२६ जेठ २०८२ सोमबार | 09 Jun 2025 Mon

किनमेल

शनिबार साहित्य



  • दीपक लोहनी
  • २७ पुष २०८१ शनिबार (५ महिना अघि)
  • पाठक संख्या २२८
  • मलाई जीवन सफल वनाउने अस्त्र चाहिएको थियो । 

    त्यसको लागि कुनै औषधी र हतियारको आवश्यकता महसुस भयो । 

    केहि समयसम्म बचत गरेको अलिकति पैसा गोजीमा च्यापेर खोजीमा निस्किएँ । अनौठो किनमेलका लागि ।

    पैसा कम भए पनि कतैबाट जोरजाम गर्छु र किन्छु । तर, जीवन सफल हुनुपर्छ भन्ने सोच बलियो हुँदै गएको थियो । 
    ..............

    हो, सफल जीवनको खोजीमा थिएँ म । पुगेस् पुगेसको जीवनले आफैंलाई वाक्क लागिरहेको बेलामा श्रीमतीको कचकच थपिएपछि केही उपाय त गर्नै पथ्र्यो ।

    तसर्थ लागें नाम चलेको सुपरमार्केटमा ।

    त्यहाँ ‘नुनदेखि सुनसम्म पाइन्छ’ भनिन्छ ।

    सुपरमार्केटको बिल्डिङ अग्लो थियो ।

    ग्राहकहरुको चहलपहल व्यापक थियो ।

    सामानहरु सजाएर राखिएका थिए ।

    मलाई हतियार र औषधि किन्नु थियो ।

    हतियार र औषधि कक्ष चौथो र पाँचौँ तलामा रहेछ ।

    म सर्रर्र लिफ्ट् चढेर गएँ चौथो र पाँचौमा । त्यहाँ हतियार र औषधिहरुलाई पुरै फोकस लाइटमा सजाइएको थियो । 

    तर, ती मैले चाहेका जस्ता थिएनन् । अत्याधिक महङ्गा पनि थिए । सेल्स गर्ल्सहरुमा बनावटी रंग/रुप र अनावश्यक हाउभाउहरु पोखिएको थियो ।

    निरास म गर्हौं पाइलाले फर्कनुको विकल्प थिएन ।
    ..........

    सुपरमार्केटको नजिकै फुथपाथमा एउटी बूढीआमाको नाङ्लो पसल राखेर बत्ती कातिरहनु भएको देखें । उहाँको अगाडि टक्क उभिएं । 

    बुढ्यौलीले पलपल खाँदै गरेको उहाँको मुहारमा फैलिएको मुस्कानले मन्त्रमुग्ध बनाइरह्यो ।

    ‘के खोज्नुभो बाबु ?’ आमाको कौतुहलपूर्ण प्रश्न । 

    लाग्यो उहाँले चुरोट, सुर्ती वा पाँच रुपैयाँ जाने साना साना चाउचाउका प्याकेट बिक्री हुने अपेक्षा गर्नुभयो । 

    ‘केही होइन ।’ मेरो निराशापूर्ण जवाफ ।

    ‘यहाँ मैले खोजेको कुरो देख्दै देखिनँ ।’ जवाफ थपें ।

    ‘केही त होला ।’ आमामा जागेको खुलदुली ।

    ‘जीवन सफल बनाउने त्यस्तो कुनै औषधी वा हतियार छ ?’ मेरो अल्छिलो प्रश्न । 

    बत्ति कात्दै गरेको हात टक्क रोकियो । 

    आमा एकछिन घोरिनु भयो । 

    एउटा पुरानो गोल्टिनको बट्टाबाट धुलो लागेको दुईवटा साना साना पोका निकाल्नु भयो । 

    मेरो मुखबाट प्रश्न फुत्कियो, ‘यो के हो, आमा ?’

    ‘धैर्य ।’ आमाको अनपेक्षित उत्तर

    अर्को पोको देखाएर सोधें, अनि यो चाहिं के हो नि ?’

    ‘हाँसो ।’ फेरि त्यस्तै उत्तर । 

    मेरो मुखबाट अनौठो प्रकारको हाहाहा हाँसो निस्कियो ।

    ‘कति पर्छ ?’ म मूल्य सुन्न व्यग्र भएं ।

    ‘पर्दैन सित्तैमा पाइन्छ ।’ आमाको उत्तरले मेरो हातले गोजीलाई बाहिरबाटै च्याप्प थिच्यो । 

    मैले झटपट धैर्य र हाँसो दुबै लिएँ । धेरै जतन साथ च्यापें ।

    तर आश्चर्य, दुबैको कत्ति पनि पैसा परेन ।