२४ बैशाख २०८२ बुधबार | 07 May 2025 Wed

व्यक्तिगत लगानीमा क्रिकेट प्रशिक्षण दिंदै कीर्तिपुर एकेडेमी



  • आफ्नै खबर
  •     (४ महिना अघि)
  • पाठक संख्या ९७
  • मोरङ/  एकाबिहानै मोरङको पथरी शनिश्चरे–७ स्थित कीर्तिपुरमा जनकल्याण माविको मैदानमा पुग्ने हो भने विद्यार्थी ब्याट र बलसँग रमाइरहेका हुन्छन् । जाडोको समय एकाबिहानै झिसमिसेमा उनीहरुको अभ्यासले ठुल्ठुलो आवाज आउँछ । 

    विद्यालयको मैदानमा भेला भएका उनीमध्ये कोही शारीरिक अभ्यासमा ब्यस्त हुन्छन् त कोही बलिङ र ब्याटिङमा । मैदानमा विद्यार्थीसँगै वरिपरि दौडिएर ‘फिल्डिङ’को अभ्यास गरिरहेको भेटिनुहुन्छ प्रशिक्षक राकेश राई । राईको सपना छ पथरी शनिश्चरेबाट राष्ट्रिय खेलाडी उत्पादन गर्ने । 

    क्रिकेट खेलमै जीवन बिताएका उहाँको सपनालाई साथ दिनुभयो कीर्तिपुर एकेडेमीका निर्देशक पुकार राईले । पुकार र राकेशको क्रिकेटप्रतिको लगावका कारण मोरङले प्रधानमन्त्री कप महिला लिगका लागि दुई खेलाडी पाएको छ ।

    दुई युवाले आफ्नै लगानीमा सुरु गरेको क्रिकेट प्रशिक्षणले विस्तारै गति लिँदै आएको छ । एकेडेमीले सुरु गरेको क्रिकेट प्रशिक्षणमा ४० भन्दा बढी विद्यार्थी नियमित प्रशिक्षण गर्दै आएका छन् । 

    १० वर्षदेखि १६ वर्षसम्मका १८ बालिका २२ बालक नियमित प्रशिक्षणमा सहभागी रहेका एकेडेमीका निर्देशक पुकार बताउनुहुन्छ । नियमित प्रशिक्षण गराइरहेको एकेडेमीले राष्ट्रियस्तरमा महिला क्रिकेट खेलाडी उत्पादनमा ठूलो सहयोग पुर्याउँदै आएको छ ।

    क्रिकेट र फुटबल खेलाडी उत्पादन गर्दै आएको कीर्तिपुरले जन्माएको खेलाडी हुन सरु लिम्बू । राष्ट्रिय महिला फुटबल खेलाडी उनी अहिले अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त फुटबल खेलाडी हुन् । महिला फुटबलको नियमित सदस्य उनी सशस्त्र प्रहरी क्लबमा आबद्ध भएकी छिन् । 

    फुटबलमात्र खेलाडी उत्पादन गरिराखेको कीर्तिपुरले अब अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी उत्पादन गर्न महिला क्रिकेट प्रशिक्षण सुरु गरेको छ । सरुजस्तै खेलाडीको उद्गमस्थल हो कीर्तिपुर ।

    पछिल्लोपटक प्रधानमन्त्री कप महिला क्रिकेटका लागि एकेडेमीका दुई जना खेलाडी मोरङ जिल्लाको बन्द प्रशिक्षणमा राखिएको छ । प्रशिक्षक राकेश भन्नुहुन्छ, ‘मोरङले प्रधानमन्त्री कप महिला लिगका लागि उक्त एकेडेमीका स्मारिका गौतम र शुभेक्षा लिम्बूलाई बन्द प्रशिक्षणमा रहनु भनेको हाम्रो सफलता हो ।’

    कीर्तिपुरको अभ्यासस्थलमा नियमित क्रिकेट अभ्यास गर्न पुगेका बालबालिका निकै फूर्तिका साथ खेलमैदानमा उत्रन्छन् ।  प्रशिक्षक राकेशले टिम बनाइदिनुहुन्छ र सोहीअनुसार आ–आफ्नो टिममा सहभागी भएर मैदानमा उत्रिन्छन् उनीहरू । 

    एकेडेमीमा खेलसँगै अनुशासन र जिम्मेवारी पनि सिकाइने प्रशिक्षक राकेश बताउनुहुन्छ । घरपरिवारमा के काम गर्ने, विद्यालय र साथीभाइसँग कस्तो व्यवहार गर्नेलगायत विषय पनि अनौपचारिक रूपमा सिकाउने गरिएको छ ।

    क्रिकेट क्षेत्रमा लामो समय बिताउनुभएका राकेश हालै ‘बेसिक लेभल’ प्रशिक्षक बन्नुभएको छ । उहाँले सिकेको सीप तथा कला आफ्नै गाउँका बालबालिकालाई प्रदान गरिरहनुभएको छ । 

    एकेडेमीकै अग्रसरतामा क्रिकेट खेलाडीका लागि ‘नेट प्रशिक्षण’ गर्न नेटसमेत बनाउन थालिएको छ । वडा कार्यालय ७ र ८ ले आर्थिक सहयोग गरेपछि पक्की क्रिजसहितको ‘नेट प्राक्टिस’ सम्भव भएको हो । पछिल्लो समय स्थानीय तहमा वडादेखि नगरस्तरीय प्रतियोगिता हुने गरेको र राष्ट्रिय खेलाडीसम्म पुग्ने माध्यम भएकाले यस्ता प्रशिक्षण फलदायी हुने प्रशिक्षक राईको बुझाइ छ ।

    एकेडेमीले गरिरहेको यो कार्यलाई नेपाल क्रिकेट फाउण्डेशनले सहयोग गरिरहेको छ । फाउण्डेशनले प्रशिक्षण गरिरहेका खेलाडीलाई खेल सामग्री सहयोग गरिरहेकाले एकेडेमी सञ्चालन गर्न सहज भएको छ । 

    क्रिकेटप्रतिको ‘क्रेज’ बढ्दै गर्दा अभिभावक पनि सकारात्मक बनेका छन् । क्रिकेट खेलेर छोरीले राष्ट्रकै नाम राख्नेमा विश्वस्त हुनुहुन्छ अभिभावक इन्द्र गौतम । यही एकेडेमीमा प्रशिक्षण गरेका खेलाडीले हालै इक्वालिटी कपमा सहभागी भएर उत्कृष्ट प्रदर्शन गरेपछि एकेडेमीको प्रभाव देखिन थालेको छ ।

    क्रिकेट विकासका लागि ‘ग्रासरुट’बाट स्वःस्फुर्त रूपमा सुरु भएको यस्ता एकेडेमीलाई राज्यले प्रोत्साहन गर्नुपर्ने देखिन्छ । खेलकुद सङ्घसंस्थाको नजरबाट टाढा रहेको उक्त एकेडेमीलाई स्थानीय सरकारले समेत चिन्न सकेको छैन ।

    –रासस