११ असार २०८२ बुधबार | 25 Jun 2025 Wed

चन्द्रागिरिले सुरु गर्यो ‘बहुप्राविधिक शिक्षालय’



  • आफ्नै खबर
  • २ माघ २०८१ बुधबार (५ महिना अघि)
  • पाठक संख्या १०३
  • काठमाडौं/  चन्द्रागिरि नगरपालिकाले सामुदायिक विद्यालयमा ‘बहुप्राविधिक शिक्षालय’ सञ्चालन गर्न सुरुआत गरेको छ । ‘पढ्दै कमाउँदै’ अवधारणा एवं विद्यार्थीलाई माध्यामिक शिक्षा (दशजोड दुई) पश्चात् स्वारोजगार बनाउने ध्येयले नगरपालिकाले पहिलोपटक चन्द्रागिरि–१२ स्थित बलम्बु माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्राविधिक शिक्षालयमार्फत सीप सिकाउन थालेको हो ।

    यसका लागि नगरपालिकाले दक्षिण कोरियाको ड्रिम सेयरिङ फाउन्डेसनसँगको सहकार्यमा उक्त विद्यालय परिसरमा शिक्षालय भवनसहित अत्याधुनिक चारवटा प्रयोगशाला निर्माण गरेको छ । दुईतले भवन एवं प्रयोगशालका लागि दुई करोड ५० लाख रुपैयाँ खर्च भएको जनाइएको छ । 

    शिक्षालयमा अब प्राविधिक शिक्षा तथा व्यावसायिक शिक्षा परिषद् (सिटिइभिटी) अन्तर्गतको पाठ्यक्रममा आधारित ब्यूटिसियन, इलेक्ट्रिसियन, मोटरसाइकल तथा मोबाइल मर्मत विधामा सीप विद्यार्थीलाई अतिरिक्त समयमा सिकाइने छ ।

    माध्यामिक शिक्षा परीक्षामा (एसइई)मा शतप्रतिशत विद्यार्थीलाई उत्तीर्ण गराउँदै आएको उक्त सामुदायिक विद्यालयमा साधारणतर्फ कक्षा ९ देखि १२ अध्ययन गरिराखेका विद्यार्थीले आफू रुचिको ती विधामध्ये एक विधामा सीप सिक्नेछन् । अतिरिक्त समयमा उनीहरूले सिक्ने सो सीप स्नातक तह बराबरको हुनेछ ।

    कक्षा १२ उत्तीर्ण हुँदा विद्यार्थीले आफूले रोजेका विधामा प्राविधिक सीपको प्रमाणपत्र पनि लिएर निस्कने छन् । यसबाट विद्यालयमै विद्यार्थीलाई आत्मनिर्भर तथा रोजगार बनाउन सहयोग पुग्ने अपेक्षा नगरपालिकाले लिएको छ । 

    उपराष्ट्रपति रामसहायप्रसाद यादवले मङ्गलबार ‘बहुप्राविधिक शिक्षालय’को शुभारम्भ गर्दै सामुदायिक विद्यालयमा बहुप्राविधिक शिक्षालय सञ्चालन गर्ने नगरपालिकाको नीतिको प्रशंसा गर्दै यो नीति सङ्घीय सरकारका लागि पनि सिकाइ हुनसक्छ भन्नुभयो ।

    नगरप्रमुख घनश्याम गिरीले भन्नुभयो, ‘विद्यालयमै विद्यार्थीलाई आत्मनिर्भर तथा स्वरोजगार बनाउने नीति नगरपालिकाको हो, यसका लागि नै नगरपालिकाले सामुदायिक विद्यालयमा ‘बहुप्राविधिक शिक्षालय’  सञ्चालन गरेको हो । यो पहिलो शिक्षालयको सिकाइका आधारमा अन्य विद्यालयमा यो कार्यक्रम कार्यान्वयनमा ल्याउँछौँ । विद्यालय शिक्षापछि जीविकोपार्जन गर्न विदेश जानु नपरोस् भन्ने नै हाम्रो ध्येय हो ।’

    –रासस