९ मंसिर २०८२ मंगलबार | 25 Nov 2025 Tue

चित्त बुझाउने बाटो नभेटेको कृति ‘चित्त केले बुझाऊँ ?’ 

पुस्तक विवेचना



  • बाबुराम तिमील्सिना
  • २८ पुष २०८१ आईतबार (११ महिना अघि)
  • पाठक संख्या ३१७
  • कवि अच्युतप्रसाद चालिसेद्वारा रचना गरिएको ‘चित्त केले बुझाऊँ ?’ नामक कबिता सङ्ग्रहमा नेपालमा बिबिध कालखण्डमा भएका परिवर्तन मार्फत नयाँ युगको प्रारम्भ भएतापनि अपेक्षाकृत विकास र चेतना नआएकामा चोटिलो प्रश्न खडा गरिएको छ ।

    कविले तत्कालिन ब्यवस्था र शाशकिय संरचनालाई कुहिरो, तुवालोको रुपमा चित्रित गर्दै ती समस्या हटेपछि पनि चित्त बुझाउने बाटो नभएकोमा गम्भिर आपत्ति प्रकट गरेका छन् । कृतिले शरद ऋतुको सूर्यको उज्यालो बनेर उदय भएको जुन परिवर्तन छ, त्यो साकार हुनसक्ने अवस्था प्रति घोत्लिन वाध्य बनाउछ सचेत पाठकलाई । यो कृतिको अत्यन्त सबल पक्ष देखिन्छ । साथै बिबिध चरणमा भएका ती क्रान्ति, त्यो जोश त्यसै त्यसै सेलाएर गयो भन्ने भावले आम मान्छेमा ब्यप्त निराशलाई पनि बोकेको पाइन्छ । 

    शरद ऋतुलाई प्रतिकात्मक रुपमा प्रयोग गर्दै देशको उन्नतिका आधारशीला उद्योग ब्यवसायको अवस्था बिगतमा भन्दा पनि धरासायी हुँदै गएकोमा चिन्तित कबि मनले नयाँ पालुवा हाल्नु पर्नेमा फुलेका फूल पनि त्यसै ओइलाएर झरेको बिम्ब प्रस्तुत गरेका छन् । 

    बर्तमानमा छाएको उदास भाव र नैराश्यपनको शशक्त उठान गरिएको छ । बरु यो परिवर्तन हुनु अगाडि बसन्त ऋतु थियो, उद्योग उन्नतिका आधारशीला फस्टाउदै थिए भन्ने कुरा पनि स्मरण गराएका छन् कविले । पाठक सहित राज्य सत्तालाई झक्झक्याउँदै भन्छन्, अहिले वर्षादमा बाढीले बगाएको जस्तो,  सबै कुरा बिग्रे जस्तो अवस्था सिर्जना भएकोले ‘चित्त बुझाउने अवस्था नै छैन’ । 

    कत्तिन विकास उन्नति होला भनेको, न विकास न सुधार ! परिवर्तन त आयो तर त्यो कुन रङ्गको हो ? यसले आफ्नो सास्वत स्वरुप र रङ्ग स्थापित गर्ने बाटो नै अल्मलिएकोमा औँला ठड्याउंछन् उनका कबिताले । 

    यो परिवर्तनले ल्याउन खोजेको नयाँ युगको मूल मर्म के हो, त्यो पूरा हुनुपर्ने यथार्थबारे वर्तमान समाजलाई ब्युँझाउन शशक्त रुपमा प्रस्तुत भएको छ यो सङ्ग्रह । सबै कुरा बिग्रनु अगावै, डुब्नु भन्दा पहिल्यै परिवर्तनको सार्थकता पहिल्याउने, सुधारको आश्वास्तता खोज्ने, माटो–हावा र मान्छेले महसुस गर्ने गरी कसरी मन बुझाउने भन्ने भावमा कवि आफु मात्र डुबेका छैनन्, पाठकलाई पनि सङ्गै डोहोर्याएका छन् । 

    अन्त्यमा यो कविता ब्यङग्यात्म सन्देशवाहक कृतिको रुपमा शशक्त छ । यसमा उन्नति–प्रगति हुनुपर्छ, उमङग र खुशी छाउनु पर्छ भन्ने सन्देश पाइन्छ । मुक्त छन्द र छन्दबद्द ५१ कबिताहरु सङ्ग्रहित यो पुस्तक २८ र ९२ पृष्ठको २ खन्डमा बिभक्त छ । समालोचक ठाकुर शर्मा भन्डारीको काब्यात्मक् शुभकामना, कथाकार बिजय चालिसे तथा बाजुराम पौडेलको शुभकामना र गोबिन्द प्रसाद घिमिरेको प्रकाशकीय भूमिका रहेको छ ।