२८ बैशाख २०८२ आईतबार | 11 May 2025 Sun

शैक्षिक गुणस्तर सुधार्न ‘१२ महिना, १२ कार्यक्रम’



  • आफ्नै खबर
  • २ माघ २०८१ बुधबार (४ महिना अघि)
  • पाठक संख्या ६७
  • इलाम/  सूर्योदय नगरपालिकाले शैक्षिक गुणस्तर सुधार्ने उद्देश्यले ‘१२ महिना, १२ कार्यक्रम’ सुरु गरेको तीन वर्ष पुगेको छ । कार्यक्रमअन्तर्गत ‘गणितसँग खेलौँ, गणितीय धारणा बसाऔँ’ कार्यक्रम, विज्ञान तथा गणित प्रदर्शनी, गणित अभ्यास पुस्तिका वितरण, प्रतिभाको खोजी कार्यक्रम, वक्तृत्वकला प्रतियोगिता र विभिन्न विधाका खेलकुद प्रतियोगिता सञ्चालन भइरहेका छन् ।

    नगरप्रमुख रणबहादुर राईले सूर्योदयमा ६५ सामुदायिक र ३१ संस्थागत विद्यालय रहेका जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘सामुदायिकतर्फ सात हजार ७३ र संस्थागतमा चार हजार पाँच सय ३९ विद्यार्थी छन् । यी कार्यक्रमले विद्यालयबीच स्वस्थ प्रतिस्पर्धा बढाएको छ । विद्यार्थीको अतिरिक्त क्रियाकलापमा क्षमता मापन गरिने भएकाले क्षमता वृद्धि भइरहेको पाएका छौँ ।’ 

    ‘गणितसँग खेलौँ, गणितीय धारणा बसाऔँ’ कार्यक्रमअन्तर्गत कक्षा ८, ९ र १० का विद्यार्थीलाई गणितको अभ्यास पुस्तिका वितरण गर्दै आएको नगरप्रमुख राईले बताउनुभयो । 

    ‘कक्षा ८, ९ र १० मा दश हजार चार सय ४३ विद्यार्थी छन् । एक पटक तीन वटाका दरले कापी दिँदा सबै विद्यार्थी उत्साहित भई अभ्यास गर्छन् । वर्षमा तीन पटक वितरण गरिरहेका छौँ’, राईले भन्नुभयो, ‘फुर्सद मिलाएर सबै विद्यालयमा पुग्ने गरेको छु । पछिल्लो समय अधिकांश विद्यार्थीले गणितलाई अप्ठ्यारो मान्न छोडेका छन् ।’ 

    कार्यक्रम प्रभावकारी बन्दै गएको शिक्षक तथा विद्यार्थीले प्रतिक्रिया दिएका छन् । सूर्योदय–१० स्थित फिक्कल माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्रा विन्दा ढुङ्गेलले पहिले निकै गाह्रो लाग्ने गणित विषय आजभोलि सजिलो लाग्न थालेको बताइन् ।

    उनले भनिन्, ‘पहिले पास गर्नै गाह्रो हुन्थ्यो । अहिले नगरप्रमुख स्कुलमा आएर तीन वटा कापी दिँदै एक महिनामा सक्नुपर्छ भन्नुहुन्छ । धेरै अभ्यास भइरहेकाले होला, आजभोलि गणित सजिलो लाग्छ ।’ उनीमात्रै होइन सूर्योदयका अधिकांश विद्यार्थीले गणित सजिलो लाग्न थोलेको बताउँछन् ।

    हिमालय माध्यमिक विद्यालय गोर्खेका शिक्षक विशाल मास्केले भन्नुभयो, ‘वर्षको एकपटक नगरका सबै विद्यालयका विद्यार्थी भेला गरेर विज्ञान र गणित प्रदर्शनी गर्ने गर्दछौँ । प्रतिभाको खोजी कार्यक्रमअन्तर्गत लुकेका कला, क्षमता प्रस्फुटन गराउन प्रतियोगिता गराइन्छ । हरेक महिना फरक किसिमका खेलकुद प्रतियोगिता सञ्चालन हुन्छन् ।’

    परीक्षाको नतिजामा गणित विषय कमजोर देखिएपछि सुधार गर्न सुरु गरिएको अभियान प्रभावकारी बन्दै गएको नगरप्रमुख राईले बताउनुभयो । 

    ‘पहिला गणितलाई अप्ठ्यारो ठान्ने विद्यार्थी अहिले सजिलो छ भन्न थालेका छन् । नतिजामा पनि विगतमा भन्दा सुधार आएको छ’, राईले भन्नुभयो, ‘हामीले अङ्ग्रेजी, गणित र विज्ञान विषय प्राथमिकतामा राखेर सैद्धान्तिक र प्रयोगात्मक शिक्षामा जोड दिएका छौँ । कोरोना कहरका बेला विद्यार्थीको पढाइमा ठूलो क्षति पुगेपछि नतिजा सुधार्न अभियान सुरु गरेका हौँ ।’

    –रासस

        विद्यार्थीलाई कापी बाँड्न नगरप्रमुख राई जानरी बिना विद्यालय पुग्नुहुन्छ । “बेखबर जाँदा अनुगमन र विद्यार्थीसँग अन्तक्र्रिया पनि हुन्छ”, उहाँले भन्नुभयो । नगरपालिकाले शिक्षा क्षेत्रमा आन्तरिक राजस्वको ३० प्रतिशतभन्दा बढी रकम खर्च गरिरहेको छ । नगरले सामुदायिक विद्यालयका लागि आवधिक योजना निर्माण गरेको छ । पढाइबाहेक अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न नगरले ‘१२ महिना, १२ कार्यक्रम’ सञ्चालन गरिरहेको हो । 

        यो कार्यक्रममा शिक्षकलाई क्रियाशील, आपसमा प्रतिस्पर्धी, सृजनशील र उनीहरूबाट दक्ष जनशक्ति उत्पादन गर्ने परिकल्पना गरिएको नगरप्रमुख राईले बताउनुभयो । “कतिपय विद्यालयमा विषयगत शिक्षक अपुग हुन्छन् । त्यहाँ ल्याब र अनलाइन कक्षासमेत सञ्चालन गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “यहाँका सबै विद्यालयमा इन्टरनेट सेवा पुगेकाले कम्प्युटर र प्रयोगशालाको व्यवस्था गरेका छौँ । सबै विद्यार्थीको बाल बचत खाता खोलिएको छ ।” यो दीर्घकालीन योजनामा नगरपालिका, बैंक र सम्बन्धित विद्यार्थीको साझेदारी रहेको उहाँले उल्लेख गर्नुभयो ।

        सूर्योदयका छोरी र बुहारीलाई करफोक विद्या मन्दिरमा स्नातक तहको शिक्षा निःशुल्क गरिएको छ । यहाँबाट उत्पादन भएका जनशक्तिलाई नगरले कम्तीमा एक सय दिन रोजगारी दिइरहेको छ । नगरले दुवै खाले विद्यालयका बालबालिकालाई स्थानीय पाठ्यपुस्तक र छात्रालाई सेनिटरी प्याड निःशुल्क दिएको नगर प्याब्सनका अध्यक्ष लाकेल लामाले बताउनुभयो । नगरले महिला शिक्षक सुत्केरी भएर लामो बिदामा बस्दा विद्यार्थीको पढाइमा असर नहुने गरी शिक्षणको व्यवस्था मिलाएको छ । 

        सीमावर्ती क्षेत्रबाट भारतको दार्जिलिङतिरका स्कूलमा पढ्न जाने विद्यार्थीलाई यतै आकर्षित गर्न सहज र सुन्दर वातावरणको व्यवस्था गरिएको नगरको शिक्षा शाखा प्रमुख योगनिधि भट्टराईले बताउनुभयो । अहिले पढ्नका लागि दार्जिलिङ जाने विद्यार्थीको सङ्ख्यमा कमी आएको बताउँदै उहाँले भन्नुभयो, “विद्यार्थीलाई उच्च शिक्षामा नगर र देशभित्रका क्याम्पसमा पढ्ने वातावरण बनाउन प्रयास गरिरहेका छौँ ।”

        नगरपालिकामा ६५ सामुदायिक र ३१ संस्थागत विद्यालयमा गरी ११ हजार छ सय १२ विद्यार्थी छन् । शिक्षा शाखा प्रमुख भट्टराईका अनुसार नगरमा तीन सय ९८ शिक्षक दरबन्दीमा छन् भने बाल शिक्षक ६२, स्वयंसेवक शिक्षक २३ र विद्यालय कर्मचारी ७८ जना छन् । यीबाहेक विद्यालयले निजी स्रोतबाट समेत शिक्षक राखेको छ । सूर्योदय नगरपालिका जिल्लाको पहिलो, कोशी प्रदेशको तेस्रो र मुलुकको दशौँ बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका पनि हो ।