअनुसार वार्षिक पाँच करोड २७ लाख लिटर दुध उत्पादन हुने गरेको छ । जिल्लामा सञ्चालित फार्ममध्ये दुई सय ५८ वटा कृषि तथा पशुपन्छीपालन फार्म पशुसेवा कार्यालयमा सूचीकृत भएका छन् भने ७४ वटा व्यावसायिक गाईपालन फार्म मात्रै सुचीकृत भएको डा. ठाकुरले बताउनुभयो ।

    –रासस