३१ असार २०८२ मंगलबार | 15 Jul 2025 Tue

हलेसी तुवाचुङका कृषकलाई अनुदानमा हातेट्रयाक्टर



  • आफ्नै खबर
  • २३ पुष २०८१ मंगलबार (६ महिना अघि)
  • पाठक संख्या १२४
  • खोटाङ/  हलेसी तुवाचुङ नगरपालिकाले १२ कृषक समूहलाई हातेट्रयाक्टर उपलब्ध गराएको छ । नगरपालिकाको ६० तथा कृषक समूहको ४० प्रतिशत लागत साझेदारीमा प्रतिगोटा ६९ हजार रुपैयाँका दरले खरिद गरिएको हातेट्रयाक्टर नगरभित्रका विभिन्न १२ कृषक समूहलाई उपलब्ध गराइएको हो ।

    प्रविधिमैत्री कृषि प्रणाली लागू गर्ने नगरपालिकाको योजनासहित कृषक समूहलाई हातेट्रयाक्टर उपलब्ध गराइएको नगर प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो । 

    ‘हाम्रो नगरपालिका सुक्खाग्रस्त क्षेत्रमा पर्छ । घाँस अभावका कारण किसानले गोरु पाल्न छाडिसकेका छन्’, उहाँले भन्नुभयो, ‘खेतबारी जोत्ने गोरु नभएका कारण धेरै किसानले आफ्नो खेतबारी बाँझो छाडेका छन् । बाँझो जमिनलाई सदुपयोग गर्दै प्रविधिमैत्री कृषि प्रणाली लागू गर्न विभिन्न १२ वटा कृषक समूहलाई हातेट्रयाक्टर उपलब्ध गराइएको हो ।’

    नगर प्रवक्ता गिरीका अनुसार वडा नं. १ बाहुनीडाँडामा एक, वडा नं. ४ बडहरेमा एक, वडा नं. ५ दुर्छिममा एक, वडा. नं ७ महादेवस्थानमा एक, वडा. नं ८ धितुङमा एक, वडा नं. ९ सल्लेमा एक तथा वडा नं. ११ राजापानीमा ६ वटा हातेट्रयाक्टर वितरण गरिएको छ । 

    गोरु अभावमा खनजोत गर्न नपाएर समस्या भोग्दै आएका किसान लागत साझेदारीमै भए पनि ६० प्रतिशत अनुदान (४१ हजार चार सय रुपैयाँ)मा ट्रयाक्टर पाएपछि हर्षित भएका छन् । 

    कृषि क्षेत्रमा लगानी बढाएको उक्त नगरपालिकाले रैथाने बाली (गहत, जुनेलो र बदाम)मा अनुदानसमेत उपलब्ध गराएको छ । धानखेती कम तथा मकै र कोदोमात्र उत्पादन हुने उक्त नगरपालिकामा गहत, जुनेलो र बदाम उत्पादन गर्ने किसानलाई उनीहरूले उत्पादन गरेको कृषि उपजका आधारमा अनुदान दिने गरिएको हो ।

    –रासस