तनहुँ/ देवघाट गाउँपालिकाको श्री आदर्श शिक्षा माध्यमिक विद्यालयले राष्ट्रपति रनिङशिल्ड विजेता विद्यार्थीहरुलाई सम्मान गरेको छ । श्री कालिका मा.वि मा सञ्चालन भएको सातौं राष्ट्रपति रनिङशिल्ड विजेता विद्यार्थीहरुलाई उनिहरुको सफलताको निरन्तरताको कामना गर्दै सम्मान गरिएको हो ।
सम्मान कार्यक्रममा समग्र खेलको बारेमा ब्रिफिङ गर्दै प्रधानाध्यापक देउराम सारुले खेलमा सहभागी सम्पूर्ण विद्यार्थी तथा शिक्षकहरुलाई बधाई दिंदै खादा र टिका लगाइदिएका थिए । उक्त खेलमा ८ स्वर्ण, ५ कास्य र ३ रजत सहित १६ पदक प्राप्त गरी सहभागी सवै आठ वटा माध्यमिक विद्यालयहरुलाई पछाडि पार्दै विद्यालयले प्रथम स्थान हासिल गरेको थियो ।
कार्यक्रममा प्राधानाध्यापक सारुले भन्नुभयो, ‘भौगोलिक रुपमा सहज तथा अन्य सेवा सुविधा सम्पन्न विद्यालयहरुलाई पनि उछिन्दै आफ्ना विद्यार्थीहरुले उत्कृष्ट खेल प्रदर्शन गरेको र विगतमा कायम गरेको स्थानलाई यस बर्ष पनि कायम राख्न सफल भएकोमा सम्पुर्ण विद्यालय परिवार गौरवान्वित छ । आगामी दिनमा यस विरासतलाई जोगाइ राख्नुहुनेमा म विश्वस्त छु ।’
पदक प्राप्त गर्ने विद्यार्थीहरुलाई विद्यालयको बाषिकोत्सब कार्यक्रममा आमा बुवा तथा धेरै दर्शकको माझमा नगद पुरस्कार प्रदान गर्ने बचनवद्धता उहाँले दोहोर्याउनु भयो । विद्यालय व्यवस्थापन समिति. प्रतिनिधिको तर्फवाट खुशी व्यक्त गर्दै शिक्षक शेर बहादुर मल्लले विद्यार्थी खेलाडीहरुलाई तीन हजार रुपैयाँ प्रदान गर्नु भयो ।
उहाँले विद्यार्थीहरुले खेल जितेकोमा हर्षको आँशु आएको पटक पटक दोहोर्याउदै यस सफलतालाई कायम राख्न शुभकामना व्यक्त गर्नु भयो ।
कार्यक्रममा सहायक प्रधान अध्यापक हेमराज श्रेष्ठले आफ्ना विद्यार्थीहरु देवघाट गा.पा.भरीमा नै अब्बल भएको दावी गर्नु भयो र यस सफलतालाई आउँदा वर्षहरुमा पनि दोहोर्याउने कुरामा आफु विश्वस्त रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस