२६ जेठ २०८२ सोमबार | 09 Jun 2025 Mon

बीउ

शनिबार साहित्य



  •  लीलाराज दाहाल
  • ५ माघ २०८१ शनिबार (५ महिना अघि)
  • पाठक संख्या २४५
  • ‘अँ, साँच्चै, माड्सावका छोराहरु पनि छुट्टिएछन् है !’  परबाट आउँदै गरेका होतराजले मतर्फ हेर्दै यति भनेको सुन्दा मेरो मन फेरि एक तमासको भयो । मलाई नै भनेको भनेर बुझ्न मलाई कुनै कठिनाइ भएन । कतै पनि नभनेको बिषय पनि कति छिटो गाउँभरि फैलिइसकेछ । 

    छोराहरु छुट्टिएको कुरा एकदिन त सबैलाई थाहा हुने नै थियो तर यति छिटो सबैले थाहा पाउलान् भन्ने कुरा मैले पनि ख्याल गरेको रहेनछु । मलाई तत्काल केही भनिहाल्न मन लागेन उनलाई ।

    वरपिपलको चौतारीमा सिरसिर बतास चलिरहेको भए पनि मेरो मन भने भित्रैदेखि भतभत पोलिरहेको थियोे । मनभित्रको उकुसमुकुस कम हुन्छ कि भनेर म यसो चौतारोमा निस्केको थिएँ ।

    मनको आकाशमा उदासीको बादल मडारिइरहेको थियोे । मनलाई सान्त्वना दिन पनि मलाई अचेल एकान्त मन पर्न थालेको थियोे ।

    तर, एकान्त पाउनु कसरी ? जता गए पनि जता बसे पनि कसै न कसैले मलाई देखिहाल्थे । बोल्न आइहाल्थे । सकेसम्म कसैसँग भेट्नु, बोल्नु नपरोस् भन्ने ठान्थें । त्यसैले मलाई मौनताको आसन प्रियकर लाग्नु स्वभाविक थियोे ।

    मन नलागी नलागी यतिमात्र बोलें, ‘हो, छुट्टिए । पुर्खाहरु पनि सधैं एउटै भान्सामा अटाएनन् ।’

    ‘अनि तपाईंहरु कुन छोराको साथमा बस्नु भयो नि ?’ उनी अन्तर्वार्ता लिन तयार भएको पत्रकार झैं फेरि प्रश्नको झटारो बोकेर मुसुमुसु हाँसिरहेका थिए ।

    ‘हामी त दुबै छोराहरुसँगै बसेका छौँ । कुनैसँग नबसेपछि दुबैसँग बसेजस्तो भैहाल्ने रहेछ ।’ मनभित्रै स्वर दवाएर फेरि यति बोल्न बाध्य भएँ ।

    ‘अनि अंशबण्डा कसरी गर्नु भयो नि ? आफूहरूलाई के कति सम्पत्ति राख्नु भयो ? पछि हेरचाह गर्ने कोही नहोलान् नि । त्यो कुरा कत्तिको बिचार गर्नु भएको छ ?’ उनले मलाई केरकार गर्न छोडेनन् ।

    उनले मलाई यसरी सोधिरहेका थिए कि मानौं उनी न्यायाधीश हुन् । उनको अनुमति बेगर हामीले अंशबण्डा गर्नु हुँदैनथ्यो । मैले उनको चासोलाई पनि सामान्य रुपमा लिएँ किन कि वरिपरि छरछिमेकमा के भैरहेको छ भनेर चियोचासो लिनु गाउँघरको बिशेषता नै हो ।

    कसैको केही मतलव नराख्ने ठाउँ त शहर बजार हो भन्ने कुरा मनमा आएपछि मैले उनका सवालहरुलाई नकारात्मक रुपमा लिइनँ ।
    बिस्तारै भनें, ‘आफूलाई पनि राखेका छौं । पुग्ने गरी राखेका छौं ।’

    यति भनेर म निकै समयसम्म मौन रहें । केही बोलिनँ । उनको हाउभाउ र अवस्थाको पनि खासै वास्ता गरिनँ ।

    उनलाई मैले खासै महत्त्व नदिएपछि उनी अगाडि बढे । म पनि फर्केर घर आएँ । 
    ...

    घर आइपुग्नासाथ फेरि पनि बिरक्तियो मन । मनभित्र विभिन्न कुराहरु खेलिरहेका थिए । श्रीमतीको अनुहारमा पनि पीडाका छायाँहरु सलबलाई रहेका थिए । श्रीमतीको फुङ्ग उडेको अनुहारले धेरै कुरा बताइरहेको थियोे । 

    गृहस्थीको दाम्लोले बाँधिएकी उनी । न खानको ठेगान न सुत्नको ठेगान । दिनहुँजसो खेतबारीमा ब्यस्त हुँदा टाक्सिएको ज्यान । घरिघरि त श्रीमतीलाई देख्दा पनि मनमा दिक्दारीको लहर सल्बलाउन थाल्थ्यो । 

    मानौं उनको उदास मनले भनिरहेको थियोे, ‘तपाईंले ठीक गर्नु भएन । तपाईंले ठीक गर्दै गर्नु भएन । आफूलाई पनि केही सम्पत्ति राख्नु पथ्र्यो । एउटा छोरो छान्नु पथ्र्यो । कस्तो वेपर्वाह मान्छे तपाईं त ।’

    मलाई श्रीमती नजिक पनि धेरैबेर बस्न मन लागेन । केही न केही गुनासो गरिरहने बानी छ उनको । उनले हरदम असन्तुष्टिको गहना पहिरेकी हुन्थिन् । 

    आफूलाई खासै सम्पत्ति नराखी छोराहरुलाई भाग लगाइदिँदा त उनीहरूको चित्त बुझिरहेको थिएन । अझ आफूलाई बढी भाग राखेको भए के पो हुन्थ्यो होला । हुन त दुवैजना छोराहरु कमाउने नै छन् । आ–आफ्नो तरिकाले गरिखाएका छन् तर पनि उनीहरूलाई नै पुगेको छैन । 

    सम्पत्तिको भोक कस्तो हो कुन्नि । जेठो छोरोले भन्यो, ‘म अंशमा ठगिएँ । बुवाले कान्छो छोरालाई काखी च्याप्नु भयो । राम्रा घडेरीयोग्य जग्गा जति सबै भाइलाई पर्दा पनि बुवाको विवेकले असमानता देखेन । म त छोरै होइन रहेछु ।’

    जेठो छोरो मलाई पक्षपाती भनिरहेको थियोे । मेरो दृष्टिकोणमा मैले दुबैलाई बराबर गरेको जस्तो लागिरहेको छ । फरक त मैले दुवैलाई गरेको थिइन । 

    फेरि कान्छो छोराको आरोप छुट्टै थियोे ममाथि । सोही दिन उसले भन्यो, ‘बुवाले मलाई ठग्नु भयो । बनिबनाउ घर जेठाको भागमा पर्दा पनि चुइँक्क केही बोल्नु भएन । बुवाको मन पनि मन नै रहेछ ।’

    कसको कुरा सही भन्नु । कसको कुरा गलत भन्नु । श्रीमतीको चित्त नबुझे पनि भएको सबै जसो सम्पत्ति छोराहरुलाई भाग लगाइदिएँ । आफूलाई त के नै राखेको छु र । अलिकति घर घडेरी मात्रै राख्दा पनि छोराहरुलाई अंश पुगेनछ । अव त दुवै रिसाएका छन् मसँग । ...

    दुबैजना मुलघरमा आउनै छोडे अचेल । अंशबण्डा गरेपछि त सबै खुसी हुनुपर्ने नि । बाहिर बाहिर गुनासो गर्दै हिँडेको भन्ने सुन्छु तर पनि मेरो मनले कसैगरी पत्याएको छैन । मलाई अझै पनि लाग्छ मेरा छोराहरु खराव छैनन् । घरिघरि त खराव मै हुँ कि जस्तो पनि लाग्छ । 

    जागिरबाट निवृत्त हुँदा पाएका सञ्चयकोष, विदा र औषधोपचारको सबै रकम घर बनाउँदै सकियो । पछि त्यही घरमा ठूलो कचिङ्गल हुन गयो । त्यही घर जेठो छोराको भागमा परेकाले कान्छो छोरो मसँग मुर्मुर्रिएको थियोे । हुन त घर पाएर पनि जेठो छोरो मसँग खुसी थिएन । सबै रकम सिध्याएँ भनेर मसँग श्रीमतीको पनि गनगन बढेको थियोे ।

    एकैचोटि अतितको आँगनमा पुगेर पछारिन्छु । 

    दुईवटा छोरा र दुईवटी छोरी सहितको मेरो परिवार साँच्चिको नमुना थियोे । म विद्यालयमा पढाउँथे । श्रीमतीले घर गृहस्थीको जाँतो घुमाउँथिन् । बा–आमा बुढाबुढी भैसक्नु भएको थियोे र घर कुरुवाको जिम्मेवारी वहन गरिरहनु भएको थियो । छोराछोरी मैले पढाउने विद्यालयमा नै पढ्दै थिए । 

    छोराछोरीले सफलताको खुट्किलो उक्लँदै जाँदा हाम्रो छाती पनि त्यसैत्यसै खुसीले फुलेर आउँथ्यो । हाम्रो गाउँ जति शुन्दर थियोे त्यो भन्दा बढी मेरो परिवार शुन्दर छ जस्तो लाग्थ्यो । 

    आफुले सकेसम्म छोराछोरीलाई शिक्षा दिँदै आएँ । सबैले विद्यालय शिक्षा पुरा गरे । उनीहरूले पढ्न सकेसम्म र मैले पढाउन सकेसम्म सबै छोराछोरीलाई उच्च शिक्षा दिलाउने प्रयत्न गरें । कसैले पढ्न सके, कसैले पढ्न सकेनन्, त्यो बेग्लै कुरा भयो । 

    सबैको बिहादान पनि गराइदिएँ । छोराहरु दुबै आआफ्नो योग्यताले जागिरे भए । म खुसीले फुरुङ्ग भएको थिएँ । मेरो मनमा सदैव उमङ्गको लहर सलबलाई रहन्थ्यो ।

    ‘होइन, चिया चिसो भएन ? किन नपिउनु भएको ? गिलाँसमा पानी पनि त्यत्तिकै छ ।’ श्रीमतीको आवाजले म एकैचोटि झसङ्ग भएँ । 

    म त तन्द्रामा पो रहेंछु । मनभरि यादका लहरहरु सल्वलाइरहेका थिए । मन कस्तो कस्तो उदास भएको थियोे । चियाको गिलास टिपेर पिई नसक्दै श्रीमतीले फेरि भनिन्, ‘सधैंभरि कति छोराहरुको चिन्तामा डुब्नु भएको । जाउँ, एकछिन खेततिर पुगेर आउँ ।’

    ‘अव कतै नजाने । कस्को खेततिर जानु । खेत त छोराहरुलाई दिइहालियो ।’ के के सोच्दा सोच्दै यति त भनिहालेंछु । पछि भने आफैंलाई कस्तो कस्तो लाग्यो । 

    राख्न त अलिकति खेत आफूलाई पनि राखेको थिएँ । अलिकति घडेरी र घर आफूलाई पनि राखेको थिएँ । मनमा विभिन्न कुराहरु खेल्दै थिए । कहिले त के बोलें भन्ने पनि बिर्सन थालेको थिएँ । 

    जति बुझाउन खोजे पनि मनको घाउ कसैगरी ओभाउन सकिरहेको थिएन । आँखाहरु कसैगरी ओभाउन मानेका थिएनन् ।

    ‘हामीलाई पनि राखेको होइन र खेत ?’ श्रीमतीको अविश्वासयुक्त कथनले मेरो मनलाई फेरि उद्वेलित बनायो । 

    मेरा आँखाबाट कसरी कसरी आँसु झरिसकेछन् । पछाडि फर्केर आँसु पुछें र सुस्तरी भनें, ‘तीन भागको एक भाग हामीलाई पनि राखेको । अव हामीलाई धेरै पनि पो किन चाहियो र । छोराहरु खुसी रहुन् । सुखी रहुन् । त्यति भए हामीलाई भैहाल्यो नि ।’

    मैले कसोकसो यति भन्न भ्याइहालेंछु । एक्कासि मेरा गह भरिएर आए । श्रीमतीको गुनासो अझै सकिएको थिएन । उनको मन पनि एक तमासको भएको मैले अनुभव गरिरहेको थिएँ ।

    उनले भनिन्, ‘अब बुढा–बुढी हुन लागियो । सम्पत्ति त हामीलाई पनि चाहिन्छ । अझ आफूलाई अलि बढी राख्नुपथ्र्यो । बिरामी परियो भने कसले गरिदेला त हाम्रो उपचार ।’

    ‘आ, छाडिदेउ । बुढेसकालमा किन चाहियो सम्पत्ति । उपचार गरे पनि मरिन्छ नगरे पनि । त्यही पनि अलिअलि पेन्सन पनि त आउँछ नि मेरो ।’ भविष्यप्रति कुनै चिन्ता नराखी मैले यति भनें र अनुहारमा उम्रिएको वेदनाको चाया पखाल्न बाटोतिर निस्किएँ ।

    छोराहरु छुट्टिएको पनि ठ्याक्कै एक महिना भयो आज । त्यसपछि छोराहरु फर्केर पनि आएका थिएनन् । 

    छोराहरुलाई छुट्याउन मलाई पटक्कै मन थिएन । छोराहरुको बीचमा मनमुटावको पर्खाल निकै अग्लो भैसकेको थियोे । भेट हुँदा दाजुभाइ नबोल्नु त सामान्य कुरा भैसकेको थियो । उनीहरूको व्यवहार शत्रु राष्ट्रहरुका बीचमा युद्धरत सिपाहीहरुको जस्तो भैसकेको थियोे । 

    एउटै घरमा रहँदा बस्दा कतिबेला के हुने हो केही ठेगान थिएन । दाजुभाइका बीचमै डरलाग्दो अवस्था सिर्जना भएपछि मात्र छोराहरुलाई छुट्याउन म राजी भएको थिएँ ।
    ... 

    अति भएपछि खति हुन्छ भन्छन् । त्यसैले मन नमाने पनि छोराहरुलाई छुट्याइदिनु नै बुद्धिमानी होला भनेर छोरा–बुहारी सहितको भेला बोलाएँ ।

    छोराहरुको यादले तड्पेकी श्रीमतीले पनि मलाई नै अर्घेलो सम्झिरहेकी थिइन् । एउटा छोरासँग बस्न नपाएको पिरलोले उनलाई निकै सताइरहेको थियोे ।

    एकदिन अपर्झट छोराहरुलाई बोलाएँ । दुबैलाई अगाडि राखेर भनें, ‘हामीले राखेको यो घर घडेरी र खेत पनि तिमीहरू आधा आधा बाँड । यो कलहको बीउ किन बाँकी राख्नु ।’

    केहीबेर दुबै मुखामुख गरे । मेरो कुरालाई उनीहरूले कसरी लिए उनीहरू नै जानुन् । दुबै केही बोलेनन् । ‘जति दिनुभयो हामीलाई पुग्छ, तपाईंहरु पनि राख्नुहोस्’ भन्लान् जस्तो लागेको थियोे तर उनीहरूले केही भनेनन् । श्रीमती पनि यतिखेर केही नबोली बसिरहेकी थिइन् । 

    छोराहरुको मौनतालाई चिर्दै मैले फेरि जोड दिएर भनें, ‘तिमीहरूलाई सम्पत्ति पुगेनछ । हामीलाई त अव किन चाहियो र । हाम्रो भाग पनि तिमीहरु आधा आधा बाँडेर लैजाओ । हामीलाई केही दिनु पर्दैन । बरु बेलाबेलामा भेट्न आउनु । हामीलाई यति भएपछि पुग्छ । छोराहरु छन् भन्ने आभासले मात्रै पनि अब हामीहरुको जीवन चल्छ ।’

    उनीहरू बल्ल अलिअलि मुस्कुराए । मैले पनि धेरै दिनपछि अलिकति सन्तोषको सास फेरें ।

    वागमती ११, कर्मैया, सर्लाही