काठमाडौं/ नेपालमा बेलायती शैक्षिक संस्था कोभेन्ट्री विश्वविद्यालयको कार्यक्रम अध्यापन गराउने सफ्टवेरिका कलेज अफ आईटी एन्ड ईकमर्सले चार सय विद्यार्थीहरुलाई दीक्षित गरेको छ । हयात रिजेन्सीमा भएको एक कार्यक्रममा कलेजले स्नातक र स्नातकोत्तर तहका हालै उत्तीर्ण विद्यार्थीहरुलाई दीक्षित गरेको हो ।
दीक्षान्त समारोहमा क्याम्पस प्रमुख प्रमोद पौडेलले दीक्षित विद्यार्थीहरु अब आत्मनिर्भर हुन सक्ने बताउनुभयो । अहिलेसम्म आफ्नो खर्चका लागि अभिभावकलाई गुहार्नु परेता पनि अब विद्यार्थी स्वयंले आफ्नो खर्च व्यवस्थापन गर्न सक्ने उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, ‘अब विद्यार्थीले परिवारलाई खर्चका लागि गुहार्नु पर्दैन । उनीहरुले अहिलेसम्म कलेजमा जे सिकेका छन्, त्यसले जहाँ गए पनि उनीहरुलाई आर्थिक प्रगति गर्न निकै सहयोग गर्ने छ ।’
उहाँले विद्यार्थीहरुलाई प्रोत्साहित गर्दै समस्याहरुमा नै अवसर पाउन सकिने बताउनुभयो । सफ्टवेरिका कलेज पनि समस्याहरुको समाधान गर्ने क्रममा नै स्थापना भएको उहाँको भनाइ थियो । साथै विदेश गएता पनि विद्यार्थीहरुलाई नेपालमा फर्केर देशका लागि योगदान गर्न आग्रह गर्नुभयो ।
यसैगरी केभेन्ट्री विश्वविद्यालयका उपप्रमुख डा. रेडा अल बेडुरले दीक्षान्त समारोहको महत्व र यसपछिको यात्राबारे बताउनुभयो । उहाँले विद्यार्थीहरुले सबै कठिनाइहरु पार गर्दै यहाँसम्म आइपुगेको तथ्यलाई उजागर गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘दीक्षान्त समारोह भनेको विद्यार्थीहरुले आफ्नो सम्पूर्ण समस्याहरुलाई पराजित गरेको प्रमाण हो । यो यात्रा अभिभावक र संरक्षकहरुको सहयोग बिना पूरा हुँदैन थियो ।’
प्रमुख अतिथि तथा प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगरले समेत विद्यार्थीहरुलाई आफ्नै देशमा केही गर्न आग्रह गर्नुभयो । देशमा नै प्रशस्त अवसर रहेको कुरा बताउँदै उहाँले विद्यार्थीहरुलाई आफ्नो समाज र देशलाई सेवा गर्नुपर्ने धारणा राख्नुभयो ।
‘हाम्रो समाज विविधतापूर्ण छ । तपाईहरुले विदेशमा काम गर्न त्यहाँ नै गइरहनु जरुरी छैन । नेपालमा नै बसेर तपाईहरुले संसारभर काम गर्न सक्नुहुन्छ’, उहाँले भन्नुभयो, ‘तर तपाईले आफ्नो समय भने व्यवस्थापन गर्नु पर्छ । विश्वव्यापीकरणको समयमा तपाई आर्मी जस्तै भएर काम गर्नु पर्ने हुन्छ ।’
दीक्षान्त समारोहमा विश्वविद्यालयका प्रतिनिधि, कलेजका प्रतिनिधि, अभिभावक, विद्यार्थी आदिको उपस्थिति रहेको थियो । यसअघि दीक्षित भइसकेका अधिकाँश विद्यार्थीहरु आत्मनिर्भर भइसकेको कलेजको भनाइ छ ।
सन् २०१० मा स्थापना भएको सफ्टवेरिका कलेजले नेपाली उच्च शिक्षाको रुपान्तरण गर्न कोभेन्ट्री युनिभर्सिटी, बेलायतसँग सहकार्य गरिरहेको छ । हाल कलेजमा बीएससी(अनर्स) कम्प्युटिङ, बीएससी(अनर्स) इथिकल ह्याकिङ एन्ड साइबर सेक्युरिटी, बीएससी (अनर्स) कम्प्युटर साइन्स विथ आर्टिभिसियल इन्टेलिजेन्स र एमएससी डेटा साइन्स एन्ड कम्प्युटेस्नल इन्टेलिजेन्स सञ्चालनमा छन् ।
प्रतिक्रिया दिनुहोस