२८ बैशाख २०८२ आईतबार | 11 May 2025 Sun

दुई विद्यालयलाई प्रवासी नेपालीको कम्युटर सहयोग



  • आफ्नै खबर
  • १३ पुष २०८१ शनिबार (४ महिना अघि)
  • पाठक संख्या ५१
  • म्याग्दी/  प्रवासी नेपालीले म्याग्दीको दुई  विद्यालयलाई ६ लाख पचास हजार मूल्य बराबरको सूचना प्रविधिका सामग्री उपलब्ध गराएका छन् । 

    अमेरिकास्थित वाल्टिमोरमा बसोबास गर्ने नेपाली आवद्ध लायन्स क्लव अफ वाल्टिमोर नेप्लिजले बेनी नगरपालिका–८ कालिपुलको बालमन्दिर माध्यमिक र वडा नं. २ बगरफाँटको सरस्वती आधारभूत विद्यालयलाई कम्प्युटर उपलब्ध गराएका हुन् । 

    सरस्वती आधारभूत र बालमन्दिर माविको अवस्थाका विषयमा अमेरिकामा क्लवले आयोजना गरेको वृत्तचित्रको विशेष प्रर्दशनी ‘च्यारिटी सो’ मार्फत सहयोग जुटाएर सहयोग गरिएको लायन्स क्लव अफ बाल्टिमोरका अध्यक्ष बैकुण्ठमान श्रेष्ठले बताउनुभयो । 

    क्लवले नौ थान कम्प्युटर उपलब्ध गराएको बालमन्दिर माविमा इन्टरनेट जडान, पुराना कम्प्युटर र विद्युत मर्मत, रंगरोगन र सन्देशमुलक चित्र सहित पाँच लाख ५० हजार रुपैयाँ बराबरको सामग्री उपलब्ध गराएको छ । 

    सरस्वती आधारभूतलाई एक लाख रुपैयाँ बराबरको दुई थान कम्प्युटर र एक थान रंङ्गिन प्रिन्टर सहयोग गरेको छ । क्लवका अध्यक्ष श्रेष्ठले बेनी नगरपालिकाका प्रमुख सुरत केसी, बेनपा–८ का अध्यक्ष उत्तम कर्माचार्य मार्फत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रअलाई सामग्री हस्तान्तरण गर्नुभएको थियो । 

    यसैगरी सरस्वती आधारभूतको कक्षा ६ की छात्रा सृष्टि विकलाई ३० हजार रुपैयाँ र बालमन्दिर आधारभूतको कक्षा ८ का रिजन बिक र कक्षा ५ की सोनिया क्षेत्रीको पठनपाठनका लागि १५/१५ हजार रुपैयाँ सहयोग गरेको छ । 

    अमेरिकामा रहेका बालमन्दिर माविका पुर्व विद्यार्थी प्रेम चर्माकार र लायन्स क्लव अफ बेनी लभ्लिहिलको समन्वयमा विद्यालयलाई प्रविधीका सामग्री सहयोग गरिएको हो । कम्प्युटर र शैक्षिक सामग्रीले विद्यालयको पठनपाठन तथा प्रशासनिक काममा प्रबिधीको प्रयोग गर्न सहयोग पुगेको बालमन्दिर माविका प्रअ सुरेन्द्र केसीले बताउनुभयो ।

    –रासस