२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

परिश्रमीलाई देशमै छ



  • आफ्नै खबर
  • ४ माघ २०८१ शुक्रबार (४ महिना अघि)
  • पाठक संख्या ९५
  • सुनसरी/  धरान–१५ की मनिता घिमिरेले तीतेपाती, नीम, घिउकुमारी, बकाइनोजस्ता वनस्पतिबाट साबुन बनाउने घरेलु उद्योग सञ्चालन गरेको सात वर्ष भयो । उहाँले उत्पादन गरेको साबुन मेला, महोत्सव, प्रदर्शनीलगायत नेपालमा मात्र नभएर विदेशमा समेत बिक्छ । विदेशबाट पनि ‘अनलाइन’ मार्फत माग गर्ने ग्राहक धेरै भएको उहाँ बताउनुहुन्छ । 

    केही वर्षअघि काठमाडौँको ठमेलमा एकजना विदेशीबाट साबुन बनाउने तालिम लिएपछि जानेको सीपको उपयोग गर्दै उहाँले उद्योग सञ्चालन गर्नुभएको हो । 

    २५–३० हजार रुपैयाँको लगानीमा सुरु गरेको व्यापार अहिले राम्रो आम्दानीको स्रोत बनेको छ । नेपालमै सिकेको सीपलाई उपयोग गर्न सकियो भने थोरै लगानीबाट राम्रो आम्दानी गर्न सकिने उहाँको भनाइ छ ।

    उहाँले आफूमा रहेको सीपलाई विस्तार गर्ने उद्देश्यले देशका विभिन्न ठाउँमा आयोजित तालिमहरुमा महिलालाई प्रशिक्षित गराउनु भएको छ । 

    महिलाहरुले फुर्सदको समय सदुपयोग गरेर साबुन बनाई आम्दानी गर्न सक्ने उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘गाउँघरमा पाइने वनस्पतिको प्रयोग गरेर साबुन बनाउन सकिन्छ, यसबाट उपभोक्तादेखि मुलुकलाई नै फाइदा हुन्छ ।’

    सानो लगानीबाट गर्न सकिने यस्ता व्यवसायका लागि स्थानीय सरकार र स्थानीय तहमा वडा कार्यालयले पनि विपन्नलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको उनको सुझाव छ । पछिल्लो समय जलवायु अनुकूलको दृष्टिले पनि रैथाने बालीप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको छ ।

    अहिले धरानमा सञ्चालन गरिएको एक्स्पोमा पनि उहाँले बनाएको साबुन किन्नेको घुइँचो देख्न सकिन्छ । मेलामा राखिएका रैथाने उत्पादनहरुप्रति उपभोक्ताहरुको आकर्षण बढेको छ ।

    किबीखेतीको व्यावसायिकता
    पाँचथरका जुनु लावती २०६८ सालदेखि किबीखेती गर्दै आउनुभएको छ । उहाँले सनम फलफूल उत्पादन तथा प्रशोधन उद्योग फार्म सञ्चालन गर्दै आउनुभएको छ । परम्परागत निर्वाहमुखी खेतीभन्दा व्यावसायिकखेती गरी आम्दानीसँग जोडिने नगदेबालीका रुपमा किबीखेती उपयुक्त लागेकोले २०६८ सालदेखि यसको खेती सुरु गरेको उहाँले बताउनुभयो । 

    उहाँले यसमा कृषि फर्म, नर्सरी र प्रशोधन केन्द्र स्थापनामा झण्डै एक करोड रुपैयाँ बराबरको लगानी गरिसक्नुभएको छ । उहाँले अहिले ४५ रोपनी क्षेत्रफलमा किबीखेती गरिरहनुभएको छ भने भाडामा जग्गा लिएर १५ रोपनी क्षेत्रफलमा नर्सरी स्थापना गर्नुभएको छ । 

    पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने छैन, मिहेनत गरेमा कृषि पेसामै आत्मनिर्भर हुन सकिने उहाँको भनाइ छ । उहाँ थप्नुहुन्छ, ‘कृषिमा लागेर पनि सफल व्यवसायी बन्न सकिने रहेछ ।’

    उहाँ धरान एक्स्पोमा किबीको व्यापार गर्दै आउनुभएको छ । किबी र किबीबाट उत्पादन गरिएका जुसको व्यापार अत्यधिक मात्रामा बिक्री भइरहेको छ । एक्स्पोमा किबी फलबाट उत्पादन गरिएको किबीको जुस, अचारलगायत किबीबाट उत्पादन गरिएको विभिन्न वस्तुहरु बिक्रीका लागि राखिएको छ ।

    सूचना प्रविधिको पहुँचबाट टाढा रहेका कारण आफूले अनलाइनको माध्यमबाट बजारीकरण गर्न नसकेकाले विभिन्न जिल्लामा आयोजित एक्स्पो मेला, महोत्सवलगायत ठाउँहरुमा पुगेर आफ्ना उत्पादनहरु बिक्रीका लागि लैजाने गरेको उहाँले बताउनुभयो । 

    यस्ता मेला, महोत्सवहरुमा दैनिक ८० हजारदेखि एक लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उहाँको भनाइ छ । 

    उहाँले भन्नुभयो, ‘दुर्गम ठाउँहरुमा उत्पादन गरिएका कृषि रैथाने बाली पर्याप्त पौष्टिक तत्वले भरिपूर्ण हुने र स्वास्थ्यका लागि फाइदाजनक हुने हुँदा बिस्तारै उपभोक्ताहरुको आकर्षण बढ्दो छ । अझै यसबारे प्रचारप्रसार र आम सर्वसाधारणमा जानकार र चेतना पु¥याउन सकिएमा बजारको समस्या हुने थिएन ।’

    उहाँ थप्नुहुन्छ, ‘किबी उत्पादन भए पनि बजारको समस्या छ । किसानले उत्पादन गरेको वस्तुहरु सरकारले उचित मूल्यमा खरिद गरी बजारीकरण गरिदिए किसानलाई सहज हुनेछ । किसानहरुले उत्पादन गरेका वस्तुहरु बिक्री हुने कुरा सुनिश्चित गर्न सकिए नेपालमै स्वरोजगार सिर्जना गर्न सकिन्छ ।’

    उहाँले किबी खेतीबाहेक नर्सरीबाट पनि राम्रै आम्दानी गरिरहनुभएको छ । उहाँको नर्सरीबाट उत्पादन गरिएका विभिन्न जातका बिरुवाहरु पाँचथर, सुनसरी, झापा, मोरङ, धनकुटा, इलाम, सङ्खुवासभा, भोजपुरलगायत जिल्लामा मात्र होइन, भारतका विभिन्न सहरहरुमा समेत बिक्री हुने गरेको छ ।

    सक्खर व्यापारले दिएको गुलियो जीवन
    विगत २० वर्षदेखि सख्खरको व्यापारमा रमाई रहनुभएका सङ्खुवासभाका दिलीप मगरलाई पनि यस पटकको धरान एक्स्पो निकै फाइदाजनक बन्यो । उहाँ सक्खरको व्यापारबाट राम्रै आम्दानी भएको बताउनुहुन्छ । लामो समयसम्म सुँगुरपालन र दानाखेती गर्दै आउनुभएका उहाँ २० वर्षदेखि सक्खरको व्यापारमा लाग्नुभएको छ । 

    अहिले डिएलएमएस बहुउद्देश्यीय कृषि तथा पशुपँक्षी फार्म खोलेर सक्खरबाहेक अम्रिसोको कुच्चो, निबुवाको चुक साथै अन्य अग्र्यानिक कृषि उत्पादनको व्यापार पनि गर्ने गर्नुहुन्छ । 
    सक्खरको व्यापार मौसमी पेसा भएकाले वर्षमा नौ महिना मात्रै यसको व्यापार हुने गर्दछ । नौ महिनामा मात्र उहाँले पाँच हजार केजीभन्दा बढी सक्खर बनाएर बिक्री गरेको र यसबाट १२ लाख रुपैयाँसम्म आम्दानी भएको उहाँको भनाइ छ ।

    सक्खर बनाउनका लागि मात्र उहाँले ९५ रोपनी जग्गामा उखुखेती गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो, ‘सक्खर बनाउनका लागि उखु बाहिरबाट खरिद गर्नु पर्दैन, आफैँले खेती गरेको कारण निकै सहज भएको छ ।’

    उहाँको फार्ममा बास्नादार र शुद्ध सादा गरी दुई किसिमको सक्खर पाइन्छ । बास्नादार सक्खर बनाउँदा ल्वाङ, सुकुमेल, गरम मसला र नरिवल हालेर बनाउने गरिन्छ भने शुद्ध सादामा केही नहाली बनाइएको हुन्छ । उहाँले सादा सक्खर अहिले प्रतिकेजी दुई सय रुपैयाँ र बास्नादार सक्खर पाँच सय रुपैयाँमा बिक्री भइरहेको बताउनुभयो । 

    उहाँका अनुसार सक्खर किन्नका लागि धेरैजसो व्यापारी फार्ममै पुग्ने गरेका छन् भने कतिपयले फोनबाट माग गर्दछन् । फार्मबाट बिक्री गर्नुभन्दा मेला, महोत्सवमा बिक्री गर्दा बढी फाइदा हुने गरेको उहाँको भनाइ छ ।

    पछिल्लो समय धेरै मानिसमा मधुमेहको समस्या देखिएकाले पनि चिनीको सट्टा सक्खरको प्रयोग गर्न थालेपछि यसको व्यापार बढेको उहाँको बुझाइ छ । उहाँले उत्पादन गरेको सक्खर सुनसरी, धनकुटा, मोरङ, विराटनगर, झापा, काठमाडौँ, पोखरालगायत ठाउँमा बिक्री हुने गरेको छ ।

    एक्स्पोमा सक्खर किन्न आउनुभएका धरानका साजन उदासले पछिल्लो समय गुलियो पारखीहरुका लागि सक्खर निकै लाभदायी भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘चिनीको प्रयोग गर्दा विभिन्न किसिमका रोग लाग्ने गरेकाले सक्खरको प्रयोग गर्न थालेको हुँ ।’ सक्खरलाई चिनीको सट्टा चिया, रोटीलगायत अन्य परिकारहरुमा प्रयोग गर्ने गरेको उहाँको भनाइ छ ।

    एक्स्पोले गरायो बजारीकरण
    सुनसरी उद्योग वाणिज्य सङ्घको आयोजना, स्थानीय सरकार, धरान उपमहानगरपालिका, कोशी प्रदेश सरकार, सङ्घीय सरकारको सहयोगमा सुरु भएको धरान एक्स्पोबाट स्थानीय किसानका साथै उपभोक्ताहरु लाभान्वित भएका छन् ।

    व्यापार–व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पोमा हस्तकलाका सामग्री, कृषिजन्य उत्पादनहरु राखिएका छन् । सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठ भन्नुहुन्छ, ‘एक्स्पोमा विषादीयुक्त तरकारीका साथै कृषि उपजको आयातलाई निरुत्साहित गर्दै किसानले उत्पादन गरेको स्थानीय उत्पादनहरुलाई प्राथमिकतामा राखेर एक्स्पोको आयोजना गरिएको हो ।’

    एक्स्पोमा स्थानीय उत्पादन र किसानलाई अग्र्यानिक उत्पादनमा जोड दिँदै बिक्री कक्षहरु राखेर प्राविधिक सहयोग गर्दै आएको धरान एक्स्पो अनुगमन समितिको संयोजक जयप्रकाश शर्माले बताउनुभयो । स्थानीय निकायमा भएका सानादेखि ठूला उद्योगबाट उत्पादन भएका सबै उत्पादनलाई एक्स्पोमा प्रदर्शनीका लागि राखिएको एक्स्पोका मूल संयोजक गोपाल श्रेष्ठ बताउनुहुन्छ । 

    एक्स्पोमा राखिएका एक सय ४२ वटा स्टलमा कृषिउपज, कृषि औजार, घरेलु तथा साना उद्योगका उत्पादन, तयारी कपडा, घरेलु सामान प्रदर्शनी र बिक्रीका लागि राखिएका छन् ।

    एक्स्पोमा कोशी प्रदेशका विभिन्न जिल्लाहरु र छिमेकी दार्जिलिङलगायत भारतका विभिन्न स्थानबाट अवलोकन तथा व्यापार–व्यवसायका लागि आउने मानिसको भीड लागेको छ । एक्स्पो गत पुस २५ गतेदेखि सुरु भई यही माघ ५ गतेसम्म सञ्चालन भइरहेको छ ।

    –रासस