३१ जेठ २०८२ शनिबार | 14 Jun 2025 Sat

नागरिक लगानी कोषको लाभांस प्रस्ताव पारित   



  • आफ्नै खबर
  • २९ पुष २०८१ सोमबार (५ महिना अघि)
  • पाठक संख्या ९२
  • काठमाडौं/  नागरिक लगानी कोषले सेयरधनीलाई लाभाँस वितरण गर्न गरेको प्रस्ताव पारित भएको छ । कोषको ३० औं वार्षिक साधारणसभाले प्रस्ताव पारित गरेको हो । 

    कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा.सूर्यबहादुर थापाको अध्यक्षतामा भएको सभाले आर्थिक वर्ष २०८०/८१ को आम्दानी बाँडफाँड हिसाव विवरणमा छुट्याएको प्रस्तावित सात प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांस (कर सहित) स्वीकृत गरेको हो ।   

    त्यसैगरी, आ.व. २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको छ । योसँगै लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरणमा छलफल गरी पारित भएको हो । 

    सभामा कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा.थापाले कोषको कार्यक्रमहरूको थप प्रवर्द्धन गरी स्वरोजगार तथा वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई कोषको कार्यक्रममा समावेश गर्दै लगिने बताउनुभयो । कोषले पुँजी बजारमा समेत नेतृत्वदायी भूमिका खेलिरहेकोमा सो कार्य आगामी दिनमा थप प्रभावकारी ढंगले बढाइने जानकारी दिनुभयो । 

    संगठन तथा व्यवस्थापन (ओ एण्ड एम) गरी मानव संसाधन विकासलाई प्राथमिकतामा राखिने समेत उहाँले बताउनुभयो । प्रा.डा.थापाले कोषमा विद्यमान सम्भावना तथा अवसरको उपयोग गर्दै समस्या एवं चुनौतीहरुलाई समाधान गरी लगानी व्यवस्थापन प्रभावकारी रूपमा बढाइरहेको धारणा राख्नुभयो । 

    साधारणसभामा सेयरधनीहरुबाट उठाइएका जिज्ञाशाहरुको बारेमा अध्यक्ष प्रा.डा.थापा र कोषका कार्यकारी निर्देशकले जवाफ दिनु भएको थियो । 

    कार्यक्रममा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले कोषको वस्तुस्थिति बारे बताउँदै सेयरधनीहरुबाट उठाइएका जिज्ञासा तथा सुझावहरूको बारेमा विस्तृत रुपमा जानकारी गराउनुभयो । कोषले सूचना प्रविधिलाई थप चुस्त बनाउनेतर्फ काम गरिरहेको बताउँदै कृृत्रिम बौद्धिकता (ए.आई) को प्रयोग सम्बन्धमा सम्भाव्यता अध्ययन गरिरहेको उहाँले बताउनुभयो । 

    हाल आर्थिक तथा वित्तीय क्षेत्रमा शिथिलता देखिएको अवस्थामा समेत कोषले सेयरधनीलाई तुलनात्मक रूपमा राम्रो लाभांस दिन कोष सफल भएको कार्यकारी निर्देशक कार्कीले बताउनुभयो ।  साधारणसभामा प्रस्तुत विवरण अनुसार आर्थिक वर्ष २०८०/८१ को असोज मसान्तसम्म कोषको खुद कोष मौज्दात रकम २ खर्ब ६१ अर्ब  रुपैयाँ पुगेको छ । उक्त अवधिमा कोषले २ खर्ब ५० अर्ब रुपैयाँ लगानी गरेको छ ।