७ असार २०८२ शनिबार | 21 Jun 2025 Sat

किवीको बिरुवा बेचेरै वर्षको पाँच लाख 



  • आफ्नै खबर
  • ६ माघ २०८१ आईतबार (५ महिना अघि)
  • पाठक संख्या ११६
  • डडेल्धुरा/  किवीको बिरुवा बिक्री गरेर आलिताल गाउँपालिका–२ का लक्ष्मण थापामगरले वार्षिक पाँच लाख रुपैयाँ आम्दानी गर्दै आउनुभएको छ । उहाँले विगत तीन वर्षदेखि ध्रुव कृषि फार्म सञ्चालन गर्दै आउनुभएको छ । 

    थापामगरले अहिले डडेल्धुरामा उत्पादन गरिएका विभिन्न प्रजातिका किवीका बिरुवा सुदूरपश्चिमका विभिन्न जिल्लामा बिक्री गर्नुहुन्छ । फार्मबाट रेडकिवी, हेवार्ड, ब्रुनो, मन्टी एलिसन, जेसबेरी र ग्रिन क्विन गरी ६ प्रजातिका किवीको बिरुवाउत्पादन तथा बिक्री भइरहेको छ । 

    उहाँले आलिताल–२ को लामिटुडामा रहेका फार्मको शाखा अमरगढी–२ कुस्मालीमा पनि स्थापना गर्नुभएको छ । लामिटुडास्थित फार्ममा करिब १५ रोपनी जमिनमा व्यावसायिक रूपमा किवीखेती गर्दै किवीको बेर्नासमेत उत्पादन गरिरहेको उहाँले बताउनुभयो । 

    फार्ममा हाल पाँच हजार बिरुवा उत्पादन गरी सुदूरपश्चिमका पहाडी जिल्लामा बिक्री गरिरहेको सञ्चालक थापाले जानकारी दिनुभयो । किसानहरूको मागअनुसार किवीका बोट उपलब्ध गराइरहेको र प्रतिबोट एक सय ५० रुपैयाँका दरले बिक्री गरिरहेको उहाँले जानकारी दिनुभयो । 

    डेढ रोपनी क्षेत्रफलमा उहाँले किवीको बेर्ना उत्पादन गरिरहनुभएको छ । किवीको बेर्ना जोगाउन एक–एक हप्तामा गोडमेल गर्नुपर्ने थापाले बताउनुभयो । बेर्ना बिक्री गरेरै वार्षिक पाँच लाख रुपैयाँ आम्दानी गरिरहेको थापाले आफूले किवीखेती सुरु गर्दा प्रतिबोट पाँच सय रुपैयाँका दरले किनेर लगाएको बताउनुभयो । 

    अहिले डडेल्धुरा जिल्लामा ४०–५० किसानले किवीखेती गर्दै आएका छन् । सुरुमा एकपटक लगानी गरेपछि ४०–५० वर्षसम्म उत्पादन दिइरहने र बजारको अभाव नहुने भएपछि किसान किवीखेतीतर्फ आकर्षित भएका कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्र पनेरुले बताउनुभयो । उहाँले भन्नुभयो, ‘किवीखेतीका लागि मौसमअनुसार पनि डडेल्धरा उपयुक्त मानिने हुदाँ त्यसतर्फ किसान बढी आकर्षित भएका छन् ।’

    –रासस