१५ असार २०८२ आईतबार | 29 Jun 2025 Sun

पौवादुङमाले रोक्यो बाह्य पेय पदार्थ बेचबिखन 



  • आफ्नै खबर
  • ३ माघ २०८१ बिहिबार (५ महिना अघि)
  • पाठक संख्या ११३
  • भोजपुर/  दोस्रो पौवादुङमा गोल्ड कप र बृहत् माघी मेलामा आयातित खानेकुरामा निषेध गरिएको छ । स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने लक्ष्यले आयातित पत्रु खानेकुरा ( जङ्कफुड)मा रोक लगाइएको पौवादुङमा गाउँपालिकाले जनाएको छ । 

    मेलामा स्थानीय उत्पादन कोदो, मकै, गहुँ फापर, भुटेको मकै, गुन्द्रुक, इस्कुसको तरुल, घर तरुललगायतका परिकार मात्र बिक्री वितरणको लागि खुला गरिएको छ । त्यस्तै बाह्य पेय पदार्थलाई निषेध गरेर स्थानीयस्तरमा पाइने मही, दही, एभोकाडोको जुस, सुन्तलाको जुस मात्र बिक्री वितरण भइरहेको छ । 

    प्रतियोगिता तथा माघी मेलामा पत्रु खाना (जङ्कफुड) निषेध गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । गाउँपालिकाले पत्रुखानालाई निरुत्साहित गर्ने लक्ष्यका साथ काम गरिरहेकाले यस्ता खालका खानाको बिक्री वितरणमा रोक लगाइएको उहाँको भनाइ छ ।

    ‘प्रतियोगिता र मेला अवधिभर आयातित खानेकुराको बेचबिखनमा रोक लगाएका छौँ’, उहाँले भन्नुभयो, ‘हामीले स्थानीयस्तरमा पाइने खानेकुरालाई मात्र बिक्री वितरणका लागि अनुमति दिएका छौैँ । यसले स्थानीय उत्पादनको प्रवर्द्धनमा टेवा पुग्ने छ ।’

    स्थानीय उत्पादनको प्रवर्द्धन विकास र बजारीकरण गर्ने लक्ष्यले विगतका वर्षबाट नै बृहत् माघी मेलासँगै पौवादुङमा गोल्ड कप सञ्चालन भइरहेको पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । खेल क्षेत्रको विकाससँगै आन्तरिक पर्यटनमा टेवा पु¥याउने लक्ष्यले बृहत् माघी मेलासँगै गोल्ड कपको आयोजना गरिएको उहाँको भनाइ छ ।

    ‘हामीले यहाँका स्थानीय उत्पादनको विकास तथा प्रवर्द्धनमा जोड दिन आवश्यक छ’, अध्यक्ष राईले भन्नुभयो, ‘मेला महोत्सवमा बाह्य वस्तुले बढी महत्व पाउँदा स्थानीय उत्पादन ओझेलमा परेका धेरै उदाहरण छन् । हामीले भने महोत्सवमा आयातित खानेकुराको बेचबिखनमा रोक लगाएका छौँ ।’

    गोल्डकप तथा मेलाको उद्घाटन गर्दै कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले गोल्ड कप तथा माघी मेला सञ्चालनले खेल क्षेत्रको विकाससँगै आन्तरिक पर्यटनमा टेवा पुग्ने बताउनुभयो । साथै उहाँले निर्माणाधीन रङ्गशालालाई पूर्णता दिन बजेट व्यावस्थापनमा पहल गर्ने बताउनुभयो । सङ्घीयता कार्यान्वयनपश्चात् विकासले गति लिएको उहाँको भनाइ थियो ।

    पौवादुङमा गाउँपालिकाले पूर्वमुख्यमन्त्री राईलाई सम्मान गरेको छ । गाउँपालिकाको विकासमा टेवा पु¥याएको भन्दै गाउँपालिकाले सम्मान गरेको हो । त्यस्तै गोल्ड कप तथा माघी मेला सञ्चालनमा आर्थिक सहयोग गर्ने श्याम श्रेष्ठलाई पनि सम्मान गरिएको छ । उहाँले प्रतियोगिता सञ्चालनको लागि एक लाख रुपैयाँ सहयोग गर्नुभएको छ ।

    प्रतियोगितामा प्रथम हुने टिमले नगद तीन लाख रुपैयाँसहित ट्रफी, पदक र प्रमाणपत्र पाउने छ भने द्वितीय हने टिमले नगद दुई लाख रुपैयाँ, पदक र प्रमाणपत्र पाउने पौवादुङमा आयोजक समितिका अध्यक्ष चोलप्रसाद आलेले जानकारी दिनुभयो । प्रतियोगितामा १४ टिमको सहभागिता रहेको छ । मेला र प्रतियोगिता यही माघ १० गतेसम्म सञ्चालन हुनेछ ।

    –रासस