पर्सा/ मधेश प्रदेशमा आर्थिक वर्ष २०८०/८१ मा ४५ हजार पाँच सय ७१ मेट्रिक टन माछा उत्पादन भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन(मधेश प्रदेश) अनुसार आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा मधेश प्रदेशका आठ जिल्लामा माछाको उत्पादन ५.०४ प्रतिशतले वृद्धि भएको हो ।
राष्ट्र बैंकका अनुसार आव २०७९/८० मा मधेश प्रदेशमा माछाको उत्पादन ४३ हजार तीन सय ८६ मेट्रिक टन रहेको थियो । मधेश प्रदेशमा भएको कूल माछा उत्पादनमा बारा जिल्लाको हिस्सा सबैभन्दा धेरै अर्थात २२.४३ प्रतिशत रहेको छ । पर्सा जिल्लामा भएको माछा उत्पादनको हिस्सा सबैभन्दा कम ७.९९ प्रतिशत रहेको छ ।
पर्साको पकहाँमैनपुर गाउँपालिकामा व्यावसायिक ढङ्गले दिपेन्द्र माछापालन उद्योग सञ्चालन गर्दै आएका दीनानाथ साह माछा उत्पादनमा वृद्धि भए पनि माछाको उचित बजार मूल्य नपाएको गुनासो गर्नुहुन्छ ।
‘विगतमा भारतबाटै माछाको आयात धेरै हुने गथ्र्याे । अहिले कम्तीमा पनि यहाँ माछाको उत्पादन बढीरहेको छ’, उहाँले भन्नुभयो, ‘माछाको भुरा र माछापालन सम्बन्धित प्राविधिक ज्ञानको अभाव भने खड्किरहेको छ ।’
राष्ट्र बैंकको प्रतिवेदनले माछा उत्पादन मात्रै नभएर यस प्रदेशमा दूधजन्य पदार्थको उत्पादनमासमेत वृद्धि भएको देखाएको छ । आव २०८०/८१ म मधेश प्रदेशमा दूधको उत्पादन १.९३ प्रतिशतले वृद्धि भई ६ लाख ५४ हजार एक सय २३ लिटर पुगेको छ ।
मधेश प्रदेशका आठ जिल्लामध्ये दूध उत्पादनको सबैभन्दा ठूलो हिस्सा भने सिरहा जिल्लाको रहेको छ । उक्त जिल्लाको हिस्सा २०.४४ प्रतिशत रहेको छ, भने सप्तरी जिल्लाको हिस्सा सबैभन्दा कम ७.८३ प्रतिशत रहेको छ ।
त्यस्तै मधेश प्रदेशमा मासुको उत्पादन २.९८ प्रतिशतले वृद्धि भई एक लाख ४३ हजार ६ सय ७० मेट्रिक टन पुगेको छ । मधेश प्रदेशमा अण्डाको उत्पादन पनि बढेको देखिन्छ । आव २०७९/८० को तुलनामा मधेश प्रदेशमा अण्डाको उत्पादन पनि २.७९ प्रतिशतले वृद्धि भई १० करोड ६९ लाख ३९ हजार गोटा उत्पादन भएको छ ।
प्रतिक्रिया दिनुहोस