२६ जेठ २०८२ सोमबार | 09 Jun 2025 Mon

राजधनेसको गुँड

शनिवार साहित्य



  • आफ्नै खबर
  • २० पुष २०८१ शनिबार (५ महिना अघि)
  • पाठक संख्या २३०
  • ‘क्वाक् क्वाक्, क्वाक् क्वाक्’ राजधनेस भुर्र उडेर रुखको डालीमा बस्यो । 

    तेजप्रकाश श्रेष्ठ

    पल्याकपुलुक यताउति हेर्यो । आफ्नो सुनौलो चुच्चो हल्लायो । चुच्चामै जोडिएको शिरको लाम्चो फलामे टोपीजस्तो जुरो पनि हल्लियो । हल्का पहेँलो र कालो रङको सुनौला जुरो साँच्चै श्रीपेच जस्तै देखिन्थ्यो । 

    हो त....
    सबैले उसलाई श्रीपेच लाउने जङ्गलको राजा भन्थे ।  

    ‘क्वाक् क्वाक्’, उसले आफ्नी प्यारी पोथीलाई ठुलो स्वरले बोलायो ।

    ‘किन चिच्याएको ? के भयो ? कक् कक् !’ पोथी राजधनेस भुर्र उडेर आइपुगिन् । 

    जङ्गलमा अरू चराचुरुङ्गीहरू पनि फर्याकफुरुक गरिरहेका थिए । कालिज, लुइँचे, सिमकुखुरा, सुँगाहरूको चिरचिर गुन्जिरहेको थियो । मृग, हरिण, खरायोहरू यताउता दौडिरहेका थिए । बाघ, भालु पनि फाट्टफुट्ट देखिन्थे । 

    जङ्गलको वातावरण रमाइलो थियो । 

    ‘त्यसै ! तिमी कता छौ भनेर खोजेको नि !’ राजधनेसले माया दर्शायो ।

    ‘छि ! तिमी त । जहिले पनि जिस्किरहने । अरुले तिमीलाई त्यसै भनेका हुन् र ! जोइटिङ्ग्रे । मलाई मन पर्दैन यस्तो चेपारो’, पोथी राजधनेस ठुस्किइन् । 

    ‘अरुले जे भनोस् मलाई के वास्ता ! म आफ्नी पोथीलाई माया नगरुँ त ! माया गर्नु पनि जोइटिङ्ग्रे हुन्छ र कतै ? यो त पतिधर्म हो । भाले (पति)ले पोथी (पत्नी)लाई र पोथीले भालेलाई माया र हेरचाह गर्नु नराम्रो हो र ? यो त गौरवको कुरा हो ! बुझ्नु पर्छ सबैले ।’ राजधनेसले आफ्नो सुनौलो चुच्चो पोथीको चुच्चोमा जोड्न खोज्दै पण्डित्याई छाँट्यो । 

    ‘भो भो ! जाऊ उता । मेरो अण्डा (फुल) पार्ने बेला भइसक्यो । तिमीलाई खै र वास्ता । वर्खा सकिन लागिसक्यो । अहिलेसम्म हामीले गुँड पनि बनाउन सकेका छैनौँ । कहाँ अण्डा पार्ने, कहाँ बचेरा कोरल्ने खै ?’ पोथी धनेसले गलाको सेतो गलबन्दी मिलाउँदै असन्तुष्टिका पुन्तरा फुकाइन् । 

    ‘हो हगि ! जाऔँ जाऔँ गुँड बनाउने ठाउँ खोजिहालौँ ।’ आफ्नो ठुलो जिउ उचाल्दै राजधनेस भुर्र उड्यो । मानौं उसले दिव्य व्यवहारिक ज्ञान प्राप्त गर्यो । 

    प्याजी रङको परेला झिम्काउँदै पोथी पनि उडिन् । 

    ‘अलि होस् पुर्याएर उड । तिमी साह्रै थसुल्ले छौ । करिव सय सेन्टीमिटर लामो र चार किलोग्रामको जिउ उडाउन गाह्रै हुन्छ । म त तिमीभन्दा केही कम थसुल्ली छु । सजिलै उड्न सक्छु ।’

    लामो पुच्छर हल्लाउँदै पोथी धनेसले आफ्नो शरिर फुर्तिलो भएको दावी गर्न भ्याइहालिन् ।  

    ‘लौ लौ चिन्ता नगर । म उड्न सकिहाल्छु नि । यी मेरा पखेटा र लामो पुच्छरले मलाई उड्न सघाएकै छन् । बरु हेर, कतै गुँड बनाउन राम्रो ठाउँ भेट्टिइ हाल्छ कि ?’ राजधनेसले आफ्नो क्षमताको वखान गर्दै सम्झौताको बाटो खोज्यो । 

    उनीहरू उड्दै उड्दै वनजङ्गल चाहार्न थाले । 

    ‘आम्मै ! वन त कति पातलिई सकेछ । ठुल्ठुला रुखहरू त देखिनै छोड्यो है । सबै ठुला रुखहरू काटी सकेछन् । मानिसहरू पनि के भएका ? वनजङ्गल विनाश गर्न किन तम्सिएका होलान् । वनजङ्गल मासिएपछि आफैंलाई हानी नोक्सानी हुने कुरा किन भुल्छन् । हामीजस्ता चराचुरुङ्गी र जीवजन्तुलाई त बाँच्नै गार्हो भइसक्यो । घरवारै उठिवास हुनथाल्यो ।’

    राजधनेसले उड्दाउड्दै वन, वातावरण, आफ्नो आवास र मान्छेको अज्ञानताप्रती एकैपटक चिन्ता व्यक्त गर्यो । 

    ‘त्यै त ! के भएका हुन् मान्छे भनाउँदा जन्तुहरू । आफ्नो विनाश आफैं निम्त्याउँदै छन् । वनजङ्गल सखाप पार्दै छन् । आफ्नो खुट्टामा आफैं बन्चरो चलाउँदै छन् । वनजङ्गल नासेपछि के नै बाँकी रहँदो हो । सुख्खा र उजाड मरुभूमि ? दिक्क लाग्छ ।’ आफ्नै भविष्यको वारेमा पाँचतारेमा भाषण छाँट्नेको भन्दा राम्रोसंग थाकेको स्वरमा चिन्ता पोखिन् पोथी धनेसले । 

    ‘लौ, उः त्यो रुखको डालीमा बसौँ एकछिन । थकाइ पनि लाग्यो । यता कतै गुँड बनाउने टोड्को भेट्टिइ हालिन्छ कि ? यहाँ केही बाक्लो जङ्गल देखियो, ठुलाठुला सालका रुख पनि होलान् कि ।’ थकित र आशावादी स्वरमा राजधनेसले भन्यो ।

    दुवै भालेपोथी एउटा रुखको हाँगामा बस्न पुगे ।

    सुस्ताउँदै चारैतिर नजर डुलाउँदा उनीहरूले केही पर एउटा ठुलो र बुढो रुख देखे । उनीहरूको मनमा आशा पलायो । भुर्र उडेर त्यही रुखमा पुगे । 

    ‘उः त्यता  हेर त ! त्यो टोड्का जस्तो छ । हामीलाई काम लागिहाल्छ कि ?’ पोथी धनेस आसावादी वनिन् । 

    ‘आहा ! गज्जब ! हामीलाई ठिक्कको रहेछ । तिमी र हाम्रा बचेराहरू मज्जाले अटाउँन सक्नेछौ । यहीँ बनाऔँ गुँड । हुँदैन त प्यारी ?’ हल्का निलो, सेतो र रातो आँखा सन्काउँदै राजधनेसले आग्रह र निर्णय एकैपटक गर्यो ।  

    दुवै मिलेर टोड्का सफा गरे । तुरुन्तै गुँड बनाउन सुरु गरिहाले । सुकेका झारपात ल्याएर टोड्काभित्र बिछ्याए । बचेराहरूसहित पोथी धनेस मज्जाले अटाउने ठाउँ बन्यो । 

    पोथी धनेसले अण्डा पार्ने सुरसार गरिहालिन् । उनी गुँडमा गुट्मुटिएर बसिन् । राजधनेसले हिलोमाटो र सुकेका झारपात ल्याएर टोड्काको प्वाल थुन्न थाल्यो । भित्रबाट पोथी धनेसले आफ्नै बिष्टाले टोड्काको प्वाल टाल्दै लिपपोत गर्न थालिन् । दुबै भालेपोथी मिलेर टोड्काको प्वाल ट्याम्मै टाले । 

    बाहिरबाट राजधनेसले रुखकै रङको हिलोमाटोले पोतिदियो । पोथी र बचेरालाई सास फेर्न र चारा ख्वाउन एउटा सानो प्वाल भने बाँकी राख्यो । 

    अब पोथी न बाहिर आउन सक्ने भइन् न त भाले वा अरु कोही भित्र पस्न सक्ने भए । पोथी पूरै गुँडमा थुनिइन् । कसैले पनि त्यहाँ गुँड छ भन्ने चालै पाउन नसक्ने भयो । 

    पोथीले भित्र अण्डा पारिन् । भाले राजधनेस पनि खुसी थियो । ऊ दिन रात गुँडको छेवैँमा पहरा बस्न थाल्यो । बेला बेलामा चारा खोज्न जान्थ्यो । 

    कहिले थरीथरीका फलफूल, झारपात ल्याएर पोथीलाई क्वाक् क्वाक् गर्दै बोलाउँथ्यो र सानो प्वालबाट चारा दिन्थ्यो । कहिले ससाना किराफट्याङ्ग्रा, मुसा, माउसुली आदि पनि ल्याउने गथ्र्यो ।

    दुई हप्तापछि गुँडभित्रबाट आएको चिँचिँ च्याँच्याँको आवाजले राजधनेस प्रफुल्ल भयो । अण्डाबाट बचेरा कोरलिएछन् । राजधनेसले मिठामिठा चारा खोजेर पोथी र बचेराहरूलाई ख्वाउन थाल्यो । उसले आफूले नखाएर पनि पोथी र बचेराहरूलाई खान दिन्थ्यो । 

    वनजङ्गल मासिएकोले चारा पाउन ज्यादै गार्हो भयो । चारा खोज्न उ धेरैतिर भौतारिन्थ्यो । कहिले घोडाघोडी ताल त कहिले बन्दा तालसम्म पुग्थ्यो । पोसिलो र मिठो चारा खोजेर ल्याउँथ्यो । उसलाई चारा खोज्न कहिलेकहीँ त दिनभर लाग्थ्यो । तैपनि गतिलो चारा भेट्दैनथ्यो । 

    त्यतिबेला उसमा एक असल पिताको छटपटी प्रष्ट देखिन्थ्यो ।  

    एकपटक त झन्डै मारिएको । ऊ चारा खोजेर फर्कँदै थियो । एउटा सिकारीले उसलाई देखेर बन्दुक ताकिहाल्यो । भाग्यले बन्दुक पड्कनुभन्दा पहिले नै ऊ वेगले हुत्तिएर झ्याङ्मा छेलिन पुग्यो र बाँच्यो । 

    यदि ऊ त्यतिबेला मारिएको भए ? बिचरा पोथी र बचेराहरू गुँडमै थुनिएर खानै नपाएर मर्ने थिए । कसैले चालै पाउँदैनथे । सम्झने वित्तिकै उसको शरिर थरर्र काँप्यो ।

    ऊ बाँच्यो । पोथी र बचेराहरू पनि बाँचे । तर सधैँ यस्तो संयोग कहाँ पाउनु र । उसका धेरै आफन्तहरू यस्तै कारणले नासिँदै गएका छन् । 

    कसैलाई सर्प वा गिद्धले मारेका छन् त कसैलाई सिकारीहरूले । कोही हावापानी र वासस्थानको कमीले नासिएका छन् । 

    त्यसैले ऊ पिरोलिन्थ्यो । उसलाई आफ्नो वंशै नास होला कि भन्ने त्रास छ । अतः ऊ जसरी भए पनि आफ्ना बचेरा हुर्काउन चाहन्छ, बचाउन चाहन्छ ।

    ऊ सतर्क बनिरह्यो, गुँडभित्रै बचेराहरू हुर्काउन । ऊ गुँडमा पहरा दिन्थ्यो । दिलोज्यानले चारा खोज्थ्यो । पोथी र बचेरालाई खान दिन्थ्यो । उसको दैनिकी यसरी नै बितिरहेको थियो । 

    पोथी गुँडमा थुनिएको चालिसौँ दिनमा गुँडको ढक्कन प्वाट्ट फुट्यो । राजधनेसको हर्षको सिमा थिएन । उसले त्यो फुटेको ठाउँमा ठुलो प्वाल बनाइदियो । 

    ससाना दुईटा बचेराहरू गुँडमा चल्मलाई रहेका थिए । भोकले च्याँच्याँ गर्दै मुख बाइरहेका थिए । तर, पोथी धनेस भने इन्तु न चिन्तु थिइन् । 

    पोथीको जिउमा एउटा पनि प्वाँख र पखेटा बाँकी थिएन । सबै झरिसकेका थिए । साह्रै कमजोर थिइन्, तैपनि उनी बचेरालाई स्याहार्न खोज्दै थिइन् । 

    राजधनेसले सबैलाई चारा खान दियो । पोथी र बचेराहरूलाई चुच्चोले सुम्सुम्यायो । अब झन् उसले सतर्क हुनुपर्ने भयो । खुल्ला गुँडमा बचेराहरू हुर्किसकेका थिएनन् । 

    प्वाँख र पखेटा उम्रिसकेकै थिएन । जुरो पलाउन त तीनचार वर्ष नै पर्खनु पर्नेछ । पोथी धनेसको पनि प्वाँख र पखेटा नभएकोले उड्न सक्दिन थिइन् । 

    ‘क्वाक् क्वाक् क्वाक्’ आत्तिएको आवाज निकाल्दै राजधनेस उड्यो । उसले गुँडतिर आइरहेको ठुलो सर्प देखेछ । उसले बारम्बार झम्टेर सर्पको बाटो छेक्न खोज्यो । 

    उसको झम्ट्याइले सर्प हड्बडायो र फुत्रुक्क रुखबाट झर्यो । सलल एउटा दुलोमा छिर्यो । राजधनेसले सन्तोषको सास फेरेर पोथीलाई सुम्सुम्यायो । 

    पोथी राजधनेस र बचेराहरूको प्वाँख र पखेटा पलाउन थाल्यो । प्वाँख नपलाएसम्म राजधनेसले स्याहार सुसार गरिरह्यो । रखवारी गरिरह्यो । चिल, गिद्ध र सर्पबाट बचाइरह्यो । 

    भाले राजधनेसले आफ्नो पतिधर्म र वात्सल्यता राम्रैसँग निर्वाह गरिरह्यो । त्यसैले त राजधनेसले पत्नीब्रता चरो भन्ने सम्मान पाएको छ ।  

    बचेराहरू हुर्किए । अनि आफ्ना आमाबाबुलाई चटक्कै माया मारेर आफ्नै संसारमा रमाउन पालैपालो भुर्र भुर्र गर्दै उडे । बुढा राजधनेसका भालेपोथी आफ्ना बालबच्चाहरु हुर्किएर उडेर गएकोमा दङ्ग परे । छोडेर गएकोमा उनीहरुलाई कुनै गुनासो थिएन ।  

    पोथी धनेस भुर्र उडिन् । राजधनेस पनि आफ्नै लयमा पोथी धनेससँगै आकाशमा बत्तिन थाल्यो ‘क्वाक् क्वाक् गर्दै । 

    प्रतिभाकुञ्ज, कालिकानगर,
    चन्द्रागिरी नगरपालिका– १५