३१ असार २०८२ मंगलबार | 15 Jul 2025 Tue

पोखरा भ्रमण वर्षको तयारीमा महानगरपालिका



  • आफ्नै खबर
  • ११ माघ २०८१ शुक्रबार (६ महिना अघि)
  • पाठक संख्या १०४
  • कास्की/  पोखरा महानगरपालिकाले पोखरा भ्रमण वर्ष २०२५ लाई भव्य रुपमा मनाउने तयारी गरिरहेको छ । महानगरको नीति तथा कार्यक्रममा समेटेको भ्रमण वर्षलाई यही जनवरी महिनाको अन्तिम या फेब्रुअरीमा औपचारिक कार्यक्रम गरेर अघि बढाउने तयारी गरिरहेको हो । 

    पोखरा महानगरका प्रमुख धनराज आचार्यले पोखरा भ्रमण वर्षलाई सफल बनाउन विशेष तयारीका साथ लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पोखरा भ्रमण वर्ष २०२५ हाम्रो महानगरको पर्यटन क्षेत्रको उन्नति र प्रवर्द्धनका लागि कोसेढुङ्गा साबित हुने विश्वाससहित हामीले गृहकार्य थालेका छौँ, सफल बनाउँछौँ ।’ 

    उहाँले नेपालको पर्यटकीय राजधानीका रूपमा रहेको पोखरालाई उत्कृष्ट गन्तव्य बनाउनका लागि विभिन्न पर्यटकीय गतिविधि, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकता दिएको बताउनुभयो । आचार्यले भन्नुभयो, ‘पोखराको पर्यटनलाई साँचो अर्थमा नयाँ उचाइमा पुर्याउनका लागि सबै पक्षको समन्वय र दीर्घकालीन दृष्टिकोण अपनाउनु पर्छ ।’

    प्रवेशद्वार निर्माण, फेवातालमा बाँध निर्माण, कोत्रेमझुवामा बहुउद्देश्यीय प्रवेश पार्क, फेवातालको माथिल्लो भागमा फेवा बीच विकास, रत्न मन्दिरलाई दरबार सङ्ग्रहालयका रूपमा पुनर्निर्माण, हेरिटेज ट्रेल र मेट्रो ट्याक्सी सेवाजस्ता पूर्वाधार विकास योजनाहरू कार्यान्वयन गरिने जनाइएको छ । 

    उहाँले मित्रराष्ट्र चीनले आफ्ना नागरिकका लागि नेपाल भ्रमण वर्ष २०२५ घोषणा गरेकोले नेपालको पर्यटन प्रवर्द्धनमा ऐतिहासिक भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘यो कदमले नेपाल र चीनबीचको मित्रता अझ सुमधुर बनाउनाका साथै पोखरालगायत नेपालको पर्यटकीय गन्तव्यलाई विश्वव्यापी रूपमा चिनाउने अवसर प्रदान गरेको छ ।’ 

    नेपाल भ्रमण वर्ष २०२५ र चिनियाँ नयाँ वर्षका अवसरमा ठमेल र भक्तपुरमा आयोजना गरिएका सांस्कृतिक महोत्सवहरूले नेपालको सांस्कृतिक विविधता, परम्परा र पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ । 

    पोखरा महानगरपालिकाका पर्यटन तथा सहरी विकास महाशाखा प्रमुख विमल रञ्जन कार्कीले पोखरा महानगरले वर्ष २०२५ लाई विशेष पर्यटन वर्षका रूपमा सफल बनाउन विभिन्न योजना समेटेको बताउनुभयो । 

    उहाँका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रमुख देशहरूमा नियमित उडान सुरु गर्ने, पर्यटन विविधीकरणका लागि साहसिक पर्यटनसँगै सांस्कृतिक, ग्रामीण र पर्यावरणीय पर्यटनलाई प्राथमिकता दिने तथा स्थानीय समुदायको प्रत्यक्ष सहभागितामा आधारित योजनाहरू लागू गरेर उनीहरूको आर्थिक स्थिति सुधार गर्ने उद्देश्य रहेको छ । 

    साथै, डिजिटल माध्यमबाट अन्तर्राष्ट्रियस्तरमा पोखराको प्रचार–प्रसार गर्दै पर्यटकलाई अविस्मरणीय अनुभव प्रदान गर्ने ‘लाइफटाइम एक्सपेरियन्स’ दिने नयाँ कार्यक्रमहरू सञ्चालन गरिनेछ । 

    महानगरले यो घोषणापश्चात १५ लाख पर्यटक भित्र्याउने महत्वाकाङ्क्षी योजना अघि सारेको कार्कीले जानकारी दिनुभयो । 

    ‘यस योजनामा पर्यटन, पूर्वाधार विकास, वातावरणीय दिगोपन, र सामुदायिक उत्थानलाई प्राथमिकता दिइएको छ’, कार्कीले भन्नुभयो, ‘निजी क्षेत्रसँग सहकार्य गर्दै वर्षभरि पोखरालाई पर्यटकीय गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने लक्ष्य महानगरले राखेको छ ।’

    प्रत्येक वडामा कम्तीमा एक पर्यटकीय गन्तव्य विकास गरी तालदेखि ताल, गुफादेखि गुफा, हाइकिङ मार्ग निर्माण गरिनेछ । विशेष परियोजनाहरूअन्तर्गत अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निर्माण, डेभिज फल्समा ग्लास ब्रिज, सेती नदी खोँचमा पर्यटक पूर्वाधारको विकास, फोहोर व्यवस्थापन केन्द्र निर्माण गरिने भएको छ । 

    फेवाताल, सराङकोट, र अन्नपूर्ण परिपथजस्ता गन्तव्यहरूलाई थप प्रवर्द्धन गर्नाका साथै नयाँ पारिस्थितिक पर्यटन पहल, सांस्कृतिक पर्यटन कार्यक्रम र समुदाय–आधारित परियोजनामार्फत पर्यटकलाई विविध अनुभव प्रदान गर्ने प्रयास पनि भइरहेको छ । 

    हालै मात्र सम्पन्न ड्रागन बोट रेस प्रतियोगिता, सडक महोत्सव, हट एयर बेलुन महोत्सवजस्ता जल, जमिन र आकाश लक्षित महोत्सवहरुले अन्तर्राष्ट्रियजगत्मा पोखरालाई चिनाउन थप सहयोग पुर्याएको छ ।

    त्यसैगरी, प्राकृतिक सुन्दरता र सांस्कृतिक सम्पदामा आधारित पर्यटन कार्यक्रम सञ्चालन गर्नाका साथै मुक्तिनाथ प्रवेशद्वार निर्माण, फेवातालमा बाँध निर्माण, कोत्रेमझुवामा बहुउद्देश्यीय प्रवेश पार्क, फेवातालको माथिल्लो भागमा फेवा बीच विकास, रत्न मन्दिरलाई दरबार सङ्ग्रहालयका रूपमा पुनर्निर्माण, हेरिटेज ट्रेल र मेट्रो ट्याक्सी सेवाजस्ता पूर्वाधार विकास योजनाहरू कार्यान्वयन गरिने जनाइएको छ । 

    एसियाली विकास बैङ्क (एडिबी) को आर्थिक सहयोगमा पोखराको पर्यटन विकास र स्थानीय जीविकोपार्जन सुधारका लागि विभिन्न परियोजनाहरु अहिले सञ्चालित रहेको पोखराको पर्यटन सुधार परियोजनाहरुबाट काम सुरुआत भएका छन् । 

    एडिबीबाट सहरी उत्थानशील तथा जीवनयापन सुधार आयोजनाका लागि तीन करोड १७ लाख ९० हजार अमेरिकी डलर आर्थिक सहयोग गरेको आयोजनाका म्यानेजर इन्जिनीयर कविता पौडेलले जानकारी दिनुभयो । 

    पोखरा पर्यटन परिषद्का वरिष्ठ उपाध्यक्ष हरि भुजेलले पोखरा महानगरपालिकाले घोषणा तयारी गरेको पोखरा भ्रमण वर्षले पर्यटन क्षेत्रको विकास र पोखराको विश्वव्यापी पहिचानका लागि महत्वपूर्ण अवसरका रूपमा लिन सकिने बताउनुभयो । 

    उहाँले हालै मात्र सम्पन्न ड्रागन बोट रेस प्रतियोगिता, सडक महोत्सव, हट एयर बेलुन महोत्सवजस्ता जल, जमिन र आकाश लक्षित महोत्सवहरुले अन्तर्राष्ट्रियजगत्मा पोखरालाई चिनाउन थप सहयोग पुर्याएको  बताउनुभयो । 

    भ्रमण वर्षका लागि पनि साहसिक पर्यटन, ग्रामीण पर्यटन र सांस्कृतिक पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिनुपर्ने उहाँको सुझाव छ ।  

    पोखरा महानगर सहरी योजना आयोगका पूर्वउपाध्यक्ष तथा पर्यटन रणनीतिका योजनाकार डा. रामचन्द्र लामिछानेले भ्रमण वर्ष घोषणा मात्र नगरी यसको लक्ष्य हासिल हुनेगरी काम गर्नुपर्ने बताउनुभयो । 

    उहाँले भन्नुभयो, ‘पोखरा भ्रमण वर्ष घोषणा गरेर मात्र पर्यटक आउँदैनन्, रणनीतिक योजनासहितका कार्यक्रम र पूर्वाधार विकासमा ध्यान दिनुपर्छ ।’ उहाँले घोषणालाई व्यवहारमा उतार्नका लागि स्पष्ट रणनीति र दृढ इच्छाशक्ति हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । 

    पोखरालाई अन्तर्राष्ट्रियस्तरको गन्तव्यका रूपमा स्थापित गर्न यातायात, होटल, गाइड, सुरक्षा, हस्पिटालिटी र स्थानीय समुदायको सशक्त सहभागिता सुनिश्चित गर्नुपर्छ । पोखराको पर्यटनलाई दिगो र समृद्ध बनाउन स्थानीय समुदायको सक्रिय सहभागिता, पर्यावरणीय संरक्षण र उत्कृष्ट पूर्वाधार विकास अनिवार्य हुन्छ । 

    साथै, पूर्वाधार विस्तार, अन्तर्राष्ट्रिय उडान सञ्जालको प्रवद्र्धन र पर्यटन कार्यक्रमहरूको विविधताजस्ता पक्षहरूलाई प्राथमिकतामा राख्नुपर्ने सरोकारवालाहरुको भनाइ छ ।

    –रासस