१० मंसिर २०८२ बुधबार | 26 Nov 2025 Wed

नगरपालिकाले निर्ब्याजी ऋण दिने



  • आफ्नै खबर
  • १० माघ २०८१ बिहिबार (१० महिना अघि)
  • पाठक संख्या १३८
  • खोटाङ/  हलेसी तुवाचुङ नगरपालिकाका उद्यमी बन्न चाहने स्थानीयले बिना ब्याजको ऋण पाउने भएका छन् । कृषि, पशुपालन, होमस्टे (घरबास) सञ्चालनलगायतका लघुउद्यम गर्न चाहने स्थानीय नागरिकका लागि नगरपालिकाले पाँच लाख रुपैयाँसम्म निर्ब्याजी ऋण दिने व्यवस्था मिलाएको हो । 

    नगरपालिकाका स्थानीय उद्यमीलाई बिनाब्याजमा ऋण उपलब्ध गराउन नगरपालिकाले बुधबार प्रभु बैंक हलेसी शाखासँग सम्झौता गरेको छ । नगरपालिकाको सिफारिसको आधारमा बैंकले मूल्याङ्न गरेर उद्यमी बन्न चाहने स्थानीय नागरिकलाई निर्ब्याजी ऋण दिने सम्झौतामा उल्लेख छ । 

    नगरपालिकाभित्र खोलिएका लघु उद्योगको प्रवर्द्धन गर्दै उद्यम गर्न चाहने स्थानीय नागरिकलाई आफ्नै ठाउँमा कृषि, पशुपालन, होमस्टेलगायत व्यवसाय सञ्चालन गरेर स्वरोजगार बन्ने वातावरण बनाइदिनका लागि नगरपालिकाले ब्याज अनुदान कार्यक्रम ल्याएको नगरप्रमुख विमला राईले बताउनुभयो । 

    ‘उद्यम गर्न चाहने नागरिकका लागि लगानी अभाव नहोस् भनेर ब्याज अनुदान कार्यक्रम ल्याइएका छ । यसका लागि बैंकसँग सम्झौतासमेत गरिसकिएको छ’, उहाँले भन्नुभयो, ‘उद्यमीले बैंकबाट लिएको पाँच लाख रुपैयाँसम्मको ऋणको ब्याज तीन वर्षसम्म नगरपालिकाले तिरिदिन्छ । यसले लगानी अभावमा उद्यमी बन्न नपाएका नागरिकलाई सहज हुने अपेक्षा गरेछौँ ।’

    उद्यम गर्न चाहने स्थानीय नागरिकले बिनाब्याजको ऋण लिनका लागि सम्बन्धित वडा कार्यालयमा निवेदन दिनुपर्ने नगरपालिकाले बनाएको कार्यविधिमा उल्लेख छ । 

    वडा–वडामा सङ्कलन भएको निवेदनलाई समेटेर नगरपालिकाले बैंकलाई सिफारिस गरेपछि उद्यम गर्न चाहने नागरिकले ऋण पाउने हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो ।  

    लगानी अभावमा उद्यम गर्न नसकिरहेका स्थानीय नागरिक नगरपालिकाकै सिफारिसको आधारमा बिनाब्याज ऋण पाउने भएपछि उत्साहित भएका छन् । नगरपालिकाले गरेको सिफारिसअनुसार निवेदकको धितो मूल्याङ्कन गरेर बैंकले ऋण प्रदान गर्ने प्रभु बैंक हलेसी शाखाका प्रमुख तीर्थराज विष्टले बताउनुभयो । 

    यसैबीच, एघार वडा रहेको उक्त नगरपालिकाले पाँच मुरीभन्दा बढी बदाम फलाउने किसानलाई प्रोत्साहनबापतको रकम वितरण सुरु गरेको छ ।

    –रासस