काभ्रेपलाञ्चोक/ पाँचखाल नगरपालिकाका बिरामीलाई आवश्यकतानुसार निःशुल्क रगत उपलब्ध हुने भएको छ । यसका लागि जिल्लास्थित रक्त सञ्चार केन्द्र र पाँचखाल नगर कार्यालयबीच सम्झौता भएको छ ।
नगरवासीलाई निःशुल्क रगत उपलब्ध विषयक सम्झौतापत्रमा नगरप्रमुख महेश खरेल र रेडक्रमका जिल्ला सभापति देवेन्द्र भैलले हस्ताक्षर गर्नुभएको हो । सम्झौतानुसार रगतको सेवा लिनुपर्ने वा लिएका व्यक्ति पाँचखाल नगरपालिकाका स्थायी बासिन्दा भएको (नागरिकता, मतदाता परिचय पत्र, बसाइँसराइ) प्रमाण खुल्ने कागजातका आधारमा निःशुल्क रगत उपलब्ध गराइने भएको हो ।
नगरले हरेक वडामा रक्त सञ्चार सेवा केन्द्रको सहयोगमा आलोपालो गरी वर्षमा कम्तीमा चारपटक रगत सङ्कलन शिविर आयोजना गर्नुपर्ने जनाइएको छ । निःशुल्क सेवाका लागि नगरले अग्रिम तीन लाख रुपैयाँ रक्त सञ्चार सेवालाई दिनुपर्ने छ ।
खरेलले भन्नुभयो, ‘यो सम्झौताले नगरवासीमा राहत पुग्ने विश्वास लिएका छौँ ।’
नगर प्रमु्ख खरेलले कम्तीमा एक करोड रुपैयाँको कोषको व्यवस्था गर्न रेडक्रसलाई सुझाव दिँदै कोषको सुरुआतका लागि व्यक्तिगत रूपमा ५० हजार रुपैयाँ बीउपुँजीको व्यवस्था गर्नुभएको छ । भैलले पनि रेडक्रसमा कोष व्यवस्थापन गर्न २५ हजार रुपैयाँ उपलब्ध गराउने बताउनुभएको छ ।
–रासस
प्रतिक्रिया दिनुहोस