२१ असार २०८२ शनिबार | 05 Jul 2025 Sat

तमोर करिडोरमार्फत टिप्ताला पुग्यो गाडी



  • आफ्नै खबर
  • ११ माघ २०८१ शुक्रबार (५ महिना अघि)
  • पाठक संख्या ११२
  • ताप्लेजुङ/  चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको नेपालको टिप्ताला क्षेत्रमा नेपाली सवारीसाधन सञ्चालनले नयाँ सम्भावनाको ढोका खोलिदिएको छ । तमोर करिडोरको मर्मतपश्चात कच्ची सडकमार्ग हुँदै टिप्तालासम्म जीप, ट्रयाक्टरलगायत सवारीसाधन नियमित रूपमा पुग्न थालेका छन् ।   

    टिप्ताला क्षेत्रको सहज पहुँचले पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पारेको छ । फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन शेर्पाका अनुसार सडक मर्मतसँगै अहिले धेरै यात्रु टिप्ताला क्षेत्र भ्रमण गर्न सवारीमार्फत आउन थालेका छन् । पहिले कठिन यात्राका रूपमा लिइने यो खण्डमा अहिले सहज रूपमा सवारीसाधन चल्न थालेपछि आन्तरिक पर्यटकको आगमन बढेको छ ।

    फक्ताङलुङ गाउँपालिका–६ को लेलेप र ७ को ओलाङचुङ्गोला हुँदै टिप्तालासम्मको खण्डमा खाल्डाखुल्डी पुर्ने, ह्युमपाइप राख्ने र नदी तथा खोल्साका भागलाई मर्मत गरिएपछि सवारी सञ्चालन सम्भव भएको हो । फुङ्लिङबाट टिप्ताला पुगेर फर्किने यात्रा अब तीन दिनमा सम्भव भएको छ । 

    ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण थापाको नेतृत्वमा गएको व्यवसायीको टोलीले तीन दिनभित्रै फुङ्लिङ–टिप्ताला ओहोरदोहोर गरेको छ । अध्यक्ष थापाका अनुसार यो खण्डमा नियमित व्यापारिक गतिविधि सञ्चालन गर्न सकिने सम्भावना बढेको छ । पानी र हिलोको समस्या केही ठाउँमा भए पनि समग्र यात्रा सहज छ । 

    वडाध्यक्ष शेर्पाका अनुसार हाल सुक्खा मौसममा मात्र सवारीसाधन सञ्चालन सम्भव भए पनि यदि तमोर नदीका मुख्य भागमा पक्की पुल निर्माण गरियो भने बर्खामा पनि सहज आवागमन हुनसक्छ । वडाध्यक्ष शेर्पाले भन्नुभयो, ‘सुकेपानी, जोङ्गिन र फेदी क्षेत्रमा पुल बनेपछि सधैँभरि टिप्ताला पुग्न सम्भव हुनेछ ।’  

    फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूका अनुसार सुकेपानीमा बेलिब्रिज निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढिसकेको छ । जोङ्गिन र ओलाङचुङ्गोलाका क्षेत्रमा मोटर गुड्ने पुल निर्माण भएमा टिप्ताला क्षेत्र पर्यटन र व्यापारको केन्द्रविन्दु बन्न सक्छ । 

    तिब्बतको डिङ्जी काउन्टी सरकार र ताप्लेजुङका सुरक्षा अधिकारीबीच भएको बैठकले पनि यस क्षेत्रमा थप अवसर सिर्जना गर्न सक्ने सङ्केत गरेको छ ।

    तिब्बत सरकारले टिप्तालाबाट फुङ्लिङसम्मको सडक कालोपत्र गरिदिन इच्छुक रहेको जनाएपछि सरकारले प्रस्ताव अघि बढाउने तयारी गरेको छ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार सरकार–सरकार सहकार्यमार्फत प्रस्ताव आएमा तिब्बतले सडक कालोपत्र गर्ने वचन दिएको छ । 

    टिप्तालासम्म सवारीसाधन सञ्चालनले ताप्लेजुङका दुर्गम क्षेत्रको विकास र सम्भावनालाई उजागर गरेको छ । सडक मर्मत, पुल निर्माण र अन्तरदेशीय सहकार्यले यो क्षेत्र पर्यटन र व्यापारिक केन्द्रका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ ।

    –रासस