३१ असार २०८२ मंगलबार | 15 Jul 2025 Tue

गेग्य्रान बगरमा फल्न थाल्यो ‘सुन’



  • आफ्नै खबर
  • १० माघ २०८१ बिहिबार (६ महिना अघि)
  • पाठक संख्या १२०
  • महोत्तरी/  ‘गरे के हुँदैन’ भन्ने भनाइ अहिले महोत्तरीको गौशाला–८ कुष्माढीको सनीखोला किनारमा अवस्थित नदीउकास जग्गा हेरे चरितार्थ हुन्छ । तीन वर्षअघिसम्म गेग्य्रान बलौटे खोलाको ढड्यान जग्गा किसानको मेहनतले अहिले ‘सुन फल्ने’ जमिन बनेको हो । 

    दुबो पनि नमौलाउने गेग्य्रान अहिले जता हेर्यो उतै हराभरा छ । सनीखोलाले बहाव छोडेर उकासेको बगरमा कुष्माढीका भूमिहीन किसानले नङ्ग्रा खियाएको तीन वर्ष भएको छ । नदीले बहाव छाडेको नदीउकास बगरको एक सय एक बिघा जग्गामा अहिले थरिथरिका फलफूलका बोट हलहली बढ्दैछन् । 

    संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले फलफूल रोपणमा किसानलाई सघाएको छ । यहाँ आँप, लिची र कागतीसहितका ११ हजार बोट हुर्कदैछन् । बगैँचाभित्र तरकारी बाली लहलह छ । यो बगरमा कुष्माढीका दुई सय एक भूमिहीन किसानको मेहनत हाँसेको छ ।

    गौशाला नगरपालिकाले भूमिहीन किसानको परिवार सङ्ख्याका आधारमा चार कट्ठादेखि १० कट्ठासम्म जग्गा छुट्याइदिएपछि २०७८ को अन्त्यतिर खनजोत थालिएको हो । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी), सेभ द चिल्ड्रेन अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको समुन्नति कार्यक्रम, सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल र गौशाला नगरपालिकाको साथले किसानको हौसला बढेको छ ।

    हराभरा बगरमा कतै गहुँ लहलह बढ्दैछ । कतै आलु धमाधम खनिँदै छ । किसानले जैविकखेती गर्ने हुँदा यहाँ उत्पादित फसल उपभोक्ताको पहिलो रोजाइमा पर्छन् । अहिले यहाँका किसानलाई उपभोक्ता ग्राहकलाई आलु तौलेर दिन भ्याइनभ्याइ छ । 

    ‘आलु लिने धेरैजसो खेतमै आइपुग्छन्’, किसान चन्द्रकला महरा भन्नुहुन्छ, ‘बगरखेती थालिकन गुजाराकै चिन्ता लिनुपरेको छैन ।’ बगरखेतीमा कुष्माढीका मुसहर, चमारसहितका गरिब दलित समुदाय र कोइरी, यादव र मगरसहितका जनजाति संलग्न छन् ।

    यहाँका किसानलाई गौशाला नगरपालिकाले नदीउकास क्षेत्रभित्रका चार किलोमिटर क्षेत्रभित्र विद्युतीकरण, दुई वटा डिपबोरिङ र सिँचाइका लागि ६ वटा पोखरी निर्माण गरी दिएको छ । यसैगरी समुन्नति कार्यक्रमले मलका लागि गड्यौलाखेती गर्न सिकाएको छ । 

    यसैगरी सामुदायिक विकास तथा पैरवी मञ्चले खेतीमा प्राविधिक र बीउबिजनको सहयोग गरेपछि आफूहरुलाई खेतीमा जाँगर बढेको किसान कामेश्वर महतो बताउनुहुन्छ । 

    ‘हामीसँग आफ्नो जग्गा थिएन, नगरपालिका र अरु संस्थाको सहयोगले खेती गर्ने जग्गा र अन्य सहयोग पायौँ, अब कसैकहाँ मजदुरी गर्न जान परेको छैन’, महतो भन्नुहुन्छ, ‘हामी मजदुरलाई बगरखेतीले किसान बनायो ।’

    बगरखेती गर्न थालेपछि कहिल्यै धन सञ्चय नगर्ने जाति समुदायको परिचय बनेका मुसहर पनि उम्दा किसानमा दरिएका छन् । मधेसमा मुसहरका लागि ‘न राख्ने अन्न, न साँच्ने धन’ भन्ने भनाइनै छ । 

    कृषि कार्यमा पोख्त मानिने मुसहरको किसानका खेतमा मजदुरी गरेर गुजारा चलाउने स्थापित परिचय छ । पछिल्लो कालमा सनीखोलाको नदीउकास जग्गा पाएपछि आफ्नै खेती थालेका मुसहर अन्न र नगद सञ्चय गर्न सक्षम भएका छन् ।

    ‘नदीउकास बगर पाएको पहिलो वर्ष त ढुङ्गा, गेग्य्रान खोस्रेर छेउ लाउँदै बित्यो, दोस्रो वर्षदेखि फसल लिन पाएका छौँ’, कुष्माढीका मुसहर समुदायकी ३५ वर्षीया कविता सदा भन्नुहुन्छ, ‘अब जहान परिवार पाल्न यही बगर खोस्रेर पुग्छ ।’

    पहिलेको बलौटे ढड्यान जग्गा नियमितको खनजोत, सिँचाइ र जैविक मलले अब उर्बर जग्गा बनेको छ । उत्तरतिर वनक्षेत्रसँगै जोडिएको यो जग्गामा वनक्षेत्र, खोल्साखोल्सी र खोलाले बगाएर ल्याएको पाँगो माटाका कारण रोपिएका फल रुख दुई वर्षमै हुर्केका र बालीनाली पनि हलक्क बढ्ने गरेको गौशाला–८ का वडाध्यक्ष भोजबहादुर दर्लामी बताउनुहुन्छ ।

    केही पहिलेसम्मका गरिब बगरखेतीले राम्रा किसान बनेका र उनीहरुको मेहनतले नदीउकास क्षेत्र हराभरा देखिँदा जग्गा बाँडिएको कुराले निकै सन्तोष दिने गरेको गौशालाका नगरप्रमुख डा. दीपेन्द्र महतोको भनाइ छ । 

    बगरखेतीका किसानलाई नगरपालिकाले गरेको सहयोग खेर नगएको हुँदा यस कामले आफूलाई निकै हौस्याएको डा. महतो बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘किसानका साथमा नगरपालिका छ, मेहनत किसानले गर्छन्, साथ हाम्रो रहन्छ ।’

    यसैगरी सामुदायिक विकास तथा पैरवी मञ्चका अध्यक्ष नागदेव यादवले पनि आफ्नो संस्थाबाट बगरखेतीका किसानलाई साथ सहयोग जारी रहने प्रतिबद्धता जनाउनुभएको छ । सबैको सकारात्मक साथले बगरखेतीका किसानको हौसला बढेको छ । 

    कुष्माढीकी किसान बिना पासवान भन्नुहुन्छ, ‘हाम्रो मेहनत सफल भएको छ, सबैको साथ रहीरहे हामी बगरमा सुन फलाउछौँ ।’ 

    सनीखोलाको बगरखेती अवलोकन गर्न टाढाटाढाबाट किसान समूह त्यहाँ पुग्ने गरेका छन् । यसबाट  आफूहरुलाई खेतीमा लाग्न ऊर्जा मिलेको पासवानले बताउनुभयो ।

    –रासस