१० असार २०८२ मंगलबार | 24 Jun 2025 Tue

पाँच महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो



  • आफ्नै खबर
  • २७ पुष २०८१ शनिबार (५ महिना अघि)
  • पाठक संख्या १०५
  • काठमाडौं/  चालु आर्थिक बर्षको मङ्सिर मसान्तसम्म ६ खर्ब ४० अर्ब ४३ करोड रुपैयाँ बराबरको विप्रेषण आप्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार, समीक्षा अवधिमा विप्रेषण आप्रवाह ४.४ प्रतिशतले वृद्धि भएको हो ।

    अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.५ प्रतिशतले वृद्धि भई चार अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २१.१ प्रतिशतले बढेको थियो ।

    समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ६ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ६ खर्ब ६९ अर्ब ७७ करोड रुपैयाँ रहेको थियो ।

    समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या एक लाख ९० हजार तीन सय ८४ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ३५ हजार चार सय २५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः एक लाख ७१ हजार नौ सय ७५ र एक लाख दुई हजार पाँच सय ४२ रहेको थियो ।